फर्कियो वैदेशिक रोजगारीमा रौनक, दैनिक एक हजार श्रम स्वीकृति, धमाधम आउँदैछन् नयाँ माग

बिजमाण्डू
२०७७ चैत्र १० गते १५:५५ | Mar 23, 2021
फर्कियो वैदेशिक रोजगारीमा रौनक, दैनिक एक हजार श्रम स्वीकृति, धमाधम आउँदैछन् नयाँ माग


Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोनाका कारण एक वर्षभन्दा लामो समयदेखि अस्तव्यस्त बनेको वैदेशिक रोजगारीले चैतदेखि भने गति लिएको छ। पछिल्लो २/३ महिना यता श्रम स्वीकृति लिने कामदारको संख्यामा २/३ गुणाले बढेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

गत कात्तिकमा मेनपावर कम्पनीहरुबाट विदेश जानेको संख्या एक हजार पनि थिएन। कात्तिकमा ८०० हाराहारी कामदारहरु मात्रै मेनपावरबाट नयाँ श्रम स्वीकृति लिएर विदेश गएका थिए। पुनः श्रम स्वीकृतिसहित कात्तिकमा ७ हजार ७०० कामदार विदेश गएका थिए।

चार महिनापछि फागुनमा आइपुग्दा भने मेनपावरबाट मात्रै ७ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन्। पुनः श्रम स्वीकृतिसहित फागुनमा विदेश जाने कामदारको संख्या करिब २० हजार पुगेको छ। यो तथ्यांकले नै पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किएको पुष्टि गर्छ। 

चैत महिनाको सुरुवातदेखि नै दैनिक एक हजार जनाले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार विभागाका महानिर्देशक कुमारप्रसाद दाहालले बताए। उनका अनुसार चैतमा यो संख्या बढेर ३० हजार हाराहारी पुग्ने अनुमान छ।

अहिले मलेसिया, कुवेतबाहेक कतार, साउदी अरब, बहराइन, ओमन लगायतका देशबाट नयाँ श्रम स्वीकृति धमाधम आइरहेको दाहालले बताए।

‘पछिल्लो समय आएको माग हेर्दा वैदेशिक रोजगारी पुरानै लयमा फर्किन लागेको देखिन्छ,’ दाहालले भने, ‘तत्काल पूर्ववत् अवस्थामै नपुगे पनि अहिले आइरहेको मागमा भने आगामी केही महिनासम्म कमी आउने सम्भावना देखिँदैन।’

कोभिड अघि सर्वाधिक कामदार जाने मुलुक मलेसिया लगायतका देशमा अहिले पनि वैदेशिक रोजगारी खुल्ला गरिएको छैन। यी देशमा पनि रोजगारी खुल्ला गरिएमा वैदेशिक रोजगार पूर्ववत अवस्थामै फर्किने सक्ने दाहालले बताए।

अहिले साउदी अरब, कतार, ओमन र बहराइनबाट रोजगारीको माग धेरै आइरहेको वैदेशिक रोजगार व्यावसायी दिनेश चौधरीले बताए। उनका अनुसार सीप भएका र नभएका सबैखाले कामदारको माग आउन थालेको छ। 

वैदेशिक रोजगारीमा कतार र साउदीको छलाङ
नेपाली कामदारको वैदेशिक रोजगारीमा पहिलो रोजाइको मुलुक मलेसियाको रोजगारी नखुल्दा कतार र साउदी अरबमा आकर्षण देखिएको छ।

कोभिड अघिसम्म मलेसियाको रोजगारीमा जाने नेपाली अत्यधिक रहेकोमा अहिले भने कतार र साउदीमा मासिक ५/७ हजार जनासम्म कामदार रोजगारीमा गइरहेका छन्।

गत मंसिरमा मेनपावरबाट करिब ३ हजार कामदार वैदेशिक रोजगारीमा जाँदा पुनः श्रम स्वीकृतिसहित १२ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए। साउदी, कतार र दुवैमा ३/३ हजारको संख्यामा नेपाली कामदार रोजगारीमा गएका थिए।

पुसमा भने ६ हजार जना मात्रै मेनपावरबाट वैदेशिक रोजगारीमा गएका थिए। पुनः विदेश जाने ७ हजार रहेकोसहित कूल १४ हजार ७ सय ५३ जना नेपाली पुसमा मात्रै वैदेशिक रोजगारीमा गएका थिए। त्यतिबेला पनि साउदी, दुबई र कतारमा करिब ३ देखि ४ हजार जनासम्म कामदार रोजगारीमा गएका थिए।

त्यस्तै माघमा ७ हजार ७ सय जनाभन्दा बढी मेनपावरबाट वैदेशिक रोजगारीमा गएका थिए। पुनः रोजगारीमा जानेको संख्या करिब ९ हजार पुगेको थियो। कूल १८ हजार जना वैदेशिक रोजगारीमा जाँदा सबैभन्दा धेरै साउदी, कतार र दुवैमा ५/५ हजार व्यक्ति वैदेशिक रोजगारीमा गएका थिए।

फागुनमा भने मेनपावरबाट विदेश जानेको संख्या ८ हजार पुगेको थियो। पुनः रोजगारीमा जानेको संख्या पनि साढे १० हजार जनाभन्दा बढी थियो। कूल २० हजार नेपाली वैदेशिक रोजगारीमा जाँदा कतारमा मात्रै साढे ७ हजार बढी कामदार गएका थिए। युएई ५ हजार र साउदीमा ४ हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए।

पछिल्लो समय मलेसियाको रोजगारी नखुल्दा कतार र साउदी अरबमा नेपाली कामदारको माग अत्यधिक देखिएको छ। दुवैमा भने नयाँ नभएर पुनः श्रम स्वीकृति लिएर जाने कामदारको संख्या अधिक छ।