बैंकका सीइओको तलब: ३९ लाखदेखि साढे तीन करोड रुपैयाँसम्म, कसको कति?

बिजमाण्डू
२०७७ माघ ५ गते १२:०२ | Jan 18, 2021
बैंकका सीइओको तलब: ३९ लाखदेखि साढे तीन करोड रुपैयाँसम्म, कसको कति?

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिडका कारण केही वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले पाउने वार्षिक तलब सुविधा पनि प्रभावित देखिएको छ। तर अधिकांश बैंकका प्रमुख कार्यकारीहरुको तलब सुविधा बढेको छ।

नाफा प्रभावित भएका कारण वार्षिक रूपमा पाउने बोनस भने केही घटेको छ। केही बैंकका प्रमुख कार्यकारीहरुको तलब ह्वात्तै बढेको पनि छ। 

कतिपय अवस्थामा ठूलाभन्दा साना बैंकहरुले आफ्ना प्रमुख कार्यकारीहरुलाई बढी तलब दिएका छन्। ठूलाको तुलनात्मक रूपमा कम देखिन्छ। सरकारी स्वामित्वका बाहेक सबै बैंकका प्रमुख कार्यकारीहरुको तलब सुविधा करोडभन्दा माथि छ।

अहिले सञ्चालनमा २७ वाणिज्य बैंक छन्। यसमध्ये राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र सिभिल बैंकले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छैनन्। बाँकीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अधिकांश प्रमुख कार्यकारीहरुको तलब सुविधा बढेको छ। उनीहरुले पाउने पारिश्रमिकको ३६ प्रतिशत आयकर भने सरकारलाई बुझाएका छन्।

बैंक अफ काठमाण्डू 
बैंक अफ काठमाण्डू (बीओके) का प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले एक वर्षमा २ करोड ८१ लाख रुपैयाँ पारिश्रमिक र सुविधाहरु बुझेका छन्। यसभित्र सञ्चयकोष, औषधोपचार, सवारी साधन सुविधा, मोबाइल फोनको भुक्तानी पर्छ। अघिल्लो वर्ष उनले कुल दुई करोड ३२ लाख ८५ हजार ४९५ रुपैयाँ तलब सुविधा बुझेका थिए।

उनको नेतृत्वको बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश बाँडेको छ। बैंकले १३ प्रतिशत बोनस सेयर र बाँकी ३ प्रतिशत नगद लाभांश बाँडेको छ। 

बैंकको कुल कर्मचारी खर्च एक अर्ब ११ करोड १८ लाख रुपैयाँ छ। यसबाहेक कार्यालय सञ्चालन खर्च ६६ करोड ९५ लाख रुपैयाँ छ। बैंकले गत आर्थिक वर्ष एक अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

सानिमा बैंक
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले तलब, भत्ता र अन्य सुविधाहरु गरेर एक करोड ४६ लाख रुपैयाँ बुझेका छन्। यसमा बोनस ऐन अनुसार प्रदान गरिने बोनस उल्लेख छैन। 

अघिल्लो वर्ष भने दहालले कुल २ करोड ८ लाख ३९ हजार रुपैयाँ बुझेका थिए। बैंकका प्रमुख ब्यवस्थापकहरुले वर्षदिनमा ३ करोड ८२ लाख रुपैयाँ बुझेका छन्। यसमा पनि बोनस जोडिएको छैन। पोहोर भने बोनससहित ५ करोड २९ लाख ३५ हजार रुपैयाँ बुझेका थिए।

बैंकले वार्षिक प्रतिवेदनमा बोनस के-कति बुझे भनेर खुलाएको छैन। बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट १३.६ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गरेको हो। पोहोर लाभांश २१.०५ प्रतिशत थियो। यसपाली कोभिडले गर्दा नाफा प्रभावित भएको छ भने लाभांश वितरणमा पनि अंकुश लगाइएको छ। बैंकले गत वर्ष एक खर्ब ७६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकका अनुसार, गत आर्थिक वर्षको ब्यवस्थापन खर्च एक खर्ब ९६ करोड रुपैयाँमध्ये कर्मचारी तलब, भत्ता तथा अन्य सुविधा (यसभित्र बोनस पनि पर्छ) मा एक अर्ब २३ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ। र अन्य सञ्चालन खर्चतर्फ ७२ करोड ८२ लाख रुपैयाँ खर्च भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

