समाजवादी तथा पुँजीवादी नैतिक दृष्टिः मूल्य सिर्जना, सम्पत्ति विस्तार र मानवीय सम्बन्ध सुधार

बिजमाण्डू
२०७७ माघ २३ गते १६:२५ | Feb 5, 2021
समाजवादी तथा पुँजीवादी नैतिक दृष्टिः मूल्य सिर्जना, सम्पत्ति विस्तार र मानवीय सम्बन्ध सुधार

Tata
GBIME
Nepal Life

सन् २०१४ को पुस्तक ह्वाई नट क्यापिटलिज्म? मा अमेरिकी राजनीतिशास्त्री जेसन बे्रनन (१९७९–) ले समाजवादी र पुँजीवादी नैतिकताको भेद प्रस्तुत गरेका छन् । 

उनी भन्छन्— असल समाजवादी समाजको अवधारणा सर्वविदित नै छ । कुनै परिवार पिकनिक जाँदा सबै जनाले सदाचारी व्यवहार देखाएझैं समाजवादमा मानिसहरु एक साझा उद्देश्यका लागि सामूहिक भावनाले काम गर्छन्, आफ्नो मात्रै नभएर अरुको पनि ध्यान राख्छन् । 

पुँजीवादले कहिल्यै पनि त्यस्तो सामञ्जस्यपूर्ण सहकार्य प्राप्त गर्न सक्दैन किनभने यो व्यक्तिगत स्वार्थ तथा लोभ जस्ता दोषहरुबाट निर्मित भएको हुन्छ । हामी पुँजीवादलाई केवल यसकारण सहन्छौं कि समाजवादका लागि योग्य हुने गरी हामी असल भइसकेका छैनौं तथा स्वार्थ त्याग गर्ने र सबैको कल्याणका लागि बाँच्ने नैतिक बलको अभाव हामीसँग छ । 

तर ब्रेनन भन्छन्— पुँजीवादबारे पनि यत्तिकै बलियो तर्क पेस गर्न सकिन्छ । यो पारस्परिकताको सिद्धान्तका आधारमा आपसी सहयोगबाट बनेको हुन्छ । यसले बल प्रयोग र शोषणलाई अस्वीकार गर्छ । यसले अर्काको हित गर्नेलाई पुरस्कृत गर्छ, जसकारण विश्वास र सहकार्यको विकास हुन्छ । यसले मानिसलाई स्वतन्त्रतापूर्वक र शान्तिपूर्वक आफ्ना उद्देश्य पूरा गर्न दिन्छ, न कि सत्तामा भएकाले छानेको एकल उद्देश्य ।    

यसैगरी विविधताले मानिस-मानिसबीच सहिष्णुता प्रवर्द्धन गर्छ, उनीहरुका फरक महत्वाकांक्षा र जीवनशैलीको सम्मान गर्छ, उनीहरुलाई कुनै आर्थिक यन्त्रको पुर्जाका रुपमा भन्दा पनि एक व्यक्तिका रुपमा व्यवहार गर्छ । यस्ता मानवीय व्यवहार चर्च, परोपकारी संस्था आदि नागरिक समाजका स्वयंसेवी संस्थाहरुमार्फत व्यक्त हुन्छन् । पुँजीवादी समाजले सिर्जना गर्ने थप सम्पत्तिले यिनलाई थप बल दिएको हुन्छ ।  

यस्तो पुँजीवादी दृष्टिकोण बढी यथार्थपरक पनि हुन्छ । पुँजीवादी सिद्धान्तले एउटा सानो समूहका लागि मात्र नभएर पूरै विश्वका लागि काम गर्न सक्छ । तर पारिवारिक पिकनिकरुपी समाजवादी ढाँचा भने बाहिरिया भित्रिन थालेपछि भत्किन्छ । अनि हाम्रो नैतिक कमजोरीलाई दोष दिनुको तुक हुँदैन । 

