सुनको भाउ बढेर फेरि तोलाको ९० हजार रुपैयाँमाथि पुग्यो, चाँदी पनि उकालो लाग्दै

बिजमाण्डू
२०७७ फागुन ११ गते ११:१५ | Feb 23, 2021
सुनको भाउ बढेर फेरि तोलाको ९० हजार रुपैयाँमाथि पुग्यो, चाँदी पनि उकालो लाग्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। गत साता क्रमिक ओरालो लागिरहेको सुनको मूल्य फेरि बढ्न थालेको छ।  अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहँदा असर स्थानीय बजारमा परेको छ।

अघिल्लो दिनको भन्दा मंगलबार तोलामा ११ सय रुपैयाँले बढेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी  व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला ८९ हजारमा स्थिर थियो। 

गत साता सुनको मूल्य घट्ने क्रममा प्रतितोला ९० हजार ९ सय रुपैयाँ भएको थियो। त्यसपछि लगातार घट्दै प्रतितोला ८८ हजार २ सयसम्म पनि पुगेको थियो। फेरि बढ्दै तोलाको ९० हजारमाथि उक्लिएको हो। सुनको मूल्य तीन दिनमा प्रतितोला १९ सय रुपैयाँले बढेको छ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढ्दा मंगलबार प्रतितोला १३ सय ६० रुपैयाँ भएको छ। सोमबार ५ रुपैयाँ बढ्दा प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक उकालो लागेको छ। गत साता मूल्य प्रतिऔंस १७६७ .५१ डलरमा आइपुगेको थियो। यो साता मूल्य बढ्दै प्रतिऔंस १८१२.५७ डलर भएको छ।  

चाँदीको मूल्य प्रतिऔंस २८.१६ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।