एनआइसी एसिया
एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको एक वर्षमा ३७ लाख रुपैयाँले आम्दानी बढेको छ। बैंकले २३औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख कार्यकारीसहित अन्य कर्मचारीको तलब सुविधा बढेको जनाएको छ।
 
अघिल्लो वर्ष न्यौपानेको कुल तलब सुविधा र नाफाबाट बोनस गरी २ करोड १३ लाख रुपैयाँ बुझेका थिए। गत वर्ष भने न्यौपानेले २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। 

न्यौपानेले भत्तासहित कुल वार्षिक तलब एक करोड ८० लाख बुझेका हुन्। यसबाहेक उनले ७० लाख ५९ हजार रुपैयाँ नाफाबाट बोनस पनि पाएका छन्। उनलाई बैंकले अन्य सुविधा अन्तर्गत एक सवारी साधन र ड्राइभर खर्च, बीमा, कर, मर्मतसम्भारलगायत खर्च पनि बैंकले दिएको छ। 

बैंकले गत  वर्ष बैंकले २ अर्ब ९१ करोड रुपैयाँ कर्मचारी तलब र बोनसमा खर्च गरेको छ। गत वर्षको मुनाफाबाट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश बाँडेको छ। बैंकले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश पारित गरेको छ। 

बैंकले गत वर्ष एक अर्ब ४४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ४६ करोड ६६ लाख रुपैयाँ छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार पोखरेलले गत वर्षभरी एक करोड ३१ लाख ९० हजार रुपैयाँ आम्दानी गरेका छन्।

अघिल्लो वर्षको आधाउदी समयमा उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएक हुन्। त्यसबेला पूर्व प्रमुख कार्यकारी राजनसिंह भण्डारी र उनले गरेर कुल एक करोड ७९ लाख रुपैयाँ तलब सुविधा बुझेका थिए।

बैंकका अनुसार पोखरेलले गत वर्ष बुझेको कुल एक करोड ३१ लाख ९० हजार रुपैयाँमध्ये ६२ लाख २८ हजार रुपैयाँ त सरकारलाई आयकर नै बुझाएका छन्। उनले जम्मा ६९ लाख ६१ हजार रुपैयाँ मात्र उनले घर लैजान पाएका छन्। 

बैंकले मंसिर २० गते १४औं वार्षिक साधारणसभा डाकेको थियो। सभाले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश पारित गरेको थियो। 

गत वर्ष बैंकले कर्मचारीमा ९३ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ। यसबाहेक कार्यालय सञ्चालन खर्च ७१ करोड ६२ लाख रुपैयाँ गरेको छ। बैंकले गत वर्ष ८२ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकले ९२ लाख रुपैयाँ मात्र वितरणयोग्य नाफा गरेको छ।

माछापुच्छ्रे बैंक
 माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा पारिश्रमिक, भत्ता तथा सुविधा भनेर २ करोड २३ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले नायब महाप्रबन्धक तथा प्रबन्धकका लागि १० करोड ७८ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ। बैंकले नाफाबाट कर्मचारीलाई वितरण गरेको बोनस पारिश्रमिकमा जोडेको छैन।

यद्यपि प्रमुख कार्यकारीका लागि भनेर भुक्तानी गरेको यो रकम अहिलेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले पूरै बुझेका होइनन्। उनी गत आर्थिक वर्षको बैशाख १ गतेबाट मात्र प्रमुख कार्यकारी अधिकृत भएका हुन्।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म सुमन शर्मा प्रमुख कार्यकारी अधिकृत थिए। २ करोड २३ लाख रुपैयाँमध्ये अधिकांश शर्माले बुझेको पारिश्रमिक हो।

बैंकले गत वर्ष नाफाबाट बोनससहित कर्मचारीलाई एक अर्ब ५० करोड २९ लाख रुपैयाँ भुक्तानी गरेकोछ । बैंकले कार्यालय सञ्चालनका लागि वर्षभरीमा ८८ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ भने कुल ब्यवस्थापन खर्चमा २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ। बैंकमा कुल ११ सय ९५ जना कर्मचारी छन्।

