उपत्यका बाहिरका होटललाई कोभिड नयाँ लहरको असर, नयाँ वर्षलक्षित योजना नै अन्योलमा

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ चैत्र २४ गते १३:२३ | Apr 6, 2021
उपत्यका बाहिरका होटललाई कोभिड नयाँ लहरको असर, नयाँ वर्षलक्षित योजना नै अन्योलमा


काठमाडौं। नयाँ वर्षको पूर्व सन्ध्यामा उपत्यका बाहिर पोखरा, चितवन, धुलिखेल, भक्तपुर लगायत पर्यटकीय गन्तव्यमा संचालित कतिपय होटलले आकर्षक योजना सार्वजनिक गरिसकेका छन् भने कतिपय भने अलमलमा छन्। 

Tata
GBIME
Nepal Life

कोरोनाविरुद्ध खोप आएपछि जनजीवन बिस्तारै सामान्य हुन थाल्दा बढेको उत्साहलाई पछिल्लो समय देखा परेको संक्रमणको अर्को लहरले अन्योलमा पारेको हो। छिमेकी मुलुक भारतमा देखिएको कोरोनाको नयाँ लहरका कारण नेपाल सरकारले पुनः भिडभाड कम गर्न निर्देशन दिएपछि आकर्षक योजना तयार पारेर घोषणाको तरखरमा रहेका व्यवसायी अलमलमा छन्।

धेरैले अधिकतम स्वास्थ्य सुरक्षा अपनाएर भए पनि पाहुनालाई सेवा दिने तयारी गरेका छन्। आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नयाँ वर्ष लक्षित आकर्षक योजना बनाएपनि सार्वजनिक गर्ने/नगर्ने विषय अलमलमा रहेको क्षेत्रीय होटल संघ भक्तपुरले जनाएको छ। नयाँ वर्ष २०७८ लाई मध्यनजर गर्दै होटल संघ अन्तर्गतका होटलले एक साता अगाडि नै बनाएको योजना सार्वजनिक हुन नसकेको अध्यक्ष सत्यराम सुवालले बताए। 

'हामीले एक साता अगाडि नै आन्तरिक पर्यटक लक्षित आकर्षक योजना बनाएका थियौं। जस अन्तर्गत प्रति व्यक्ति २५ सयदेखि ४५ सय रुपैयाँ सम्मको प्याकेजमार्फत बिस्का जात्रा दर्शन, खानपिन, बसाईँको सुविधा समावेश गरेका थियौं,' अध्यक्ष सुवालले भने, 'यो सँगै थप दुई हजार रुपैयाँमा महादेव सर्किट घुमघामको प्याकेज तयार गरेका थियौं तर सरकारको निर्णयले गर्दा अहिले नै यो प्याकेज सार्वजनिक गर्ने/ नगर्ने विषय टुंगो लागेको छैन। हामी अलमलमै छौं।'   

केही समयअघि सीमा नाका खुला गर्ने निर्णय गरिए पनि भैरहवामा पर्यटकीय गतिविधि नै नभएको सिद्धार्थ होटल एशोसिएसनले जनाएको छ। व्यवसायिक प्रयोजनका लागि आउने पाहुना बाहेक भ्रमणकै लागि आउने पर्यटकको संखया उल्लेख्य नरहेको अध्यक्ष सीपी श्रेष्ठले बताए। 'हाम्रातिर प्राय भारतीय र बौद्ध धर्मावलम्बी आउने हुन्। सीमा नाका अझै पनि बन्द छ। पर्यटक बढ्ने सम्भावना पनि न्यून छ,' उनले भने, 'कोभिड-१९ संक्रमणलाई मध्यनजर गर्दै  जिल्ला प्रशासनले पनि उत्सव आयोजना नगर्न निर्देशन दिइसकेको छ। यो अवस्थामा प्याकेज सार्वजनिक गरे पनि आन्तरिक पर्यटकको सहभागिता बढ्छ भन्ने लाग्दैन।'

उनका अनुसार यतिखेर भैरहवामा संचालित अधिकांश होटलमा १० जना भन्दा कम पाहुना हुने गरेका छन्। पर्यटक रिझाउने योजना थाती राख्नुपर्ने भएको उनले बताए। तैपनि लुम्बिनी आउने पाहुनाले स्वास्त्य सुरक्षाका साथ पर्यटकीय सेवा भने पाउने वातावरण रहेको उनले सुनाए।

