६५ करोडमा होटल स्टार बेच्न लगानीकर्ता भेला, चितवनमा सामूहिक लगानीमा बन्दैछन् ठूला परियोजना

बिजमाण्डू
२०७७ चैत्र १९ गते १३:४० | Apr 1, 2021
६५ करोडमा होटल स्टार बेच्न लगानीकर्ता भेला, चितवनमा सामूहिक लगानीमा बन्दैछन् ठूला परियोजना

Tata
GBIME
Nepal Life

काठमाडौं। चितवन जयमंगलाका भेषराज दुवाडीले २०५५ सालमा होटल रिल्याक्सिङ स्पट नामको कम्पनी दर्ता गरेका थिए। 

दर्ता भएको दुई वर्षपछि २०५७ सालमा पूर्वी चितवनको बजार टाँडीभन्दा एक किलोमिटर वर निपनी चोकमा कटेज रेष्टुरेन्ट खोले।

त्यो बेलामा कटेज रेष्टुरेन्टको खासै सुरुवात भएको थिएन। पर्यटकीय गन्तब्य सौराहामा कटेज रेष्टुरेन्ट संचालनमा थिए। नयाँ कन्सेप्टमा संचालन भएको रेष्टुरेन्टमा भीडभाड बढ्यो। उनको रेष्टुरेन्टबाट राम्रै कमाइ गरे।

सुरुमा जग्गा भाडामा लिएर दुवाडीले रेष्टुरेन्ट सुरु गरेका थिए। त्यो रेष्टुरेन्ट बसेको केही जग्गा समेत उनले किने। उनको रेष्टुरेन्ट नजिकै हरिहर मन्दिर समेत थियो। त्यो मन्दिरमा विवाहको लगनमा एकै दिन तीन/चार वटा समेत विवाह हुने गर्थ्यो। 

विवाह भएपनि खाना लगायतका सेवा दिने क्याटरिङ सेवा थिएन। उनले आफ्नै रेष्टुरेन्टमा क्याटरिङ सेवा सुरु गरे। क्याटरिङ व्यवसायले उनको रेष्टुरेन्टको व्यापार पनि बढायो। दुवाडीले रेष्टुरेन्ट र क्याटरिङपछि होटलका लागि कोठा बनाउन लागे। 

महेन्द्रराजमार्गसँगै जोडिएको र पर्यटकीय गन्तब्य सौराहा नजिकै रहेकाले होटल पनि राम्रोसँग चल्यो। दुवाडीले सुरुमा दर्ता गरेको होटल रिल्याक्सिङ स्पटको नाम परिवर्तन भयो। अहिले होटल स्टार चितवनमा रुपान्तरण भएको छ।

एउटा छाप्रोबाट सुरु भएको उनको व्यापारबाट सफलता पाएर ४२ कोठाको होटलमा स्तरोन्नती भएको छ। यो होटल तीन तारे स्तरको होटल बनेको छ।

दुवाडीले यहीबाट कमाएको पैसाले स्वयम्भूमा स्टार ब्याङ्केट खोले। स्वयम्भुको ब्याङ्केट सफल भएपछि चितवनकै भरतपुरमा ब्याङ्केटसहितको रिर्सोट मिड टाउन खोले। 

२१ वर्षको अवधिमा उनले व्यवसायिक यात्रामा ठूलो फड्को मारे। मेहनत र परिश्रमले हस्पिटालिटी क्षेत्रमा उनले सफलता पाए। यो बीचमा उनी नेपाल उद्योग परिसंघको चितवनको अध्यक्ष समेत भइसकेका छन्। उनले चितवनको सफल व्यवसायीको परिचय पनि बनाए। दुवाडीसँग होटल वाहेक सफ्ट ड्रिंक्स उत्पादन गर्ने पल्पी वेभरेजका पनि लगानीकर्ता हुन्।

तर त्यो सफलता पनि उनका लागि कम लाग्यो। देशका विभिन्न क्षेत्रमा ठूलो लगानीमा ब्यांकेट र होटल खुल्ने क्रम बढ्यो। यो लगानीसँगै जोखिम पनि बढ्न थाल्यो। एकातिर ठूलो लगानीमा खुल्ने होटल र ब्यांकेटको जोखिम अर्कोतिर लगानी बढाउन आवश्यक रकम जुटाउने चुनौति। 