पुँजीवादले हामीलाई परहितकारी सन्त बन्नुपर्छ भन्दैन बरू हाम्रो नैसर्गिक निजी स्वार्थलाई सामाजिक लाभमा रुपान्तरण गर्छ । प्रतिभा, ध्यानदृष्टि, ऊर्जा तथा उत्पादनशील सङ्गठनलाई पुरस्कृत गरेर यसले हामीलाई स्वचालित रुपमा नवप्रवर्तन, आविष्कार र अर्काको सेवा गर्ने कार्यतर्फ डोर्‍याउँछ।

पुँजीवादले मूल्य सिर्जना गर्छ र सम्पत्ति फैलाउँछ 
मूल्य तथा सम्पत्ति सिर्जना गर्ने र त्यसलाई फैलाउन सक्ने पुँजीवादको एक अर्को नैतिक गुण हो । पुँजीवादले मानिसलाई अर्काको चाहना पत्ता लगाउन र त्यसको पूर्ति गर्न प्रोत्साहित गर्छ । उच्च उत्पादनशील पुँजीगत वस्तुहरुको प्रयोगमार्फत यसले हामीलाई थोरै नभएर धेरै मानिसको आवश्यकता पूर्ति गर्न सक्षम बनाउँछ ।

त्यसैले त पुँजीवादको विकासले मानिसको आम्दानी र सम्पत्तिमा उल्लेख्य वृद्धि भएको कुरा आश्चर्यको विषय रहेन । मानव इतिहासको लामो समयसम्म औसत आम्दानी जीवन निर्वाहको तहमा थियो, आधुनिक हिसाबमा भन्दा दैनिक एकदेखि तीन अमेरिकी डलरको बीचमा । तर सन् १८०० को वरिपरि अचानक तीव्र गतिमा आम्दानी उकालो लाग्न थाल्यो र यो आकासिने क्रम अहिले पनि जारी छ । 

यसबाट खासगरी गरिबहरु लाभान्वित भएका छन् । विश्व बैङ्कका अनुसार सन् १९९० मा ४० प्रतिशत जनसङ्ख्या प्रतिदिन १.९० डलरमा बाँच्थ्यो भने अहिले त्यो अनुपात १० प्रतिशतमा झरेको छ । पछिल्ला ३५ सय वर्षमा भन्दा पछिल्ला ३५ वर्षमा गरिबीमा धेरै कटौती भएको छ ।  

मानिसलाई आफ्ना आवश्यकता र चाहनाका धेरैभन्दा धेरै वस्तु ग्रहण गर्न सक्ने क्षमता दिनुका अलावा पुँजीवादले पहिलेभन्दा झन् राम्रा वस्तु राख्न सक्ने बनाएको छ । प्रतिस्पर्धाले उत्पादकलाई नवप्रवर्तन गर्न, मूल्य घटाउन र गुणस्तर बढाउन प्रेरित गर्छ । परिणामस्वरुप खाना, आवास, लत्ताकपडा तथा इन्धन जस्ता आधारभूत आवश्यकताका वस्तु पहिलेभन्दा हाल सस्तो र गुणस्तरीय भएका छन् । 

सन् १८०० मा संसारका केही मानिसले मात्र ताजा मासु किनेर खान सक्थे, अहिले पुँजीवादी मुलुकका सबैले खान सक्छन् । बेलायतका राजनीतिक तथा प्राकृतिक विज्ञानका ज्ञाता म्याट रिड्ली (१९५८–)को पुस्तक द रासनल अप्टिमिस्ट (२०११) मा उल्लेख भएअनुसार सन् १८०० मा एक घण्टाको मैनबत्तीको उज्यालोका लागि ६ घण्टाको श्रम लागत पर्थ्यो। सन् १८८० मा आइपुग्दा उत्तिकै समयको मट्टीतेल बत्तीको प्रकाशलाई १५ मिनेटको श्रम लागत पथ्र्यो । अहिले 'एलइडी' का लागि आधा सेकेन्ड पर्याप्त हुन्छ । यसरी प्रकाशका आधारमा हामी सन् १८०० भन्दा ४३ हजार दुई सय गुणा बढी राम्रो अवस्थामा छौं । 

सम्पत्तिमा भएको यस्तो विशाल वृद्धिले मानिस पहिलेभन्दा बढी स्वस्थ, अग्ला, दीर्घजीवी भएका छन् । हामीले मान्दै आएको प्रविधिको लहरले मात्रै यसको पूर्ण व्याख्या गर्न सक्दैन । आखिर यी सबै प्राविधिक विकासलाई पुँजीवादको प्रोत्साहनले नभई केले अगाडि बढाएको हो त ? यो ‘ग्रेट इनरिचमेन्ट’को कुरा अचानक किन आयो ? किन पश्चिम जर्मनहरु मर्सिडिज र बिएमडब्लू जस्ता विलासी कारहरु चढिरहेका बेला पूर्वी जर्मनहरु भरकाटा, अप्ठ्यारा र धेरै प्रदूषण गर्ने त्राबान्त र युगो खरिद गर्न सङ्घर्ष गरिरहेका हुन्थे?

राम्रो प्रविधिले निश्चितरुपमा हाम्रो जीवनस्तरमा सुधार ल्याउँछ तर पुँजीवादले नै ती कुराहरुको विकास गर्न प्रोत्साहन गर्छ । त्यसका लागि सम्पत्ति अधिकार अपरिहार्य हुन्छ, यसले मानिसलाई भविष्यमा उपलब्ध हुने प्रतिफल भोग गर्न पाइन्छ भनेर अनुसन्धान गर्ने, आविष्कार तथा विकास गर्ने आत्मविश्वास र साधन उपलब्ध गराउँछ । ती नयाँ प्रविधि र उत्पादनहरु दक्ष पुँजीवादी उत्पादन तथा बजार वितरण प्रणालीमार्फत टाढाटाढासम्म तीव्र गतिमा फैलिन्छन् ।

त्यसैले त खासगरी चीन, भारत, पूर्वी युरोप र अरु मुलुकहरु अन्तर्राष्ट्रिय व्यापार तथा पुँजीवादी सिद्धान्तमा खुलेपछि नै सन् १९८० दशकदेखि संसारको गरिबीमा तीव्र गिरावट आएको थियो । दोस्रो विश्वयुद्धका बेला सिङ्गापुर, हङकङ, ताइवान, जापान र दक्षिण कोरिया संसारकै गरिब मुलुकमध्येमा पर्थे तर केही दशकको व्यापार तथा पुँजीवादले ती मुलुकलाई संसारकै धनी बनाइदियो । 

उनीहरुका छिमेकी उत्तर कोरिया, कम्बोडिया र लाओस अथवा मलेसिया र चीनले नै पनि त्यसो गर्न सकेनन् । यद्यपि मलेसिया र चीनले पछिल्लो समय पछ्याइरहेका छन् । व्यापार र पुँजीवादबाट सबैभन्दा बढी लाभ प्राप्त गर्ने गरिबहरु नै हुन् भनेर यी उदाहरणले भन्छन् । अति गरिबका लागि त प्रतिदिन थप एक डलर भनेको पनि जीवन र मृत्युबीचको फरकजत्तिकै हो । 