बैंकले प्रमुख कार्यकारीलगायत कर्मचारी खर्चको विवरण वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। बैंकले यो प्रतिवेदन आगामी पुस २ गते हुने वार्षिक साधारणसभामा प्रस्तुत गर्ने छ।

बैंकले गत वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद लाभांश र ७.०३ प्रतिशत बोनस सेयर वितरण गरेको छ। बैंकको ८ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी छ। बैंकले गत वर्ष एक अर्ब ६९ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो।

कुमारी बैंक
कुमारी बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई एक वर्षमा २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलब, भत्ता भुक्तानी गरेको छ।

अघिल्लो वर्ष उनले २ करोड १४ लाख रुपैयाँ तलब सुविधा बुझेका थिए। वर्ष दिनमा उनको आम्दानी २४ लाख रुपैयाँले बढेको हो।

बैंकले सोमबारको वार्षिक साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी भण्डारीलाई तलबवापत एक करोड ७ लाख ४७ हजार, भत्ता ४५ लाख ६७ हजार, दसैं भत्ता १३ लाख ९ हजार, बिदा वापत (वार्षिक र सञ्चिति) ८ लाख ९५ हजार र अन्य सुविधावापत ६३ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको उल्लेख छ।

बैंकले ब्यवस्थापकहरुलाई एक वर्षमा १० करोड ४४ लाख ८६ हजार रुपैयाँ भुक्तानी गरेको छ। यो सुविधा सहायक महाप्रबन्धक तहसम्मको हो। यसमा गत आर्थिक वर्ष बैंक छाडेर गएका तथा नयाँ भर्ती भइ आएका कर्मचारीहरुले आफ्नो कार्यकालमा प्राप्त गरेको तलब तथा भत्तासमेत समावेश छ। 

बैंकको वार्षिक साधारणसभाले १०.८५ प्रतिशतका दरले बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश पारित गरेको छ। बैंकले गत वर्ष एक अर्ब १५ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ छ।

सनराइज बैंक
सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई कुल एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत भुक्तानी गरेको छ। सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौडेल छन्। यो उनले बुझेको तलब सुविधा हो।

गत वर्ष बैंकले एक करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यो भुक्तानी लिने बेलामा प्रमुख कार्यकारी रत्नराज बज्राचार्य थिए। ब्यवस्थापन तहका पदाधिकारीहरुमा बैंकले ३ करोड ३७ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ। 

बैंकले आउँदो पुस २४ गते वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, बैंकले नाफाबाट बोनससहित कर्मचारी खर्चमा कुल एक अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ। यसबाहेक कार्यालय सञ्चालन खर्च ९९ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ।

गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिएको छ। बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिएको छ। बाँकी २.४८ प्रतिशत नगद लाभांश दिएको छ। बोनस सेयर स्वीकृतपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढेको छ।  बैंकले गत आर्थिक वर्ष ५४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकको खुद नाफा भने एक अर्ब ३९ करोड रुपैयाँ थियो। चबैंकले गत आर्थिक वर्ष १५.८ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये १० प्रतिशत बोनस सेयर थियो। कोभिडका कारणले ब्यापार बिस्तारका साथै ऋण उठ्तीमा समस्या छ। यही कारण यसपाली बैंकको लाभांश दर कम भएको हो। लाभांश दर कम हुनुमा राष्ट्र बैंकको अंकुश पनि हो।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृतसहित माथिल्लो पदका कर्मचारीहरुलाई एक वर्षमा ४ करोड ८८ लाख रुपैयाँ तलब सुविधा दिएको छ। अघिल्लो वर्ष ४ करोड ११ लाख रुपैयाँ दिएको थियो। 

यो तलब सुविधा बुझ्ने ६ जना हुन्। बैंकले प्रमुख कार्यकारीको मात्र तलब सुविधा छुट्याएर वार्षिक प्रतिवेदनमा राखेको छैन।

प्रमुख कार्यकारी अधिकृत, तीन जना नायब महाप्रबन्धक र दुई जना सहायक महाप्रबन्धकले यो तलब सुविधा पाएका हुन्। अहिले प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगी छन्। नेगीको हातमा भने यो पैसा परेको छैन। उनी भर्खरै आएका हुन्। यसअघिका प्रमुख कार्यकारी सोमेश्वर सेठले यो रकम बुझेका हुन्। 

नायब महाप्रबन्धकहरुमा गिरिश कोहली, राजिव जैन र डा. सुधीर कुमार छन्। सहायक महाप्रबन्धकमा केशव पौडेल र आशुतोष शर्मा छन्। 

एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा डाकेको थियो। सभाले १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो। बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो। एभरेष्टले गत वर्ष एक अर्ब ३६ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। 

नबिल बैंक
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको वार्षिक तलब तथा सुविधा घटेको छ। अघिल्लो वर्षको भन्दा यसपाली उनको तलब सुविधा ३६ लाख रुपैयाँले कम भएको हो।

बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार, एक वर्षमा शाहलाई एक करोड ६२ लाख ३४ हजार रुपैयाँ मात्र भुक्तानी गरिएको छ। जबकी अघिल्लो वर्ष एक करोड ९८ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

बैंकले पुस २९ गते साधारणसभा डाकेको थियो। साधारणसभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदनमा शाहको तलब सुविधा घटेको उल्लेख गरिएको छ। 

यसो त सञ्चालक समिति खर्च पनि घटेको छ। अघिल्लो वर्ष सञ्चालक समिति बैठकका लागि कुल ७० लाख खर्च भएकोमा गत वर्ष ५४ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ।  

यद्यपि सञ्चालकहरुले लिने भत्ता भने बढेको छ। अघिल्लो सात २४ लाख १० हजार रुपैयाँले काम चलेको थियो भने पोहोर २७ लाख ५९ हजार रुपैयाँ खर्च भयो।

नबिल बैंक लिमिटेडले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर पारित गरेको छ। बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश पारित गरेको छ। बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। 

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एक वर्षमा एक करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन्। अघिल्लो वर्ष पनि तलब यति नै थियो।

उनले बुझेको तलबमा नाफाबाट पाउने बोनस, उपदान, सञ्चय कोष तथा औषधि उपचारका साथै वार्षिक तथा बीमा बिदा पाउने आर्थिक सुविधा जोडिएको छैन। त्यसैले ढुंगानाले पाउने वार्षिक आम्दानी अझ बढी हुन्छ। यद्यपि उनले पाउने आम्दानीमा ३६ प्रतिशत आयकर सरकारलाई बुझाउँछन्।

बैंकले प्रबन्धक तहका कर्मचारीलाई तलब ४ करोड ७० लाख ९४ हजार रुपैयाँ दिन्छ। यसबाहेक भत्ता स्वरुप ९ करोड १५ लाख रुपैयाँ दिन्छ। बैंकको कुल कर्मचारी खर्च भने एक अर्ब २ करोड ४४ लाख रुपैयाँ छ। यसबाहेक ५५ करोड ८६ लाख रुपैयाँ कुल कार्यालय सञ्चालन खर्च छ। 

बैंकले गत वर्षको नाफाबाट २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गरेको छ। बैंकले आफ्ना सञ्चालक समिति सदस्यहरु कोभिड-१९ संक्रमणबाट ग्रसित भइ अस्पताल भर्ना हुने अवस्थामा अस्पतालको बिल अनुसार बढीमा २ लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराएको छ। 

बैंकले चालु वर्ष शाखा बिस्तारलाई प्राथमिकतामा राखेको छ भने संस्थागत निक्षेपको मात्रालाई घटाउने भएको छ। ब्रोकर कम्पनी खोल्नुका साथै कोर बैंकिङ सिस्टमलाई परिवर्तन गरी फिनास्ट्रा सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ। बैंकले गत वर्ष ४४ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। 


नेपाल एसबीआइ बैंक
नेपाल एसबीआइ बैंकले प्रमुख कार्यकारीसहित भारतबाट आएका कर्मचारीलाई एक वर्षमा एक करोड ७४ लाख ५९ हजार रुपैयाँ खर्चिएको छ। यद्यपि प्रमुख कार्यकारीसहित भारतबाट आएका कर्मचारीलाई स्टेट बैंक अफ इण्डियाले तलब दिन्छ।

यो भुक्तानी घरभाडा, अन्य भत्ता तथा सुविधाबापत दिइएको हो। यो सुविधा अनुकुल भटनागरलगायतले बुझेका हुन्। अहिले प्रमुख कार्यकारीमा दीपककुमार दे छन्। भटनागर भारत फिर्ता भइसकेका छन्।

