आईक्यान परिषद्‍मा पेश भएको प्रतिवेदनमा नेपाल सीए संघको आपत्ति, आन्दोलन गर्ने चेतावनी

बिजमाण्डू
२०७७ मंसिर १९ गते ११:०५ | Dec 4, 2020
आईक्यान परिषद्‍मा पेश भएको प्रतिवेदनमा नेपाल सीए संघको आपत्ति, आन्दोलन गर्ने चेतावनी


काठमाडौं। नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को परिषद्ले गठन गरेको रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले परिषद्‍मा पेश गरेको प्रतिवेदन प्रति नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले असहमति प्रकट गरेको छ। 

Tata
GBIME

स्तरोन्नतिको नाममा अवैज्ञानिक ढंगले चार्टड एकाउन्टेन्टहरुको गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता तथा समग्रमा लेखा व्यवसायीको सामाजिक प्रतिष्ठालाई क्षति पुग्ने भन्दै विशेष छुट दिने गरी परिषद्‍मा प्रस्तुत विचाराधीन विषयहरु खारेज गर्नुपर्ने माग संघको छ। 

चार्टर्ड एकाउन्टेन्सी शिक्षाका अन्तर्राष्ट्रिय मापदण्ड, प्रणाली र परम्पराको खिलाफ हुने गरी प्रतिवेदनमा प्रस्ताव भएका विषयवस्तुमा संघले चार्टर्ड एकाउन्टेन्ट्सी शिक्षाका सरोकारवालाहरुसँग छलफल गरिरहेको पनि जनाएको छ।

सीए शिक्षालाई सहज र छोटो बाटो अपनाई उत्पादित हुने जनशक्तिले समग्र क्षेत्रको हित नगर्ने भन्दै संघले असन्तुष्टि जनाएको छ। 

सरोकारवालाहरु, सरकारी निकायका पेशा सम्बन्ध विशिष्ट व्यक्तिहरु, सीए अध्ययनरत विद्यार्थीहरु लगायतका धारणा बमोजिम चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको उपाधि प्राप्त गर्न विद्यमान कायम भएका ब्यवस्थाभन्दा कुनै पनि किसिमको थप छुट दिन नहुनेमा संघले जोड दिएको छ। 

रजिष्टर्ड अडिटर्सहरुको क्षमता अभिवृद्धिमा संघको कुनै आपत्ति नरहेको भन्दै मागको सुनुवाइ नभए कडा संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी संघले दिएको छ। साथै,लेखा व्यवसायमा दूरगामी असर पार्ने नीतिगत निर्णय गर्दा, सरोकारवालाहरुसंग आवश्यक छलफल तथा सल्लाह गर्न संघले आग्रह गरेको संस्थाका महासचिव तेजप्रसाद सुबेदीले बताए।