सम्पत्ति अधिकारको मानवीय लाभ
सम्पत्ति अधिकारले मानिसलाई स्रोत प्रयोग गर्ने अधिकार मात्रै दिँदैन । यसले तिनीहरुलाई स्रोतहरुको रक्षा गर्ने, विकास गर्ने र वृद्धि गर्ने प्रेरणा दिन्छ । निजी सम्पत्ति सामूहिक सम्पत्ति वा कसैको पनि स्वामित्वमा नभएको सम्पत्तिभन्दा राम्ररी हेरचाह हुन्छ र बढी उत्पादनशील ढङ्गले प्रयोग हुन्छ । यसको ज्वलन्त उदाहरण सोभियत सङ्घ र माओकालीन चीनमा सामूहिक खेतीको दुःखद असफलता हो, जसले भोकमरी र अभाव मात्र उत्पादन गरेको थियो । कसैको पनि स्वामित्वमा नहुने समुद्रमा अधिक मात्रामा माछा मारिने कुरा अर्को उदाहरण हो । आइसल्यान्ड र न्युजिल्यान्डले मात्र माछा मार्ने जहाजलाई प्रभावकारी रुपमा कोटा प्रदान गरेर माछाको राम्ररी संरक्षण गरिरहेका छन् । 

सम्पत्ति अधिकारले मात्र मानिसलाई उनीहरुले चाहे जस्तै गरी विकसित हुन र अभिव्यक्त हुन दिन्छ । राज्यलगायत अरुबाट हुन सक्ने अतिक्रमणबाट जोगाउने गरी सम्पत्तिले आश्रय प्रदान गर्छ । 

एङ्ग्लो–अस्ट्रियाली राजनीतिक तथा अर्थशास्त्री एफ. ए. हायक (१८९९–१९९२)ले उनको १९४४ को पुस्तक द रोड टू सर्फडममा औंल्याएका छन् । यदि शत्रुवत् व्यवहार गर्ने सरकारले सभाहल, कागजको आपूर्ति तथा मिडियालाई आफ्नो अधीनमा राख्यो भने मानिसले आफ्नो फरक राजनीतिक विचार राख्न वा छलफल गर्नसमेत स्थान पाउँदैनन् । 

सम्पत्तिले हामीभित्रको प्राकृतिक स्वभावलाई पनि सन्तुष्ट पार्छ । हामीसँग भएका चिजबिजहरु हाम्रो स्वभावका गोचर रुप हुन् । ती हामी केटाकेटी हुँदा जम्मा पारेका चिज वा हामीलाई प्रिय मित्रहरुले दिएका उपहार वा हामी कतै गएका बेलाको वा कुनै घटनाका चिनोहरु हुन सक्छन् । ती चिज (मानौं कार वा वासिङ मेसिन) ले हामीलाई केही लाभ, सुविधा र स्वतन्त्रता दिन्छन् । 

ती चिजलाई केवल राख्दा, जगेर्ना गर्र्दा, व्यवस्थापन गर्दा, सुरक्षा गर्दा वा विकसित गर्दा हामीलाई आनन्द आउने पनि हुन सक्छ । जस्तो कि कतिपय मानिसलाई यो घर मेरो हो वा यो उद्यम मेरो हो भन्दा गर्व महसुस हुन्छ । 

केही पुँजीवादविरोधीहरु स्रोतहरुलाई कसैको स्वामिङ्खवमा राख्नेभन्दा साझा गरिनुपर्छ भन्ने तर्क गर्छन् । तर मूल्यवान् स्रोतहरु बाँड्न तयारी अवस्थामा हुने गरी स्वतः अस्तित्वमा आएका हुँदैनन् । बरू तिनलाई त अस्तित्वमा ल्याउनुपर्छ । एउटा मरूस्थलमा खेतीपाती गर्ने वा तेल खानी उत्खनन गर्ने सम्भावना पहिल्याएर कसैले खेती वा उत्खनन नगरेसम्म वा केही नबनाएसम्म त्यो त्यत्तिकै रहन्छ ।

कसैको ज्ञान र श्रम लगानी भएका स्रोतहरुलाई बलपूर्वक बाँड्न लगाउनु अन्याय मात्र होइन, प्रत्युत्पादक पनि हुन्छ । आखिर कुनै लाभ हुँदैन भने कोही किन केही सिर्जना गरोस् ? उनीहरु पनि निष्क्रिय बसेर अरुको मिहिनेतबाट भागबन्डा पाइने पर्खाइमा बसे भइगो नि ।

