‘क्यूआर कोड’ विद्युतीय भुक्तानीको गेमचेन्जर, तरकारीदेखि चिया पसलसम्म झुन्डिँदै क्यूआर कोड






काठमाडौं। स्मार्टफोन र इन्टरनेट भए अब खल्तीमा पैसा बोकेर हिड्नु पर्ने बाध्यता हटेको छ। एटीएम बुथ धाएर पैसा नगदै झिक्नुपर्ने झन्झट विस्तारै प्राथमिकतामा पर्न छाडेको छ।

यदि तपाईंसँग बैंक खाता र त्यसमा ब्यालेन्स छ भने स्मार्टफोन, मोबाइल बैंकिङ एप र इन्टरनेटको सहायताले भुक्तानी गर्न सक्ने प्रविधि विकास भएको छ। अहिले मानिसहरु खल्तीमा नभएर स्मार्टफोनमै पैसा बोकेर हिँडिरहेको आभास हुन्छ। अचेल कुनै सपिङ मल, सिनेमा घर, होटल, रेष्टुराँ, खुद्रा पसल आदिबाट सामान वा सेवा खरिद गर्दा उपभोक्ताहरुले पैसा तिर्ने बेला सोध्ने साझा प्रश्न बनेको छ- 'क्यूआर कोड छैन?'

कोरोनाको संक्रमण नोटबाट पनि सर्ने जोखिम भएकाले सरकारसँगै वाणिज्य बैंकहरुले विद्युतीय भुक्तानीमा जोड दिइरहेका छन्। यस्तै, पछिल्लो पटक ठूलो बजार, मल, व्यापारिक क्षेत्रहरुमा क्यूआर कोड राखिने क्रम बढ्दो छ। व्यक्तिगत लेनदेन, पसलदेखि साना लगानीका व्यापार व्यवसायमा क्यूआर कोडबाटै भुक्तानी गर्ने क्रम विस्तारै बढिरहेको छ। 

TaTa
Sunrise Bank
TVS

कुनै समय निकै लोकप्रिय बनेको पोइन्ट अन सेल (पीओएस) भुक्तानी अहिले बिस्तारै फेजआउट हुँदै गएको देखिन्छ। पीओएस मेसिनमा उपभोक्ताले आफ्नो एटीएम कार्ड स्वाइप गरेर भुक्तानी गर्छन्। ग्लोबल आइएमइ बैंकसँगै अन्य बैंकहरुले आफूले यसअघि कुनै पसल वा अन्य कारोबारस्थलमा राखेका पीओएस मेसिन फिर्ता लगेर क्यूआर कोड स्ट्यान्ड राख्ने क्रम पनि बढ्दै गएको छ।

सर्भरमा आउने समस्या, केबल इन्टरनेट नहुँदा पीओएस मेसिन प्रयोग गर्न नसकिने हुँदा झन्झटिलो मानिन्छ। तर, क्यूआर कोड प्रयोग गर्न हार्ड अथवा सफ्ट कपीमा देखिने क्यूआर कोडसँगै वाइफाइ वा मोबाइल डेटा भए प्रयोग गर्न सजिलै सकिन्छ। 

गत शुक्रबार नेपालमै पहिलोपटक नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी तथा फलफूल बजार समितिले नक्साल तरकारी बजारमा नगद कारोबारलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने सेवाको आरम्भ गरेको छ। अब उपभोक्ताहरुले उक्त बजारमा नगद बिनै तरकारी तथा फलफुल खरिद गर्न सक्ने भएका छन्। उक्त कार्यक्रममा गभर्नरसहित राष्ट्र बैंकका कार्यकारी निर्देशकदेखि अन्य पदाधिकारीको उपस्थिति थियो।



राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडबाट भुक्तानी गर्दै तरकारी खरिद गरी सेवाको उद्घाटन गरेका थिए। लगत्तै उनले नजिकैको चिया पसलमा खाएको चियाको बिल पनि क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नुले राष्ट्र बैंक नगदरहित कारोबारमा दृढ रहेको देखाउँछ। उक्त कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय मासिक ३० प्रतिशतका दरले क्यूआर कोड बढ्दै गएको भन्दै व्यक्तिगत रूपमा चलिरहेका तरकारी एवम् साना लगानीका पसलहरुमा क्यूआर कोडबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरिनुपर्ने बताएका थिए। 

'क्यूआर कोडलगायत प्रविधिको फाइदा पैसा नचलाउने विषयमा मात्रै सीमित छैन। यो विषय राज्यको सुशासनसँग पनि गाँसिएको छ, व्यक्तिहरुको आचरणसँग गाँसिएको छ। अब अभियानकै रूपमा क्यूआर कोड देशभरी लैजानुपर्छ,' अधिकारीले भनेका थिए। क्यूआर कोडको लोकप्रियता र कन्भिनियन्सका कारण नेपालको विद्युतीय भुक्तानी विकासमा यो गेम चेन्जर हुने देखिन्छ।  