यो चुनौतिका बीच उनले आफूले खडा गरेको व्यवसायलाई सामूहिक लगानीमा लैजाने निधो गरे।

 ‘एउटै परिवार खटेर राम्रो रिजल्ट आउने सम्भावना कम हुन्छ। त्यसमा विभिन्न क्षेत्रमा काम गरेका व्यवसायीको लगानी ल्याएर सामूहिक लगानी गर्न सकियो भने भइरहेको व्यापार विस्तार गर्न पनि सजिलो हुन्छ,’ दुवाडीले बिजमाण्डूसँग भने, ‘त्यही भएर मैले खडा गरेको सबै व्यवसायमा सामूहिक लगानीको अवधारणमा लैजाने प्रयास गरेको हुँ।’ 

उनको स्वयम्भूमा रहेको स्टार ब्यांकेट र भरतपुरको मिड टाउन रिर्सोट सामूहिक लगानी भित्र्याइसकेका छन्। यो दुबैमा ४०/५० जना नयाँ साझेदार छन्। सामूहिक लगानी भित्र्याउँदा जोखिम पनि सबैले ब्योहोर्ने हुँदा तनाब पनि कम हुने उनको ठम्याई छ।

‘एउटै व्यक्तिले उद्योग व्यवसाय चलाउँदा कुनै समस्या आउने वित्तिकै त्यो लोड ब्योहोर्नसक्ने क्षमता कम हुन्छ। तर सामूहिक लगानी गर्दा कुनै एउटा साझेदार समस्यामा पर्दा पनि व्यवसाय कोल्याप्स हुँदैन्,’  दुवाडीले भने, ‘बैंक ऋण लगायतको बोझ पनि कम लिए हुन्छ।’ 

सामूहिक लगानीका लागि पारदर्शीता भने चाहिने उनको अनुभव छ। 

‘कुनै पनि व्यवसाय संचालन गर्दा पारदर्शीता भयो भने लामो समयसम्म टिक्न सकिन्छ। त्यही भएर हामीले विलिङ अनलाइन गरेका छौं,’ उनले भने, ‘होटलका माथिल्लो तहमा आफ्नो मान्छे नराखि व्यवसायिक जनशक्ति राखेका छौं। त्यसले हस्तक्षेप व्यवस्थापनमा हस्तक्षेप हुँदैन्।’

द होटल स्टार ६५ करोड भ्यालुएसन
एक साता अघि दुवाडीले स्थानीय सय जना भन्दा बढी व्यवसायी राखेर होटल स्टार चितवनको बारेमा प्रिजेन्टेसन दिए। उनले होटलको सम्भावना र रिटर्नको बारेमा जानकारी गराए। 

होटलको भ्यालुएसन ६५ करोड रुपैयाँ रहेको र लगानीका लागि आब्हान समेत गरे।

‘होटलको आफ्नै २५ कठ्ठा जग्गा छ। ३५ कठ्ठा जग्गा भाडामा लिइएको छ’ दुवाडीले भने, ’४५ वटा कोठा छ भने २ सय ५० जना अट्ने ब्यांकेट छ।’ यो वाहेक सय देखि १५ सय जना अट्ने नौ वटा हलहरु पनि छ। उनका अनुसार एकै दिनमा पाँच हजार जनालाई सेवा दिन सकिन्छ। त्यही भएर चितवनमा हुने राष्ट्रिय स्तरका कार्यक्रम यही होटलमा हुने गर्छ।

योसँगै हेल्थ क्लब र बाल उद्यान समेत निर्माण हुँदैछ। यो होटलका लागि २० करोड रुपैयाँ पुनर्कर्जा समेत दिन राजी भइसकेको बताउँदै उनले प्राइम प्रोपर्टी समेत भएकोले होटलमा लगानी गर्न इच्छुकहरु धेरै रहेको बताए। 

‘हामीले गरेको विफ्रिङपछि धेरैजना लगानीका लागि इच्छुक देखिनुभएको छ। हामीले कति जना आउनुहुन्छ त्यही आधारमा लगानी बाँडफाँड गर्छौं,’ दुवाडीले भने।