समानता र समृद्धि
पुँजीवादी समाजमा सम्पत्ति र आयमा हुने कथित असमानता र त्यस्तो असमानताले पुनर्वितरणलाई किन उचित ठहर्‍याउँछ भन्नेबारेमा धेरै लेखिसकिएको छ । तर तथ्यहरुले ती तर्कलाई समर्थन गर्दैनन् । असमानताका आँकडाहरु गणना गर्दा प्रायः करअघिको आम्दानी र सामाजिक सुरक्षाको हिसाब गरिन्छ । तर उच्च आय हुनेको कर तिरेपछिको कुल आय र न्यून आय हुनेको बेरोजगारी भत्ता, बिरामी खर्च, अवकाश खर्च आदि पाएपछिको आय तुलना गर्ने हो भने आय वितरण समाजवादी र पुँजीवादी समाजमा खासै भिन्न देखिँदैन । 

राज्यले गरिब जनसङ्ख्यालाई सित्तैमा उपलब्ध गराउने स्वास्थ्य तथा शिक्षालगायतका सार्वजनिक सेवालाई पनि समावेश गर्ने हो भने भिन्नता अझ कम हुन्छ । यसबाहेक आँकडाहरुले सम्भावित गतिशील असरहरुलाई बेवास्ता गर्छन् । एक वार्षिक सर्वेक्षणको तर्क के छ भने संसारकै सबैभन्दा गरिब मानिस युवा अमेरिकीहरु हुन्, जो आइभी लिग समूहका कलेजबाट दीक्षित छन् किनकि ठूलो शैक्षिक ऋणले उनीहरुको 'धन ऋणात्मक' हुन्छ । तर प्रतिष्ठित योग्यता भएका तिनै विद्यार्थी भोलि गएर संसारकै सबैभन्दा धनीमध्येमा पर्नेछन् । 

असमानता विनिमयको स्वाभाविक परिणाम हो । जब हजारौं मानिसले साङ्गीतिक कार्यक्रमका लागि केही डलर तिर्छन् भने कार्यक्रमपश्चात् ती लोकप्रिय गायकको हातमा धेरै डलर हुन्छ, स्रोताहरुको हातमा कम । यहाँ असमानता रोक्ने एउटै मात्र उपाय भनेको प्रत्येक कार्यक्रमपश्चात् गायकको हातमा भएको पैसा खोसेर पुनर्वितरण गर्ने हो । आर्थिक समानताका लागि निरन्तर पुनर्वितरण आवश्यक हुन्छ अनि ती गायक जस्ताले

प्रस्तुति जारी राख्ने प्रेरणा कहाँबाट पाउनू?
यसको अर्थ सबैलाई कारोबारबाट प्राप्त हुने गैरआर्थिक लाभबाट वञ्चित बनाइन्छ भन्ने हो । दुवै पक्षले लाभ देखेनन् भने कुनै पनि कारोबार हुँदैन । साङ्गीतिक कार्यक्रममा जानेहरु साँझमा थोरै डलरले गरिब होलान् तर बदलामा उनीहरुले मन पराएको गायकलाई सुनेर हर्ष र आनन्द पाएका हुन्छन् । यो गैरआर्थिक मूल्यलाई उनीहरुबाट लिएर अरु कसैलाई पुनर्वितरण गर्न सकिँदैन । मूल्यवान् चिजहरुलाई समान बनाउने नाममा वित्तीय स्रोतहरुको पुनर्वितरणले अधकल्चो काम गर्छ । 

समानताको परिभाषामा समस्या
पुँजीवादमा आर्थिक असमानता भनेको हामीले कसैलाई कति राम्ररी सेवा दिन सकेका छौं कि छैनौं भन्ने कुराको प्रतिबिम्ब हो । आर्थिक पुरस्कार अर्कालाई सेवा गरेपछि मात्रै प्राप्त हुन्छ र यसले हाम्रो सेवाको मूल्य तिर्न मानिसहरु तत्पर छन् कि छैनन् भन्ने देखाउँछ । हामीले अरुलाई दिने सेवाको मूल्याङ्कन गर्न वा पुरस्कारको आकार निर्धारण गर्न कुनै बोर्ड वा समिति चाहिँदैन । सेवाग्राही स्वयंले त्यो काम गर्छन् ।

वास्तवमा राज्यको कुनै पनि समितिले त्यस्तो पुरस्कारका बारेमा विवेकसम्मत निर्णय गर्दैन । के आधारमा उनीहरुले एउटा गायक, खेलाडी, गोताखोर, शिक्षक वा नर्सले समाजलाई प्रदान गरेको मूल्यको हिसाब गर्छन् ? तिनीहरुले प्रदान गरेको मूल्यको बदलामा कति भुक्तानी गर्नुपर्छ भन्ने निर्णय समितिले कसरी गर्ला ? 

उनीहरुले सबैलाई समान रुपमा भुक्तानी गर्ने भन्ने सजिलो निर्णय गरे भने पनि त्यसबाट न्याय र समानता प्राप्त हुँदैन । किनकि कुनै काम बढी जोखिमयुक्त हुन्छ, कुनै सुरक्षित । 

कुनै काम रमाइलो र विविधतायुक्त हुन्छ, कुनै झर्कोलाग्दो र उराठलाग्दो । कुनै काम सजिलो हुन्छ, कुनै असाध्यै ध्यान दिनुपर्ने किसिमको । कुनै कार्यस्थल रमाइलो र सुविधायुक्त हुन्छ, कुनै असुविधाजनक । समान ज्यालाले यो मनोवैज्ञानिक आम्दानीमा रहेको भिन्नतालाई समान बनाउन सक्दैन । तर पुँजीवादमा श्रम बजारको प्रतिस्पर्धाले स्वतः यस्तो काम गर्छ । उदाहरणका लागि जोखिमपूर्ण काम, उराठलाग्दो वा उच्च सीप चाहिने कामका लागि मानिसले बढी भुक्तानी माग्छन् । 

यस हिसाबले पुँजीवादका समर्थकहरुका लागि आर्थिक पुनर्वितरण विवेकसम्मत कुरा होइन किनभने मूल्य र पारितोषिक निर्धारण गर्ने वस्तुगत आधार हुँदैन । यो आग्रही हुन्छ किनभने यसमा गैरआर्थिक तङ्खवहरुलाई विचार गरिँदैन । यो अनावश्यक पनि हुन्छ किनभने यो काम बजारले राम्ररी र स्वतःस्फूर्त ढङ्गले गर्छ । 

उनीहरु पुनर्वितरणलाई अनैतिक पनि हो भन्छन् । आफ्नो प्रतिभा र कडा मिहिनेतले प्राप्त गरेको पारितोषिकमाथि मानिस आफ्नै पूर्णअधिकार हुनुपर्छ भन्छन् । समानताका नाममा हामीले धनी मानिएकाबाट पैसा चोर्ने छुट कसैलाई दिँदैनौं । सरकारलाई यस्तो छुट किन दिने ? खासगरी कुनै तार्किक आधारबिना सरकारी अधिकारीको लहडमा यस्ता निर्णयहरु आउन सक्ने अवस्थामा !

हामी वास्तवमै गरिबलाई मद्दत गर्न चाहन्छौं भने पुँजीवाद सबैभन्दा उपयुक्त विधि हो । वर्तमान विश्व व्यापारमा संलग्न अर्थतन्त्रमा धनी होइन, गरिबहरु छिटो धनी भइरहेका छन् र यसले गरिबलाई ठूलो फरक पारेको छ । यसबाहेक पुँजीले सबैलाई धनी बनाउँछ । जसले धारण गर्न पुगेको छ उसलाई मात्र होइन, उत्पादकत्व बढाएर यसले हामी सबैलाई आवश्यकता र चाहनाका वस्तु उपलब्ध गराउँछ । यसले हामीलाई थोरै काम गरेर धेरै सिर्जना गर्न सक्ने बनाउँछ, त्यो पनि सजिलो वातावरणमा । 

पुँजीवादी समाजका नागरिक धनी हुने भएकाले उनीहरु परोपकारी कार्यमा लाग्ने सम्भावना बढी हुन्छ, उनीहरु परोपकारी कार्यमा बढी पैसा पठाउन सक्छन् । परोपकारी सहयोगबिना पनि धनी पुँजीवादी मुलुकका गरिबको अवस्था गरिब समाजवादी मुलुकका गरिबको भन्दा धेरै (आयका आधारमा दश गुणा बढी) राम्रो हुन्छ । 

पुँजीवादले मानवीय सम्बन्धमा सुधार ल्याउँछ 

अमेरिकी राजनीतिक चिन्तक आएन रान्ड (१९०५–८२)ले पुँजीवादलाई कायम गर्न कुनै बलको प्रयोग गर्नुनपर्ने भएकाले यो एक मात्रै नैतिक सामाजिक प्रणाली हो भन्ने तर्क गरेकी थिइन् । यसले स्वैच्छिक विनिमयमार्फत मात्र काम गर्छ । कसैलाई कसैसँग कारोबार गर्न बाध्य पारिँदैन । मानिसलाई कारोबारमा आउन प्रोत्साहित गर्न एकअर्काप्रतिको सम्मान र विश्वास आवश्यक हुन्छ, यसको गरिबमाझ खास महङ्खव हुन्छ । 

पुँजीवादले विभेदलाई पनि हटाउँछ । यसका लागि कुनै नियमकानुन चाहिँदैन । कुनै निश्चित जाति, लिङ्ग, संस्कृति, धर्मका कर्मचारी लिन नमान्ने वा ती समूहका मानिसलाई सामान बिक्री नगर्ने वा कुनै चिज भाडामा दिन नमान्ने व्यवसायीलाई त्यस्तो विभेद नगर्ने प्रतिस्पर्धीले पछाडि पार्छन् । 
नियमनहरु प्रायः अल्पसङ्ख्यकको पक्षमा हुँदैनन् । उदाहरणका लागि न्यूनतम ज्यालाको नियमका कारण रोजगारदातालाई कामदार भर्ना गर्न महँगो पर्न जान्छ । फलस्वरुप, रोजगारदाताले सीप नभएका नयाँ युवा वा स्थानीय भाषा तथा संस्कृतिबारे राम्रो जानकारी नभएका आप्रवासीलाई काममा राख्ने वा उनीहरुलाई तालिम दिने कुरामा अनिच्छुक हुन्छन् । यसरी नियमले जसलाई सहयोग गर्न खोजेको हो, उसकै हानि भइरहेको हुन्छ । 

चाखलाग्दो कुरा, पुँजीवादको सम्बन्ध महिलाको उच्च साक्षरता दरसँग जोडिएको छ, जुन पारिवारिक स्वास्थ्य, शिक्षा तथा समृद्धिको महत्त्वपूर्ण निर्धारक हो । पुनर्जागरण कालदेखि व्यापारमा भएको वृद्धिसँगै महिला साक्षरता बढ्न थालेको हो । धेरैजसो व्यापारी पुरूष हुन्थे, श्रीमानहरु वस्तु बिक्री गर्न समुद्री यात्रामा निस्किएका बेला घरमा व्यापार सम्हाल्ने उनीहरुका श्रीमती हुन्थे, त्यसैले महिला शिक्षा, हिसाबकिताब महत्त्वपूर्ण हुन्थ्यो । पुँजीवादी समाजमा त्यो अद्यापि छँदै छ ।