यस्तै, काठमाडौं नयाँ बानेश्वरमा रहेको सेकेन्ड होम रेष्टुरेन्टका सञ्चालक दीलिप धिमालले करिब डेढ वर्षअघि व्यवसाय सुरु गरे। सुरुमा बिल भुक्तानीका लागि उनले पीओएस मेसिन राखे। पीओएस मेसिन राखेवापत् हरेक स्वापमा धिमालले निश्चित प्रतिशत शुल्क बैंकलाई बुझाउनु पर्ने बाध्यता थियो। तर, उनले एक वर्ष अघि रेष्टुरेन्टको बिल भुक्तानीका लागि क्यूआर कोड राखे। कुनै शुल्क बैंक वा मर्चेन्टलाई नतिरी सिधै आफ्नो बैंक खातामा उपभोक्ताले तिरेको रकम जम्मा हुने भएपछि ग्राहकसँगै आफूलाई पनि सहज भएको उनले बिजमाण्डूलाई सुनाए। 

कसरी गर्ने क्यूआर कोडबाट भुक्तानी?
क्यूआर कोड भुक्तानीका लागि तपाईंको बैंक खातासँगै मोबाइल बैंकिङ एप हुनु जरुरी हुन्छ वा इसेवा, खल्ती, आइएमइ पेलगायतका वालेटबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ। मोबाइल बैंकिङ एप भित्रै कुनै मर्चेन्ट जस्तै फोन पे, युनियन पे इत्यादिको फिचर लिंक भएको हुन्छ। 

अब तपाईंले कुनै पनि सामान वा सेवा खरिद गर्ने स्थानमा क्यूआर कोड स्ट्यान्ड भए/नभएको यकिन गर्नुपर्छ। यदि क्यूआर कोड स्ट्यान्ड छ भने तपाईंले आफ्नो मोबाइल बैंकिङ एप खोली उक्त क्यूआरकोड स्क्यान गरी तिर्नुपर्ने रकम र रिमार्क्स् लेखेर भुक्तानी गर्न सक्ने सुविधा हुन्छ। जसका लागि तपाईं इन्टरनेटको पहुँचमा हुनु अनिवार्य छ।

यस्तै, इसेवा र खल्तीलगायतका वालेटमा पनि लिंक भएका मर्चेन्टबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ। उक्त क्यूआर कोडमा व्यक्ति वा संस्थाको नाम, खाता भएको बैंकको नाम र खाता नम्बर हुन्छ। 

नेपाल राष्ट्र बैंकले २०७६ पुस १७ गते जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७६ लाई चैत ९ गते संशोधन गरेको थियो। जसअनुसार राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट उपभोक्ताहरुले प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने सीमा तोकेको छ। 

विद्युतीय भुक्तानीमा फोनपेले ल्याएको क्रान्ति 
अहिलेको क्यूआर कोड भुक्तानीमा सबैभन्दा ठूलो भूमिका एफवानसफ्ट इन्टरनेसनल प्रालिको फोन पेको छ। एफवान सफ्टले सन् २००९ मा इसेवा र २०१२ मा फोनपे सेवा सुरु गरेको थियो।

इसेवा सुरु गर्दाको समयमा नेपालमा इन्टरनेट र स्मार्टफोन प्रयोगकर्ताको संख्या निकै कम थियो। त्यो समयमा कसरी धेरै मान्छेहरुमा पुग्ने भन्ने सोच रहेको एफवानसफ्टका निर्देशक सुवास शर्माले जानकारी दिए। २०१० मा एमएमएसबाट मोबाइल फोन रिचार्जलगायतका भुक्तानी एसएमएसबाट सुरु गरेको उनले बताए। 

केन्या र बंगलादेश लगायतका मुलुकहरुमा मोबाइलबाटै मान्छेहरुले पैसा तिर्छन् भन्ने समाचार सुन्ने गरिएको उनको अनुभव छ। टेलिकमले त्यस समयमा अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (युएसएसडी) नदिएपछि एफवानसफ्टले एसएमएसबाटै अन्य भुक्तानी गर्न मिल्ने सेवा सुरु गरेको थियो। यही सेवा पछि कम्पनीले फोनपे नाम दिएको शर्माले बताए। त्यो समयमा धेरै प्रयोगकर्ताहरुलाई एसएमएस लेख्न अप्ठ्यारो हुनेदेखि प्रक्रिया नै झन्झटिलो थियो।