अरु प्रोजेक्ट पनि अघि बढ्दै
संचालनमा रहेका व्यवसायमा अरु लगानीकर्ता भित्र्याएका दुवाडीले सौराहामा होटल खोल्नका लागि जमीन समेत किनिसकेका छन्। २३ कठ्ठा जमीनमा उनले सुविधा सम्पन्न होटल निर्माणको तयारी गरिरहेका छन्। त्यो होटलमा उनले विदेशी लगानीकर्ता भित्र्याउने गरि काम अघि बढाएको बताए। 

‘सौराहामा अब सुविधा सम्पन्न होटल बनाउनुपर्छ। परम्परागत रुपमा संचालनमा रहेका होटलले रिटर्न दिन सक्दैन्,’ दुवाडीले भने, ‘त्यही भएर ठूलो लगानीमा अत्याधुनिक होटल निर्माणका लागि विदेशी लगानीकर्तासँग कुराकानी गरिरहेको हो। त्यसका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाएको छु।’ 

यो वाहेक चितवनकै उपरदाङ गढीमा पनि रिर्सोट खोल्ने तयारीमा छन् दुवाडी। पाँच महिनाभित्र यो रिर्सोटको काम सुरु हुने उनले बताए। उपरदाङ गढी चितवनको पुरानो सदरमुकाम हो। यो चितवनको उत्तरी भागमा पर्छ।

चितवनमा सामूहिक लगानीको लहर
अहिले चितवनमा होटल लगायतका परियोजना निर्माणमा सामूहिक लगानीको लहरनै चलेको छ। केही वर्ष अघि निर्माण भएको २५ करोड लगानीमा चितवनको तान्द्राङमा संचालनमा आएको कविलाश रिर्सोट एण्ड फनपार्कमा ५० जना लगानीकर्ता छन्। 

अस्पताल, पोलिटेक्निकल इन्स्टिच्यूट चलाइरहेका  ५० जना समूहको लगानी रिर्सोटमा छ। यो समूहले लगानी विस्तार गर्दै एक अर्ब रुपैयाँ पुर्याइउँदैछन्। २० विघा क्षेत्रफलमा निर्माण भएको रिर्सोटमा १० वटा कोठा र सात वटा भिल्ला छ।चितवनको दासढुंगाबाट १५ सय मिटर उत्तरमा यो रिर्सोट छ। पिकनिकका लागि पनि यो स्पट प्रशिद्ध छ। 

यो मात्रै होइन पूर्व चितवनको हब मानिने टाँडीनजिकै आधा दर्जन पर्यटन व्यवसायी मिलेर सुविधासम्पन्न सिटी सेन्टर निर्माण गर्दैछन्। १५ करोड लगानीमा यो सिटी सेन्टर निर्माण भइरहेको छ। 

सिटी सेन्टरका लगानीकर्ता तथा क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले ठूला परियोजना निर्माण गर्दा सामूहिक लगानी उपयुक्त हुने बताउँदै त्यसले जोखिम पनि कम हुने बताए। 

‘अब हामीले कुनै पनि परियोजना बनाउँदा एक्लै लगानी गर्दैनौ। धेरै लगानीकर्ता मिलेर ठूलो परियोजना बनाउने तयारीमा हामी लागेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘यो निर्माणसँगै सौराहामै सुविधा सम्पन्न रिर्सोट बनाउने तयारी समेत गर्दछौं।’ 

घिमिरेको सौराहामै जंगल सफारी लज छ। ‘अब सानो होटल र रिर्सोटले प्रतिस्पर्धा पनि गर्न सकिदैन् र पर्यटक पनि ल्याउन सकिदैन्। त्यही भएर ठूलो लगानीमा होटल स्थापना गर्न आवश्यक छ,’ उनले भने, ‘ठूलो लगानीका लागि आवश्यक रकमको जोखिम समेत मोल्न सक्ने अवस्था छैन्।’ 

उनका अनुसार ठूला घराना वाहेक अहिले चितवनमा निर्माण भइरहेका परियोजनामा सामूहिक लगानी छ।

‘चितवनमा निर्माण भएका ठूला परियोजना ठूला व्यवसायिक घराना वाहेक सबैमा धेरै लगानीकर्ता छन्। होटलदेखि अस्पतालसम्म सामूहिक लगानीमा निर्माण र संचालन भइरहेका छन्’, उनले भने।