तुलना समानसँग

दोहोर्‍याएर भन्नुपर्दा, आदर्श समाजवादलाई व्यवहारको पुँजीवादसँग तुलना गर्न सकिँदैन, न कसैले समाजवादलाई कथित असल उद्देश्य (विश्वास र सहकार्य) ले र पुँजीवादलाई खराब (लोभ) उद्देश्यले प्रेरित हो भनेर परिभाषित नै गर्न सक्छ । धेरैले यसो गर्ने प्रयास गर्छन् तर तथ्यले अस्वीकार गर्छ । पुँजीवाद निर्मम प्रतिस्पर्धा होइन बरू सहकार्य हो । वास्तवमा यो उल्लेख्य रुपमा सहकार्ययुक्त सामाजिक व्यवस्था हो, जुन विश्वासमा चल्छ र असामाजिक उद्देश्यलाई प्रणालीगत ढङ्गले दण्डित गर्छ । 

पुँजीवाद यथार्थपरक सामाजिक प्रणाली पनि हो । यसले सर्वव्यापी रुपमा गुणवान् र परहितकारी नागरिक तथा पूर्ण समाज जस्ता अप्राप्य कुराको परिकल्पनाभन्दा पनि जुन काम व्यावहारिक छ, त्यसैमा ध्यानकेन्द्रित गर्छ । मानवीय स्वभावका बारेमा यसलाई कुनै भ्रम छैन । 
त्याग वा बल जस्तो केही चिजले मानिसलाई देवदूत बनाउन सकिन्छ भन्ने धारणा यसले राख्दैन । यसको सट्टा हाम्रा स्वाभाविक निजी स्वार्थहरुलाई निकास दिएर लाभदायी सामाजिक नतिजा निकाल्ने काम गर्छ । नैतिक रुपमा पनि यो सङ्गतिपूर्ण छ । राज्यले गरेको भन्दैमा चोरी, एकाधिकार, कृपावाद वा बलको प्रयोगलाई पुँजीवादले सही मान्दैन । 

पुँजीवादी अवधारणालाई सानो समूहभन्दा बाहिर परसम्म विस्तार गर्न सकिन्छ । अधिकांश विश्व अहिल्यै पुँजीवादी भइसकेको छ वा पुँजीवादी मुलुकसँग कारोबार गर्छ । सम्पत्ति अधिकार, इमानदारी, करार सम्झौताको पालनालगायत सामान्य नियमहरुलाई पछ्याउने भएकाले पुँजीवादमा प्रवेश गर्न चाहनेलाई सङ्ख्याको कुनै सीमा हुँदैन । तर जब समाजलाई कुनै निश्चित साझा उद्देश्यतर्फ निर्देशित गरिन्छ, तब ठूलो आकारले ठूलै समस्या निम्त्याउँछ । 

जसले योजना बनाउँछन् र व्यवस्थापन गर्छन्, उनीहरुले के उत्पादन गर्ने, प्रत्येक व्यक्तिले खेलेको भूमिकाका लागि कति भुक्तानी गर्ने जस्ता ठूलै परिमाणमा सूचना सङ्कलन र प्रशोधन गर्नुपर्छ । समाजको उद्देश्य के हुनुपर्छ र त्यसलाई प्राप्त गर्न के गर्नुपर्छ भन्ने सम्बन्धमा विमतिका लागि ठूलो स्थान हुन्छ । यसले त्यस्ता विमति पजनीको निर्णय गर्न सक्ने पर्याप्त निर्दयी नेताहरुलाई सर्वेसर्वा बनाउँछ ।

(मुराहरी पराजुलीद्वारा भाषानुवाद गरिएको इमन बटलरको पुस्तक 'एन इन्ट्रोडक्शन टु क्यापिटलिज्म'को नेपाली संस्करण 'पुँजीवाद एक परिचय' बाट साभार गरिएको ।)