'प्रविधि भए पनि चलाउने जनशक्तिदेखि सिकाउने स्रोतसाधन पनि थिएन। तर, सन् २०१३/२०१४ पछि स्मार्टफोनको आयातसँगै इन्टरनेट प्रयोग बढ्दै गयो। त्यसपछि एसएमएस मोडलमा रहेको फोनपेलाई मोबाइल पेमेन्ट र क्यूआर कोडमा रुपान्तरण गर्‍यौं,' शर्माले भने। फोनपे एक नेटवर्कका रूपमा विस्तार भइरहेको छ।

फोनपेमा अहिलेसम्म ५७ वटा कम्पनीहरु आबद्ध भएका छन्। अहिलेसम्म फोनपेमा ५४ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेको कम्पनीले जनाएको छ। इसेवा र सेलपे दुवै वालेट फोनपेमा जोडिएका छन्। यस्तै, चिनियाँ बैंकिङ कम्पनी युनियन पे पनि फोनपेमा लिंक भएको कम्पनीले जनाएको छ। स्ट्यान्डर्ड चाटर्ड, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबाहेक अन्य सबै वाणिज्य बैंक फोनपेमा जोडिएका छन्।

यस्तै, एक लाख ७० हजारभन्दा बढी 'मर्चेन्डिज' अर्थात् होटल, पसल, रेष्टुरेन्ट, सिनेमा घर इत्यादिमा फोनपेको क्यूआर कोड स्ट्यान्ड राखिएको कम्पनीले जनाएको छ। क्यूआर कोड प्रयोग गर्ने मर्चेन्डिजदेखि एप प्रयोगकर्ताको ग्राफ उकालो लाग्दै गएकाले नगदरहित कारोबार बढ्दै जाने कम्पनीले जनाएको छ।

एफवानसफ्टले सञ्चालन गरिरहेको फोनपेले नै उपभोक्ता, बैंक र मर्चेन्टबीच पुलको काम गरिरहेको छ। नेपाल राष्ट्र बैंकले फोनपेलाई पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) को अनुमति दिएको छ। फोनपेको यही क्यूआर कोड उपभोक्ताहरुले आफ्नो स्मार्टफोनले स्क्यान गरेर भुक्तानी गर्न सक्छन्।  

बैंक खाता नभएका व्यक्तिको पहुँच यसमा नहुने भएकाले क्यूआर कोड भुक्तानी जोखिमयुक्त नभएको कम्पनीको दाबी छ। पठाउने र पाउने दुवै व्यक्ति वा संस्थाले क्यूआर कोडमार्फत् इजाजत प्राप्त वित्तीय संस्थामै कारोबार गर्ने भएकाले सुरक्षित मानिन्छ।

क्यूआरमा आधारित भुक्तानीको विवरण
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्यांक हेर्दा क्यूआर कोडबाट हुने भुक्तानी संख्या र रकम केही घटेको देखिन्छ। सरकारले कोरोना महामारी नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाले घटाएको क्यूआर कोड भुक्तानी सहज भएपछि भने बढ्न थालेको देखिन्छ। 

गत अगस्ट मध्यसम्म क्यूआरबाट हुने भुक्तानी ५८ करोड ९० लाख रुपैयाँ थियो। सेप्टेम्बर आइपुग्दा भुक्तानी रकम बढेर ६४ करोड ८० लाख रुपैयाँ पुगेको तथ्यांक राष्ट्र बैंकको छ। अक्टोबर मध्यसम्ममा भने क्यूआर कोडबाट हुने भुक्तानी ३२ करोड १० लाख रुपैयाँले बढेर ९६ करोड ९० लाख रुपैयाँ पुगेको देखिन्छ। नोभेम्बर मध्यसम्ममा आइपुग्दा भने भुक्तानी रकममा गिरावट आएर ९३ करोड ९० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, भुक्तानी संख्यामा पनि पछिल्लो एक महिना गिरावट आए पनि बढ्दै गएको देखिन्छ। अगस्ट मध्यमा एक लाख ९५ हजार १६ भुक्तानी भएकोमा सेप्टेम्बरमा घटेर एक लाख ७९ हजार एक सय ५० पुगेको राष्ट्र बैंकले जनाएको छ। तर, अक्टोबर मध्यमा आउँदा भुक्तानी संख्या झण्डै ८६ हजारले बढेर दुई लाख ६५ हजार एक सय २५ पुगेको देखिन्छ। नोभेम्बर मध्यमा २३ हजारभन्दा बढीले घटेर भुक्तानी संख्या दुई लाख ४१ हजार आठ सय १८ पुगेको तथ्यांक राष्ट्र बैंकको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell