धनगढीको त्रिनगर कृषि हाटबजारमा माछापुच्छ्रे बैंकले सुरु गर्‍यो क्युआर कोडबाट भुक्तानी

बिजमाण्डू
२०७७ फागुन ४ गते १८:३४ | Feb 16, 2021
धनगढीको त्रिनगर कृषि हाटबजारमा माछापुच्छ्रे बैंकले सुरु गर्‍यो क्युआर कोडबाट भुक्तानी

Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंकले धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोडबाट भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।

मंगलबार नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी सेवाको उद्घाटन गरेका छन्। घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोडमार्फत् रकम भुक्तानी गरेका थिए।

सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफूल किन्न जाने उपभोक्ताहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी खरिद गरेको तरकारी तथा फलफूलको बिल क्युआरबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। 

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका निर्देशक घिमिरेले काठमाडौं बाहिर रहेका कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्ताहरुमा डिजिटल सेवाको पहुँच पुर्‍याउनुका साथै  बचत गर्ने बानी र समयको सदुपयोग हुने बताए।

यस्तै, माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापाले माछापुच्छ्रे बैंकले देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए। हाट बजारमा रहेका अधिकांश पसलहरुमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भएको बैंकले जनाएको छ।