नयाँ वर्षमा पोखरामा आन्तरिक पर्यटक धेरै पुग्ने गरेका छन्। गत वर्षको वैशाखमा नोक्सान खेपेका व्यवसायी यसपटक सतर्कतासाथ तयारीमा जुटेका छन्। क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार पोखराका होटल-रेस्टुरेन्टहरुले पाहुनाका लागि नयाँ वर्षमा २५ देखि ४० प्रतिशतसम्म छुटको योजना ल्याइसकेका छन्। कोभिड अघिका वर्षमा आयोजना गरिँदै आएको नववर्ष फेवा सडक महोत्सव भने यसपटक नगर्ने निर्णय भएको उनले बताए।  

'हामी बर्सेनि नयाँ वर्ष लक्षित दुई दिने सडक महोत्सव गर्दै आएका थियौं। कोभिडका कारण योपटक स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै महोत्सव आयोजना नगर्ने निर्णय गरेका छौं। सबै होटलले व्यवसाय भने खुला राख्नेछन्, आ-आफ्नो तर्फबाट आन्तरिक पर्यटक लक्षित अफर सार्वजनिक गरेका छौं।'   

उनका अनुसार पछिल्लो समय पोखरामा विकेण्डमा आन्तरिक पर्यटकको आवागमन उल्लेख्य छ। विगतका वर्षका तुलनामा पोखरामा आन्तरिक पर्यटकको चहलपहल सन्तोषजनक हुन थाल्दा कोरोनाको नयाँ लहरले फेरि अप्ठ्यारो पारेको उनले बताए।

सौराहामा रहेका होटलले यस अघि नै लागू गरेको आकर्षक छुटलाई निरन्तरता दिने योजना बनाएको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ। होटल संघसँग आबद्ध होटलहरुले बसाइँमा २० देखि ४० प्रतिशतसम्मको छुटलाई निरन्तरता दिएको अध्यक्ष दीपक भट्टराईले बताए।
सरकारबाट इजाजत पाएको अवस्थामा सौराहामा आन्तरिक पर्यटक लक्षित सांगीतिक कार्यक्रम  गर्ने योजना रहेको बताउँदै उनले भने, 'विशेष छुट त हामीले दिँदै आएका छौं। अनुमति पाएको अवस्थामा नयाँ वर्षलाई मध्यनजर गर्दै दुई दिन सांगीतिक महोत्सव आयोजना गर्ने विषयमा छलफल भइरहेको छ।' 

सौराहामा संचालित होटलमा विकेण्डमा ८५ प्रतिशत अकुपेन्सी कायम भए पनि अरु दिनमा भने दर उल्लेख्य नरहेको उनले बताए। सौराहामा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि वैशाख ८ र ९ गते हात्तीको वनभोज  कार्यक्रम आयोजना गर्ने विषयमा छलफल भइरहेको छ। 

नयाँ वर्ष लक्षित आकर्षक योजना सार्वजनिक गरेसँगै यतिखेर धुलिखेलका  होटलहरुमा अग्रिम बुकिङ आउन सुरु भएको क्षेत्रीय होटल संघ धुलिखेलले जनाएको छ। धुलिखेलमा रहेका विभिन्न वर्गका होटलले नयाँ वर्ष लक्षित योजना अनुसार प्रति जोडी पाँच हजारदेखि १५ हजार रुपैयाँसम्मको प्याकेज सार्वजनिक गरेको अध्यक्ष प्रेमकण्ठ श्रेष्ठ बताए।

'अब सर्भाइभ हुने भनेकै आन्तरिक पर्यटकको सहायताले हो। प्याकेज सार्वजनिक गरिएसँगै प्राय फेमिली बुकिङ आउन सुरु भइसकेको छ। यसै पनि पछिल्लो समय विशेष गरी विकेण्ड आउने आन्तरिक पर्यटकको चहपहल ठिकठाकै छ। नयाँ वर्षमा आउने पर्यटकको चाप थप बढ्ने देखिन्छ,' अध्यक्ष श्रेष्ठले भने।

उनका अनुसार अधिकांश होटलले सार्वजनिक गरेको नयाँ वर्ष लक्षित योजना अन्तर्गत वेलकम ड्रिंक्स, अनलिमिटेड स्न्याक्स, डिनर, रुम, ब्रेकफास्टको सुविधा समावेश गरिएको छ।