चीनको कारोवार बैकिङ्ग प्रणालीमा गर्न सरकारको सुझाव, भन्सार सुधार गर्न व्यवसायीको आग्रह

बिजमाण्डू
२०६९ माघ ६ गते ००:०० | Jan 19, 2013
चीनको कारोवार बैकिङ्ग प्रणालीमा गर्न सरकारको सुझाव, भन्सार सुधार गर्न व्यवसायीको आग्रह

धुलिखेल । नेपाल र चीनवीचको व्यापारी सहजिकरणको लागि एक कन्टेनर एक सामान अवधारणा ल्याउन व्यवसायीले सिफारिश गरेका छन्, उनीहरुले भाडा दर समायोजन  गर्न र बैंकिङ्ग प्रणाली मार्फत कारोवार गर्न पनि सिफारिश गरेका छन् । धुलिखेलमा सरकारी उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रतिनिधी र व्यवासायी संलग्न नेपाल चीन व्यापार समस्या र समाधान अन्र्तक्रिया कार्यक्रममा

व्यवसायीहरुले भौगोलिक कठिनाई, राजमार्गको जीर्ण अवस्था, विभिन्न स्थानमा स्थापित चेक प्वाईन्ट र भन्सार मूल्यांकन यथार्थ परक नभएको बताएका थिए । मुख्य सचिव लीलामणी पौडेलले चीनसँग दीर्घकालीन आर्थिक सम्वन्ध विस्तार, निर्यात प्रवद्र्धन, व्यापार सहजीकरण र व्यवसायीका समस्या समाधान गर्न सरकारी स्तरमा संयन्त्र निर्माण गर्न वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका थिए ।
मुख्यसचिव पौडलले व्यावसायिक, व्यवस्थित र संस्थागत व्यापार नगरे प्रतिस्पर्धी वन्न नसक्ने वताए । उनले अपारदर्शी व्यवसायका विषयमा सूचना दिन आग्रह गरे, सूचना प्राप्त भए त्यस्तो अपारदर्शी व्यापारलाई सरकारले नियन्त्रण गर्छ उनले भने । गृहसचिव नविन घिमिरेले विभिन्न स्थानमा राखिएको जाँच केन्द्रलाई प्रविधी केन्द्रीत वनाएर सहज र सजिलो वनाउने बताए । चिनीयाँ मुद्राको कारोवारलाई  सहज वनाउन गरेको आग्रहलाई  सरकारले स्वीकार्न नसक्ने भन्दै वैकिङ्ग प्रणालीमार्फत वित्तीय कारोवार गर्न उनले आग्रह गरे । उनले सुख्खा वन्दरगाह निर्माण सम्पन्न गर्न व्यवसायीलाई सहयोगको आग्रह पनि गरे ।
चीन सरकारको सहयोगमा वन्न लागेको वन्दरगाह निर्माणपछि तातोपानी नाकाको मुहार फेरिने तातोपानी भन्सार प्रमुख निर्मलहरि अधिकारीले वताए । साथै उनले एक कन्टेनरमा एक सय पचास प्रकारका सामाग्री ल्याउन नहुने भन्दै व्यवसायीलाई एक कन्टेनरमा एकै सामान ल्याउन सुझाव पनि दिए ।
व्यवासायीहरुले ११४ किलोमिटरको ट्रक भाडा नव्वे हजारभन्दा माथि भएको भन्दै तत्काल यसलाई सुधार गर्न आग्रह गरे । भन्सार विभागका महानिर्देशक मुक्तिनारायण पौडेलले नेपालमा आयातको हिस्सा वढी भैसकेको भन्दै औषधी र पेट्रोलियम पदार्थवाहेक अरु सवै वस्तुको आयात एक वर्षलाई रोक्नु पर्ने धारणा राखे ।
अर्थ मन्त्रामलयका निमित्त सचिव राजन खनालले ड्राफ्ट र ट्राभल चेकको आधारमा आयात गरिएको वस्तुको भुक्तानी गर्ने प्रवृत्तिका कारण देशको शोधनान्तर वचतमा असर परेको बताए । उनले बैंकिङ्ग प्रणालीको एलसीबाट कारोवार गरे व्यवसाय पारदर्शी हुने र त्यसकै आधारमा भन्सारको मूल्यांकन गर्न समेत सहज हने बताए । व्यवसायीहरुले भारतवाट आउने सामानको १० प्रतिशत भन्सार मूल्यांकन गर्ने तर चीनवाट आउने सामानको १५ प्रतिशत भएको भन्दै गुनासो गरेका थिए । भन्सारको भौतिक पूर्वाधारमा समस्या भएकाले सामानहरुको चोरी हुने कन्टेनर पार्किङ्ग स्थलको अभाव र १० किलोमिटर सम्म ट्राफिक जाम हुने भएकाले तीन चार घण्टा सम्म पालो नआउने प्रवृत्ति विद्यमान रहेको भन्दै  त्यसमा सुधारको खाँचो औल्याए ।
अहिले ११० किलोमिटरमा १८ वटा चेकप्वाईन्टलाई पाँचवटामा झानुपर्ने र चेकजाँचमा संलग्न प्रहरीको व्यवहार मिजासिलो बनाउनुपर्ने माग उनीहरुले गरेका थिए । पछिल्लो समयमा तातोपानी नाकावाट सुनको अवैध कारोवार, विभिन्न वन्यजन्तुको अंग ओसार पसार, अवैध मुद्राको कारोवार र रक्त चन्दनको ओसार पसार हुने गरेको भन्दै सरकारले उक्त नाकामा विशेष निगरानी वढाएको छ ।

Tata
GBIME
NLIC