रुसमा बिक्री हुने चियाको लिस्टमा नेपाली ब्राण्ड विजडम अफ कुमारी, बिक्री बढेपछि उद्योग थपिँदै




काठमाडौं। डा. बद्री केसी र एकनारायण चापागाइँले १९ वर्ष अघि विभिन्न देशबाट चिया आयात गरेर रुसमा बिक्री थालेका थिए।

सन् २००२ मा उनीहरुले श्रीलंका, भारत, भियतनाम, चीन, केन्या लगायतका देशबाट चिया आयात गरेर रुसमा बिक्री गर्थे। विभिन्न देशबाट आयात गरेको चिया आफ्नै नाममा ब्राण्डिङ गरेर रुस र पुरानो सोभियत संघका मुलुकहरुमा बिक्रीमा उनीहरुले सफलता पाए।

TATA
Safety
TVS

केसी र चापागाइँले चिया व्यापारमा सफलता त पाए तर सन्तुष्टी भने पाउन सकेनन्। आफ्नै देशमा उत्पादन हुने चिया विश्व बजारमा बेच्न नपाएकोमा उनीहरुलाई थकथकी लाग्यो। र, आफूले बेच्ने चियाको लिस्टमा नेपाल राख्ने हुटहुटीले सतायो। गैरआवासीय नेपाली संघका उपाध्यक्षसमेत रहेका केसी नेपाली चिया बगानहरु घुमे।

नेपालमा उत्पादन भएको चिया ब्राण्डिङ र प्याकेजिङबिनै भारत र केही युरोपेली मुलुकमा निकासी हुने गर्थ्यो, त्यो पनि अर्थोडक्स चिया। रुस लगायतका पुरानो सोभियत संघका मुलुकहरुमा कालो(ब्ल्याक) अर्थोडक्स चियाको माग बढी थियो। तर कालो अर्थोडक्स चिया उत्पादनका लागि आवश्यक जनशक्ति र इक्पिमेन्टहरु नेपालमा थिएनन्। केसीले यो चिया उत्पादनका लागि विभिन्न उद्योगलाई आग्रह गरे। तर सुरुवातमा थोरै परिमाणको चिया उत्पादनका लागि जनशक्तिलाई तालिम दिने र इक्विपमेन्ट राख्न उद्योगहरु तयार भएनन्। त्यसपछि केसी र चापागाइँ आफैं चिया बगान र उद्योग स्थापना गर्ने निर्णयमा पुगे।

सन् २०१५ मा नेचर हिमालय चिया उद्योग स्थापना गरे। यो उद्योग किनेपछि ब्ल्याक अर्थोडक्स चिया बनाउने इक्विपमेन्ट किन्न श्रीलंका गए। ‘रोलरदेखि हिटरसम्म श्रीलंकाबाट ल्याउनुपर्‍यो। त्यहीबाट हामीले एक जना कन्सल्ट्यान्ट समेत ल्यायौं,’ केसीले बिजमाण्डूलाई भने, ‘उनले यहाँका जनशक्तिलाई तालिम दिए। त्यसपछि हामीले चिया उत्पादन थाल्यौं।’ श्रीलंकाली प्रविधिबाट उत्पादन हुने एक मात्रै उद्योग नेपालमा यो मात्रै छ। श्रीलंका चिया उत्पादन र बिक्रीमा अग्रणी मानिन्छ।

लामो प्रयासपछि रुस लगायतका युरोपेली मुलुकमा खपत हुने स्ट्याण्डर्डको चिया उत्पादन भयो। उनीहरुले चियाको प्याकेजिङ पनि अन्तर्राष्ट्रिय स्तरको बनाए। र, चियाको ब्राण्ड नेम नेपाललाईनै चिनाउने राखे। विजडम कुमारी, स्काइ लिफ र विक्रम गरेर तीन वटा ब्राण्डको चिया युरोपमा बिक्री भइरहेको छ। नेपालमा उत्पादन भएको चियाले अहिले विश्वबजारका नामी ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

