जेटस्ट्रीम जहाज किनेको गुणलाई यतीले ६ महिना साथ दिने,  तीन महिना भित्र ७ वटै जहाज चलाउने

बिजमाण्डू
२०७७ चैत्र २४ गते १६:२६ | Apr 6, 2021
जेटस्ट्रीम जहाज किनेको गुणलाई यतीले ६ महिना साथ दिने,  तीन महिना भित्र ७ वटै जहाज चलाउने

Tata
GBIME

काठमाडौं। पाँचवटा जेटस्ट्रीम बेचेको यती एयरलाइन्सले गुण एयरलाइन्सलाई छ महिना सम्मका लागि उडान संचालनमा सहयोग गर्ने भएको छ।

गुणको जहाज संख्या सातवटा भएसँगै सुरुवाती चरणमा जेटस्ट्रीम उडान संचालनका लागि सहयोग गर्ने बारे छलफल भएको यतीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए। 'जहाज हस्तान्तरण गरेको छ महिनासम्म हामीले नै टेक्निकल र मार्केटिङ तर्फको सपोर्ट गर्नेछौँ। हामीले ग्राउण्ड ह्याण्डलिङ पनि सर्पोट गर्नेछौं,' उनले बिजमाण्डूसाग भने।

कम्पनीले जेटस्ट्रीम जहाज संचालनका लागि कम्पनीले यतीमै कार्यरत जनशक्ति प्रयोग गर्ने गुणका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण श्रेष्ठले बताए। 'हामीले सुरुमा जेटस्ट्रीममै कार्यरत जनशक्ति प्रयोग गर्ने योजना बनाएका छौँ। यो सँगै हामीले नयाँ जनशक्ति राख्नेछौ,' उनले भने।

कम्पनीले आउँदो तीन महिनामा यती सँग खरिद गरेको पाँचवटै जेटस्ट्रिम जहाजमार्फत उडान गर्ने योजना बनाएको उनले बताए। 'छिट्टै ती जहाज संचालनमा ल्याउन हामीले नागरिक उड्डयन प्राधिकरणको रिक्वायरमन्ट अनुसारको प्रक्रिया पूरा गरिरहेका छौं। अहिले फ्लिट एक्स्पान्सन प्रोग्राम  अन्तर्गत एओसी प्रकृया अगाडि बढिरहेको छ। अबको दुई देखि तीन महिनाभित्र जेटस्ट्रीम जहाजमार्फत उडान सेवा सुरु गर्नेछौँ,' श्रेष्ठले भने। कम्पनीले सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, बिराटनगर, नेपालगन्ज, तुम्लिङटार लगायतका विभिन्न रुटमा नियमित उडान गर्ने जनाएको छ।