माघे संक्रान्तिलाई तरुल स्वदेशी नै छेलोखेलो, कालीमाटी बजारमा आइपुग्यो ट्रकका ट्रक



२०७७ पुष २९ गते १०:५६
माघे संक्रान्तिलाई तरुल स्वदेशी नै छेलोखेलो, कालीमाटी बजारमा आइपुग्यो ट्रकका ट्रक


Tata
GBIME

काठमाडौं। चाडपर्वको बजारमा हालसम्म स्वदेशी उत्पादनमध्ये छेलोखेलो हुनेमा पर्छ तरुल। मकर संक्रान्तिका दिन अघिसम्म तरुल र पिँडालुको जति बिक्री हुन्छ, वर्षमा अरू बेला हुँदैन।

तरुलको बजारमा जति माग हुन्छ, त्यसलाई स्वदेशी उत्पादनले नै धान्ने व्यवसायी बताउँछन्। संक्रान्तिमा अनिवार्य जस्तो गरेर खाइने तरुल कालीमाटी तरकारी बजारमा धमाधम बिक्री भइरहेको छ। उपभोक्ताले स्वदेशीकै स्वाद रोज्छन्, त्यसैले स्वदेशी उत्पादनकै बिक्री उच्च छ।

कालीमाटीमा यसपटकको संक्रान्तिलाई लक्षित तरुल भित्रिएर बिक्रीको अन्तिम चरणमा पुग्न लागेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए।  बिहीबार परेको संक्रान्तिका लागि गत सातादेखि नै बजारमा तरुलको खरिदबिक्री भइरहेको छ। यतिबेलाको बजारलाई माघे बजार पनि भनिने भएकाले भिडभाड बढेको छ।

यस दिनका लागि व्यवसायीहरुले पुसको अन्तिमसम्म तरुल ल्याएर बिक्री गर्छन्। संक्रान्तिका दिन तरुलका बिभिन्न परिकारहरु खाने चलन भएकाले यसको माग बढी हुने गरेको छ। यस दिनका लागि तरुल, चाकु र पालुंगोको साग विशेष मानिन्छ। बजारमा तरुलका साथै पालुंगोको साग किन्ने बढ्छन्। 

यसपटक बजारमा भित्रिएको तरुलमा स्वादेशी उत्पादनको परिमाण धेरै छ। माघ १ गतेलाइ लक्षित गरी लगाइने तरुल सर्लाहीबाट ठूलो मात्रामा उपत्यकामा भित्रिने गरेको छ। 

कालीमाटी तरकारी बजारमा संक्रान्तिका लागि  सर्लाहीबाट ४५ प्रतिशत, सुनसरीबाट १४, धादिङबाट १३, नवलपरासीबाट ४, मकवानपुरबाट ३,  चितवनबाट ४ प्रतिशत र बाकी अन्य जिल्लाबाट आउँछ।  केही मात्रामा भारतबाट पनि तरुल आयात हुने गरेको छ। 

कालिमाटीमा संक्रान्तिका लागि हात्तीपाइले, सेतो, पानी, वन, सिमल, घर, पातले र रातो लगायतका तरुल आउने गरेको छ। भारतबाट तरुल नगन्य मात्रामा आउँछ। यसपटक भारतबाट ४ प्रतिशतमात्र तरुल आयात भइरहेको श्रेष्ठले बताए। मुलुकमै ठूलो परिमाणमा तरुलको उत्पादन सर्लाहीमा हुने गरेको छ। त्यसैले उक्त जिल्लाका किसानले बजारमा पठआउने तरुलको परिमाण उच्च हुन्छ। 

नेपाली बजारमा आयातित भन्दा स्वदेशी तरुलको माग धेरै छ। नेपाली तरुलको स्वाद मिठो भएकाले भारतीय भन्दा महंगो पर्न जान्छ। अन्य तरुलभन्दा हातिपाइले र सेतो तरुल खपत सबैभन्दा बढी हुने गरेको छ। यसको मूल्य पनि अन्य तरुल भन्दा बढी पर्छ। यो ५ केजीको ४ सय देखि ५ सय रुपैयाँ पर्ने व्यवसायीले बताएका छन्। सेतो तरुल प्रतिकेजी ६० रुपैयाँमा पाइने भएकाले बढी बिक्री हुने गरेको छ। संक्रान्तिका लागि पुस अन्तिम दिनसम्म तरुलको व्यापार उच्च हुने गरेको छ।
 

यसपटक तरुल थोकमा प्रतिकेजी ५५ देखि ११० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। तरुल बिभिन्न किसिमका हुने भएकाले मूल्य पनि फरक फरक रहेको कालीमाटी बजारले जनाएको छ। गत वर्ष प्रतिकेजी ५० रुपैया देखि १ सय २ रुपैयाँसम्ममा बिक्री भएको थियो। कालीमाटी बजारमा योपटक मात्र करिब ११ सय १५ टन तरुल आइसकेको छ।

पुस महिनामा मात्र ९ सय  ६३ टन तरुल आएको छ। संक्रान्तिको अघिल्लो दिनसम्म तरुल आउने भएकाले  थप २ सय टनसम्म आउने अनुमान गरेको बताए श्रेष्ठले बताएका छन्। गत वर्ष १५४५ टन तरुल आएको थियो। यो बर्ष पनि यही हाराहारीमा आउने अनुमान छ। गत वर्ष पुस महिनामा मात्रै करिब १३ सय टन भित्रिएको थियो।

 

बल्खु बजारमा माघे संक्रान्तिका लागि पनि दैनिक १ सय ५० टन तरुल आइरहेको बल्खु बजारका व्यवस्थापक रेशम  तामाङले बताए। 'तरुलको व्यापार हुने टाइम भनेकै पुस महिना हो,' उनले भने, 'चैतसम्म नै बजारमा तरुल आउँछ तर माघे संक्रान्तिलाई हुने जति बिक्री अघिपछि हुन्न।'  संक्रान्तिमा तरुलसहित पिँडालु र सख्खर खण्डको पनि बिक्री हुने गरेको छ।