एकै महिनामा थपिए झण्डै ३३ हजार फाइबर इन्टरनेट ग्राहक, केबल र वायरलेस इन्टरनेट प्रयोगकर्ता घटे

बिजमाण्डू
२०७७ चैत्र २० गते १२:३४ | Apr 2, 2021
एकै महिनामा थपिए झण्डै ३३ हजार फाइबर इन्टरनेट ग्राहक, केबल र वायरलेस इन्टरनेट प्रयोगकर्ता घटे

Tata
GBIME
Nepal Life

काठमाडौं। एक महिनामा ३३ हजार नयाँ फाइबर इन्टरनेट प्रयोगकर्ता थपिएका छन्। 

दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआइएस रिपोर्टअनुसार पुसमा ११ लाख १२ हजार ६ सय ८३ फाइबर इन्टरनेट ग्राहक रहेकोमा माघमा बढेर ११ लाख ४५ हजार ६ सय ७७ पुगेको छ। 

फाइबर इन्टरनेट ग्राहक सबैभन्दा बढी वर्ल्डलिंकका छन्। पुसमा चार लाख ३९ हजार ३ सय ५२ जना रहेकोमा माघमा बढेर चार लाख ४९ हजार ५ सय २८ जना पुगेको छ। सुबिसुले पनि आफ्नो फाइबर इन्टरनेट ग्राहक संख्या थपेको छ। 

पुसमा एक लाख ४१ हजार ९ सय ५८ प्रयोगकर्ता रहेकोमा माघमा बढेर एक लाख ४६ हजार ७ सय ८२ पुगेको प्राधिकरणले जनाएको छ। भायनेटसँग पुसमा एक लाख २९ हजार ६ सय ५८ प्रयोगकर्ता रहेकोमा माघमा बढेर एक लाख ३२ हजार ४ सय ४२ पुगेको छ। 

त्यसैगरी, क्लासिक टेकको फाइबर इन्टरनेट ग्राहक संख्या स्थिर देखिएको छ। माघमा क्लासिक टेकसँग एक लाख २५ हजार ८ सय ३१ फाइबर इन्टरनेट ग्राहक रहेको प्राधिकरणले जनाएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमसँग पुसमा ८३ हजार १ सय ३४ ग्राहक संख्या रहेकोमा माघमा बढेर ९० हजार ८ सय ७६ पुगेको छ। 

२३ इन्टरनेट सेवा प्रदायकहरुले भने मासिक रुपमा आफ्ना विवरणहरु प्राधिकरणलाई नबुझाएको जनाएको छ। प्राधिकरणले आइएमएस रिपोर्टमा जम्मा ४० आइएसपीहरुको विवरण मात्रै समावेश गरेर सार्वजनिक गर्दै आएको छ। 

पछिल्लो समय सञ्चालनमा आएका डिसहोमको इन्टरनेट सेवालगायतको विवरण भने आइएमएस रिपोर्टमा समेटिएको छैन। आइएसपीहरुले नै मासिक विवरण प्राधिकरणलाई नबुझाउने गरेकाले एमआइएस रिपोर्टमा छुटेको र छिट्टै सबैलाई समेट्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

यस्तै, केबल र वायरलेस इन्टरनेट प्रयोगकर्ताको संख्या भने ओरालो लागेको छ। पुसमा दुई लाख १४ हजार १ सय ७२ फाइबर इन्टरनेट प्रयोगकर्ता रहेकोमा माघमा घटेर दुई लाख सात हजार ८ सय ६३ पुगेको प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै केबल इन्टरनेट प्रयोगकर्ता नेपाल टेलिकमकै छ। पुसमा एक लाख ७७ हजार ५२ इन्टरनेट प्रयोगकर्ता रहेकोमा माघमा घटेर एक लाख ७१ हजार ५ सय ३५ पुगेको प्राधिकरणले जनाएको छ। 

त्यसैगरी, पुसमा ४७ हजार ६ सय ९९ वायरलेस इन्टरनेट प्रयोगकर्ता रहेकोमा माघमा घटेर ४७ हजार ४ सय ३८ पुगेको प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै वायरलेस इन्टरनेट प्रयोगकर्ता टेलिकमका छन्। माघमा टेलिकमसँग १८ हजार ५ सय ५४ प्रयोगकर्ता छन्। सुबिसुसँग करिब १० हजार वायरलेस इन्टरनेट प्रयोगकर्ता छन्।