बैंकले अन्य पदाधिकारीहरुलाई तलबभत्ता र अन्य सुविधाबापत एक वर्षमा ३ करोड १७ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ। बैंक गत वर्ष कर्मचारीमा एक अर्ब ५४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ। 

बैंकले चालु वर्ष ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश वितरण गरेको छ। बैंकले साधारणसभामा मर्जर तथा प्राप्तिको एजेण्डा पनि पारित गरेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड
स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक नेपालले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक २ करोड ८७ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ।

बैंकले अन्य सुविधाबापत थप एक करोड १० लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ। यो गत वर्ष भुक्तानी गरेको रकम हो। बैंकले सञ्चालकहरुलाई भत्ता भनेर ६ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ। यो भत्ता स्वतन्त्र र साधारण सेयरधनीबाट निर्वाचित सञ्चालकले बुझेका हुन्। 

बैंकले प्रमुख कार्यकारी अधिकृतलाई दिएको सुविधा कार्यकारी निर्देशक शिर्षकमा राखेको छ। बैंकमा कुल सेयरको २९.७९ प्रतिशत सेयर सर्वसाधारणको छ। बाँकी ७०.२१ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ। 

यसमध्ये पनि ४६.८१ प्रतिशत सेयर स्ट्यान्डर्ड चार्टर्ड ग्रिण्डलेज लिमिटेड अस्ट्रेलियाको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेको २३.४ प्रतिशत सेयर छ।

प्रमुख कार्यकारी स्ट्यान्डर्ड चार्टर्ड ग्रुपले नियुक्त गर्ने भएकाले उनले यहाँ सञ्चालक समितिको पनि प्रतिनिधित्व गर्छन्। त्यसो हुँदा उनलाई कार्यकारी निर्देशक भनेर तोकिएको हुन्छ।

बैंकमा प्रियंका अग्रवाल, अभिनास अग्रवाल, कोमल अग्रवाल, शशी अग्रवाल र शंकरलाल अग्रवालको जनही ०.७ प्रतिशत सेयर छ। बैंकले गत वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश वितरण गरेको छ। यसमध्ये सात प्रतिशत बोनस सेयर हो। बैंकको कुल सम्पत्ति एक खर्ब १६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी छ।

बैंकको अध्यक्षमा जितेन्द्र अरोरा छन् भने प्रमुख कार्यकारीको जिम्मेवारीमा अनिर्भन घोष दस्तिदार छन्। बैंकले एक अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

प्रभु बैंक
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तलब सुविधा एक वर्षमा एक करोड १३ लाख रुपैयाँले बढेको छ। 

उनले गत आर्थिक वर्ष तलब भत्ताबापत २ करोड ५७ लाख ९२ हजार रुपैयाँ बुझे भने कर्मचारी बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ बुझेका छन्। यसबाहेक दसैं तथा बिदाबापतको भत्ता ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन्। उनले कुल बुझेको रकममा ३६ प्रतिशत आयकर पनि बुझाएका छन्। 

अघिल्लो वर्ष उनले २ करोड २९ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए। बैंकले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ताबाहेक इन्धन र मर्मत संभारसहित सवारी साधन उपलब्ध गराएको छ। 

बैंकले अन्य पदाधिकारीहरुलाई २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ। उनीहरुले तलब भत्ताबाहेक प्रमुख कार्यकारीले जस्तै दुर्घटना बीमा, औषधोपचार बीमा सुविधा पाएका छन्। यसबाहेक आश्रित परिवारको बीमा पनि सुविधा पाएका छन्।

बैंकको प्रमुख कार्यकारी शेरचन हुन् भने ब्यवस्थापन समूहमा मणिराम पोखरेल, भोलाप्रसाद पाठक र निरज लम्साल छन्। 

बैंकले बोनससहित कर्मचारीमा कुल २ अर्ब १५ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ। बैंकको सञ्चालन खर्च एक अर्ब ४३ करोड रुपैयाँ छ। 

बैंकले १० प्रतिशत बोनस सेयर पारित गरेको छ भने ०.५३ प्रतिशत नगद लाभांश पनि वितरण गरेको छ। बैंकले गत आर्थिक वर्ष एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकसँग कुल सम्पत्ति एक खर्ब ६७ अर्ब रुपैयाँ छ। 

लक्ष्मी बैंक
लक्ष्मी बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा कुल पारिश्रमिक र भत्ताबापत एक करोड नौ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ। 

अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारीलाई एक करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको थियो। 

त्यसबेलाको लामो समय प्रमुख कार्यकारीका रूपमा सुदेश खालिङले काम गरेका थिए। त्यही वर्ष खालिङको कार्यकाल सकिएपछि प्रमुख कार्यकारीमा अजयविक्रम शाह नियुक्त भएका थिए। 

बैकले अन्य उच्च पदाधिकारीहरुलाई ५ करोड ७५ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ। वार्षिक प्रतिवेदन अनुसार, यो तलब सुविधा बाहेक बैंकका कर्मचारीहरुलाई कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र सर्त अनुसार अन्य सुविधाहरु पनि उपलब्ध हुन्छ। 

बैंकको कार्यकारी समितिमा प्रमुख कार्यकारी अधिकृतसहित १२ जना सदस्य छन्। बैंकले गत वर्ष कर्मचारीमा कुल एक अर्ब २३ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। कार्यालय सञ्चालनमा ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। 

बैंकले गत वर्षको नाफाबाट साढे २ प्रतिशतका दरले नगद लाभांश र ९ प्रतिशत बोनस सेयर वितरण गरेको छ। बैंकले गत वर्ष एक अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको सेयर पुँजी ९ अर्ब ८१ करोड छ भने नेटवर्थ १३ अर्ब ९७ लाख रुपैयाँ छ।

एनएमबि बैंक
 एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई गत आर्थिक वर्ष एक करोड ७५ लाख २८ हजार रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ।

बैंकले अघिल्लो वर्ष केसीलाई एक करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको थियो। बैंकले पुस २९ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, केसीलाई तलबबापत ५९ लाख ४ हजार रुपैयाँ र सञ्चय कोषबापत पनि ५९ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको छ।

यसबाहेक भत्ता ५२ लाख ४८ हजार रुपैयाँका साथै बोनस तथा वेलफेयरबापत ५५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २ लाख ९ हजार ९०५ रुपैयाँ भुक्तानी गरेको छ। यद्यपि उनले सरकारलाई ३६ प्रतिशत आयकर नै तिर्छन्।

बैंकका प्रमुख ब्यवस्थापनका कर्मचारीले ५ करोड २४ लाख ४० हजार रुपैयाँ बुझेका छन्। प्रमुख ब्यवस्थापनमा नौ जना छन्। 

बैंकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश पारित गरेको छ। बैंकले गत वर्ष एक अर्ब ७१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

मेगा बैंक
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीको वार्षिक तलब सुविधा ५६ लाख रुपैयाँले बढेको छ।

अघिल्लो वर्ष वार्षिक एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक तथा सुविधा बुझ्दै आएकी उनले गत आर्थिक वर्ष एक करोड ७० लाख ३२ हजार रुपैयाँ बुझेकी छन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्येमा उनी एक्ली महिला प्रमुख कार्यकारी हुन्।

खुँञ्जेलीले तलब मात्र एक करोड २ लाख रुपैयाँ पाएकी छन्। यसबाहेक दसैं भत्ता साढे ८ लाख, बोनस र कल्याणकारी कोषबापत ५६ लाख ७९ हजार, इन्धन सुविधा ३ लाख रुपैयाँ बुझेकी छन्। यद्यपि उनले आफ्नो आम्दानीमा ३६ प्रतिशत आयकर राज्यलाई बुझाएकी छन्।

बैंकले प्रबन्धक/उच्च ब्यवस्थापनलाई गत वर्ष तलबबापत ५ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ। भत्ताबापत ३ करोड ३१ लाख, सञ्चयकोषबापत ४८ लाख, दसैं भत्तामा ५८ लाख ७८ हजार, बोनस र कल्याणकारी कोषमा  ३ करोड ५० लाख र इन्धनबापत ४५ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ३.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गरेको छ। बैंकको हाल १३ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी छ। बोनस सेयरपछि चुक्ता पुँजी एक अर्ब ३३ करोडले बढ्ने छ।

ग्लोबल आइएमइ बैंक
ग्लोबल आइएमइ बैंकले गत आर्थिक बर्ष ब्यस्थापन नेतृत्व गरेका (सिइओ/कामु सीइओ) लाई कुल एक करोड २६ लाख ८६ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ।

यसबाहेक कार्य सम्पादनका आधारमा बैंकले कामु सीइओलाई बोनसबापत २८ लाख २३ हजार रुपैयाँ अतिरिक्त भुक्तानी गरेको छ। 

ग्लोबल आइएमइ बैंक र साबिकको जनता बैंक नेपाल मर्जपछि जनताका प्रमुख कार्यकारी अधिकृतलाई ग्लोबलले २०७६ मंसिर २० गते प्रमुखको जिम्मेवारी दिएको थियो। त्यसअघि कामु प्रमुख कार्यकारीका रूपमा महेश शर्मा ढकालले ब्यवस्थापकीय नेतृत्व गरेका थिए। यो पैसा क्षेत्री र ढकालले बुझेका हुन्।

बैंकले तलबबापत ९० लाख २७ हजार भत्ता ११ लाख ४ हजार, सञ्चयकोष ९ लाख २ हजार, दसैं भत्ता ६ लाख र अन्य रकम १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको थियो। बैंकले २ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर वितरण गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। 

बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, पाण्डेले तलबबापत एक करोड ६० लाख ७६ हजार, भत्ता एक करोड ७ लाख १७ हजार, दसैं भत्ता २२ लाख ३३ हजार, सञ्चय कोष १६ लाख ८ हजार रुपैयाँ बुझेका छन्। यसको ३६ प्रतिशत पाण्डेले आय कर तिरेका छन्।

अघिल्लो वर्ष पाण्डेले कुल तीन करोड ६ लाख रुपैयाँ बुझेका थिए। 

बैंकका अन्य कार्यकारी पदाधिकारी/ब्यवस्थापकहरुले वर्ष दिनमा २१ करोड ७० लाख १३ हजार रुपैयाँ बुझेका छन्। बैंकमा यस्ता कर्मचारी ११४ जना छन्। उनीहरुको तलबमा मात्र ११ करोड २३ लाख रुपैयाँ गएको छ।

प्रमुख कार्यकारी अधिकृत र कार्यकारी कर्मचारीहरुले बुझेको तलबमा वार्षिक नाफाबाट वितरण गरिने बोनस जोडिएको छैन। 

बैंकले साढे ५ प्रतिशत नगद लाभांस र १३ प्रतिशत बोनस सेयर दिँदैछ। बैंकले मर्जर तथा प्राप्तिको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।

सेञ्चुरी बैंक
सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद गौतमले एक वर्षमा एक करोड ५४ लाख ५६ हजार रुपैयाँ तलब सुविधा बुझेका छन्।

बैंकले आगामी साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार, उनले एक करोड २६ लाख रुपैयाँ तलब मात्र बुझेका छन्। दसैं खर्चबापत १० लाख ५० हजार, संचयकोष योगदानबापत ७ लाख ५६ हजार र अन्य सुविधाबापत १० लाख ५० हजार रुपैयाँ बुझेका छन्। यद्यपि उनले यसबाट ३६ प्रतिशत कर पनि बुझाएका छन्।

बैंकले माथिल्लो ब्यवस्थापनका कर्मचारीहरुलाई एक वर्षमा १५ करोड ३६ लाख ९१ हजार रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ। 

बैंकले गत वर्ष सम्पूर्ण कर्मचारीका लागि ७६ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको छ। यसमा नाफाबाट बाँडिने बोनस जोडिएको छैन। बैंक सञ्चालन खर्चसमेत गर्दा कुल ब्यवस्थापन खर्च एक अर्ब ३९ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

बैंकले पुस २९ गते गरेको साधारणसभाले ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ। 

नेपाल बैंक
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई ४६ लाख ९६ हजार ३०६ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ।

बैंकले गत आर्थिक वर्षको साधारणसभा गर्दै प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृत अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख गरेको छ।

बैंकले कम्पनी सचिब र अन्य ब्यवस्थापन अधिकारीहरुलाई (मुख्य प्रबन्धक तहसम्म) लाई तलब भत्ताबापत ५ करोड १० लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ। 

बैंकको गत वर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ पुगेको थियो। यसबाहेक सञ्चालन खर्च ६६ करोड ८६ लाख रुपैयाँ छ। 

बैंकको वार्षिक साधारणसभाले ४ प्रतिशतका दरले नगद लाभांश र १२ प्रतिशतका दरले बोनस सेयर पारित गरेको छ।

कृषि विकास बैंक
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मासिक २ लाख ५० हजारका दरले तलब भत्ता भुक्तानी गरेको छ। यसबाहेक दसैं खर्चबापत थप २ लाख ५० हजार रुपैयाँ पनि भुक्तानी गरेको छ।

अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय छन्। सञ्चालक समितिले उनलाई औषधि उपचारबापत ५० दिनको तलब थप दिएको छ भने मासिक टेलिफोन, मोबाइल शुल्कबापत २५ हजार पनि उपलब्ध गराउने गरेको छ। यो विवरण बैंकले पुस २९ गते साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

बैंकले उनलाई सञ्चय कोषबापत एक महिनाको तलब सुविधा दिएको छ। उनले तलब, दसैंभत्ता, औषधि उपचार खर्च र सञ्चय कोषबापत एक वर्षमा ३९ लाख १६ हजार रुपैयाँ बुझेका छन्। 

बैंकको गत वर्षको कुल कर्मचारी खर्च ३ अर्ब २ करोड ५४ लाख रुपैयाँ छ। अघिल्लो वर्ष खर्च २ अर्ब ९२ करोड थियो। अन्य सञ्चालन खर्च पनि ८७ करोड ६३ लाखबाट ९४ करोड २१ लाख पुगेको छ।

बैंकको साधारणसभाले १५ प्रतिशत बोनस सेयर पारित गरेको छ। ०.७८ प्रतिशत नगद लाभांश पारित गरेको छ । ननकन्भर्टिभल (अविमोच्य असञ्चिति) अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश पारित गरेको छ।

प्राइम बैंक
प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको तलब एक वर्षमा ७६ लाख रुपैयाँले बढेको छ। 

बैंकले गत पुस २९ गते गरेको साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार उनको तलब सुविधा एक करोड ८५ लाख रुपैयाँ पुगेको उल्लेख छ। अघिल्लो वर्ष उनले एक करोड नौ लाख रुपैयाँ बुझेका थिए।

यसपाली बुझेको तलब सुविधामा नाफाबाट पाउने बोनस जोडिएको छैन। योसमेत जोड्दा उनले वर्षभरीमा सवा दुई करोड रुपैयाँभन्दा बढी बुझेका छन्। उनी बैंक स्थापनादेखि प्रमुख कार्यकारी छन्। एउटै बैंकमा लामो सयमदेखि प्रमुख कार्यकारी हुने अहिले मानन्धर मात्र हुन्।

उनलाई राष्ट्र बैंकले उमेर हद लगाएर हटाउन खोजेको थियो। तर अदालतबाट मुद्दा लडेर उनी फेरि बैंक फर्किएका हुन्। राष्ट्र बैंकविरुद्ध मुद्दा हालेका कारण उनी राष्ट्र बैंकसँग सम्बन्धित कार्यक्रमहरुमा आफू जान छाडेका छन्। आफू मुन्तिरका कर्मचारीलाई पठाउँछन्।

मानन्धरले तलब मात्र ९६ लाख ९० हजार रुपैयाँ बुझेका छन् भने भत्ता ६४ लाख ६० हजार रुपैयाँ बुझेका छन्। उनले दसैं भत्ता १४ लाख रुपैयाँका साथै सञ्चय कोष सुविधा ९ लाख ६९ हजार लिएका छन्। यसबाहेक गाडी, मोबाइल र इन्धनको सुविधा उनलाई छ।

बैंकले गत वर्ष कुल कर्मचारी खर्च एक अर्ब ९ करोड रुपैयाँ गरेको थियो। सञ्चालन खर्च ५३ करोड २५ लाख रुपैयाँ गरेको थियो। बैंकको वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश पारित गरेको छ।

हिमालयन बैंक
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले एक वर्षमा एक करोड ७९ लाख ७७ हजार रुपैयाँ तलब सुविधा बुझेका छन्।

बैंकले साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार, राणाले गत आर्थिक वर्ष तलब ८७ लाख ५५ हजार रुपैयाँ बुझेका छन्। भत्ताबापत ७८ लाख ४ हजार रुपैयाँ बुझेका छन्। यसबाहेक उनल?