नेपालको सहरी विकासमा विश्व बैंकले १७ अर्ब लगानी गर्ने, सार्वजनिक सेवा र क्षमता विकासमा प्रयोग

बिजमाण्डू
२०७७ माघ १४ गते १४:०२ | Jan 27, 2021
नेपालको सहरी विकासमा विश्व बैंकले १७ अर्ब लगानी गर्ने, सार्वजनिक सेवा र क्षमता विकासमा प्रयोग


Tata
GBIME
Nepal Life

काठमाडौं। सहरी विकास मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा १५ करोड अमेरिकी डलर अर्थात् १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको नेपाल अर्बन गबर्नेन्स एन्ड इन्फ्रास्टक्चर परियोजना लन्च गरेका छन्। मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह र विश्व बैंकका अपरेसन म्यानेजर लडा स्ट्रेकोवाले संयुक्त रुपमा उक्त परियोजना सार्वजनिक गरेका छन्।
 
चार वर्षे यस परियोजनाको लगानी विश्व बैंकले गर्नेछ। परियोजनाले दिगो सहरी विकासलाई प्रवर्द्धन गर्नुका साथै नेपालका सहायक सहरहरुमा कोभिड-१९ ले पुर्याएको आर्थिक क्षतिलाई सुधार गर्न उपयोग गरिने बताइएको छ। नेपालको संघीयता र राष्ट्रिय सहरी विकास रणनीतिको मूल्य मान्यतालाई आत्मसाथ यो परियोजनाले स्थानीय तहहरुमार्फत् सहायक सहरहरुमा प्रवाह हुने सार्वजनिक सेवा र संस्थागत क्षमता प्रवर्द्धनमा उपयोग गरिने बताइएको छ। 

'संघीयता, तीव्र सहरीकरण, कोभिड-१९ महामारीका कारण सहरी सेवा प्रवाहका साथै सहरी जनसंख्याको माग सम्बोधन झन् जटिल बनेको छ। जरुरी आवश्यकताहरूलाई ध्यानमा राख्दै, सबै स्थानीय तहहरुमा यो परियोजनाको नतिजामुखी कार्यान्वयन आवश्यक छ,' सचिव सिंहले भने। 
परियोजनाका लागि छनोट भएका १७ नगरपालिकाहरु दुई रणनीति क्लस्टर पूर्वी र पश्चिम क्षेत्रमा छन्। पूर्वी क्षेत्रमा प्रदेश १ र २ छन् भने पश्चिमी क्षेत्रमा गण्डकी र लुम्बिनी प्रदेश रहने बताइएको छ। छनोट भएका नगरपालिकाहरु नेपालको आर्थिक विकासका साथै व्यापारिक र प्रशासनिक क्रियाकलापका हिसाबले महत्वपूर्ण रहेका छन्।

परियोजनाले सातै प्रदेशका थप १२ वटा नगरपालिकहरुमा सार्वजनिक क्रियाकलापका साथै थप चार नगरपालिकाहरुको क्षमता विकासमा लगानी गर्ने बताइएको छ।