‘ब्राण्ड स्थापित गर्न वर्षौ लाग्छ। यसका लागि धेरै नै धैर्यता चाहिन्छ,’ केसीले भने, ‘त्यो पनि अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सजिलो छैन। त्यसमा पनि रुसकै कुरा गर्ने हो भने वर्षमा २० वटा ब्राण्ड हराउँछन्। यो चुनौतीका बीचमा हामीले नेपाली ब्राण्ड जोगाउन सफल भएका छौं।’ अहिले यो ब्राण्डमा वार्षिक तीनदेखि चार लाख किलो चिया निकासी भइरहेको छ। नेपाली चियाको माग बढ्दै गएपछि थप तीन वटा उद्योग खोल्ने तयारी केसी र चापागाइँले गरिरहेका छन्। चिया उद्योगका लागि झापा र इलाममा जग्गासमेत खरिद गरिसकेका छन्। उनीहरुले वर्षमा एक हजार टन चिया निकासीको लक्ष्य राखेका छन्।

‘मेहनत बढी गर्नुपर्छ’

नेपाली ब्राण्ड विश्व बजारमा पुर्‍याउन सजिलो छैन। अहिले पनि नेपालबाट निकासी हुने चिया बोराका बोरा भारत जान्छ। बोरामा गएको नेपाली चिया विभिन्न बहुराष्ट्रिय कम्पनीले भारतीय नाममा बेच्दै आएका छन्।

‘हामीले मूल्य अभिवृद्धि नगरी बोरामा चिया बेच्ने गरेका छौं। सजिलो तरीकाले व्यापार गरेकाले प्रतिफल पनि कम पाएका छौं,’ केसी भन्छन्, ‘ बोरा र प्याकेजिङ गर्दा मूल्य अभिवृद्धि दुई गुणा बढी हुन्छ। बोरामा पठाउँदा किलोको एक डलर पाउँछौं। तर त्यही हामीले जस्तो मसिनो गरेर प्याकेजिङ र ब्राण्डिङ गर्दा १० डलर पाइरहेका छौं।’ मुलुकमा उत्पादन र व्यापार गर्ने दुवैलाई फाइदा हुने गरी नेपाली चियाको निकासी गर्नुपर्ने उनी बताउँछन्।

‘तत्कालै फाइदा बोरामा पठाउँदा हुन्छ। तर त्यसको प्रतिफल एकदमै कम छ,’ उनले भने, ‘केही धैर्यता राखेर प्याकेजिङ र ब्राण्डिङ गर्ने हो भने नेपाली चियाको सम्भावना धेरै छ।’ केसीले नेपाली चियाबाट अरु देशबाट ल्याएको जस्तो पैसा बनाएका छैनन्। तर उनीहरुलाई आफ्नो ब्राण्डबाट सन्तुष्टी भने धेरै मिलेको छ। ‘पैसा धेरै त हामीले श्रीलंका, भारत, चीन र केन्याको चियाबाट बनाउँछौं,’ केसीले भने, ‘नाफा कम भए पनि सन्तोष भने नेपाली चियाबाट हुने गर्छ।’

जीएसपी सुविधा पाए अझै बढ्छ

नेपालले युरोपेली देशमा सामान निकासी गर्दा सामान्यीकृत ग्राह्यता प्रणाली (जीएसपी) अन्तर्गत भन्सार सहुलियत पाउँछ। नेपाल लगायतका अल्पविकसित मुलुकलाई दिँदै आएको यो सुविधा लिन भने धेरै झन्झट छ।

जीएसपी सुविधा पाएमा नेपाली चिया अरु देशसँग प्रतिस्पर्धा गर्न सक्छ। ‘जीएसपी सुविधा पाउनेवित्तिकै भन्सार २० प्रतिशतसम्म कम हुन्छ। यसले नेपाली चिया प्रतिस्पर्धी हुन्छ,’ उनले भने, ‘हामी भूपरिवेष्ठित मुलुक भएकाले ढुवानी लागत महँगो हुँदा सामान महँगो परेर पनि प्रतिस्पर्धा गर्न कठिन भएको छ।’

उनका अनुसार जीएसपी सुविधा पाउन डकुमेन्टेसनदेखि छाप लगाउनेसम्म अन्तर्राष्ट्रिय मापदण्डको बनाउनुपर्छ। ‘युरोपले दिँदै आएको सुविधा पाउने गरी डकुमेन्टेसन लगायतका प्रक्रिया सरलीकृत गर्नका लागि सरकारलाई समेत भन्दै आएका छौं। यसलाई सरलीकृत बनाउन सकेमा हाम्रो चिया अझै बढी निकासी भएर विदेशी मुद्रा आर्जन गर्न सक्छौं,’ केसीले भने।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell