इन्टरनेटको लाइनमा ‘ट्राफिक पेनिट्रेसन’ नियन्त्रण गर्न आइएसपी दिन्छन् आफ्नै राउटर

उन्नत सापकोटा/बिजमाण्डू
२०७७ मंसिर ६ गते ०९:४६ | Nov 21, 2020
इन्टरनेटको लाइनमा ‘ट्राफिक पेनिट्रेसन’ नियन्त्रण गर्न आइएसपी दिन्छन् आफ्नै राउटर


Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुले उपभोक्तालाई आफूले तोकेकै मूल्य र रिफन्डेबल डिपोजिटमा प्राइमरी राउटर उपलब्ध गराउँदै आएका छन्।

सेवा प्रदायकले भनेकै राउटर जोड्नु पर्दा केही महँगो पर्नुका साथै इन्टरनेटको गति नै कम भएको हो कि भन्ने शंका उपभोक्ताहरुले गर्ने गरेका छन्।उपभोक्ताहरुले आफूखुशी प्राइमरी राउटर प्रयोग गर्न नपाउँदा आइएसपीहरुले सिन्डिकेट लादेको गुनासो गर्ने गरेका छन्। यो यथार्थ पनि हो। आफूखुशी ग्राहकले राउटर राखे इन्टरनेटको अपलोड र डाउनलोडको गति नियन्त्रण आइएसपीहरूका लागि असहज हुन्छ। गति नियन्त्रणका लागि पनि उनीहरू आफैंले बल्कमा ल्याएका राउटर सुविधाका निहुँका ग्राहकलाई भिडाउँछन्। 

उपभोक्ताहरुले आफैंले किनेर वा आफूसँगै भएको राउटरलाई प्रयोग गर्न दिएन भन्नु बुझाइको कमी भएको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीको भनाइ छ। आइएसपीहरुले ल्याउने राउटर र उपभोक्ताले बजारबाट खरिद गर्ने राउटरमा फरक रहेको दाबी उनको छ। आइएसपीहरुले आयात गर्ने राउटर इन्टरनेशनल स्ट्यान्डर्डका साथै इन्टिग्रेटेड हुने भए पनि बजारबाट उपभोक्ताहरुले खरिद गर्ने विभिन्न कम्पनीका राउटरमा ती गुणस्तर नहुने उनको दाबी छ। 

कम्पनीले दिने राउटरबाहेक ग्राहकसँग भएको राउटर शक्तिशाली (पावरफुल) भएर वरीपरीको इन्टरनेट ट्राफिक र गतिलाई नै असर पर्ने भएकाले धेरै देशहरुमा आइएसपीकै राउटरलाई प्राइमरी राखिने चलन रहेको पराजुलीले जानकारी दिए। यूरोपेली देशहरुमा पावरफुल राउटरको आयातमै रोक लगाइएको उनको जिकिर छ। 

इन्टरनेट ट्राफिक पेनिट्रेसनलाई नियन्त्रण गर्ने उद्देश्यले नै आइएसपीहरुले आफ्नै राउटर जडान गर्ने गरेको सेवा प्रदायकहरुको भनाइ छ। तर, आयात भएका राउटरले गुणस्तरीय र प्रभावकारी सेवा दिइरहेका छन् भन्नेमा शंका गर्नुपर्ने प्रशस्त कारणहरु छन्। खरिद गरेको प्याकेज अनुसार इन्टरनेट नचल्ने, सेवा प्रदायकले जोडिदिएको राउटरले चाहिए जति पहुँच नपुग्ने इत्यादि समस्या उपभोक्ताले बारम्बार गर्ने गरेका छन्। आइएसपीहरुले प्राइमरी राउटरका लागि हुवावे, नोकिया, नोकिया फाइभ जी (डुवल ब्राण्ड), रेजकमलगायतका कम्पनीको उत्पादन प्रयोग गर्दै आएका छन्। 

आइएसपीहरुले इन्टरनेटको लाइन लिने आफ्ना ग्राहकहरुलाई आफूले स्पिड नियन्त्रण गर्न मिल्ने प्रविधिअनुसारको उपकरणहरु जडान गर्ने गरेका छन्। उपभोक्ताहरुले वायरलेस (छतमा छाता राखेर), केबल र फाइबर इन्टरनेटमा फरफ फरक कस्टमर प्रिमाइसेस इक्युपमेन्ट (सीपीई) मार्फत् इन्टरनेट सेवा दिइरहेका छन्। 

पछिल्लो समय केबल इन्टरनेटबाट फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट उपभोग गर्नेको संख्या बढ्दै गएको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआइएस प्रतिवेदनअनुसार गत भदौसम्म फाइबर इन्टरनेट प्रयोगकर्ता नौ लाख ६१ हजार ४ सय ८१ पुगेका छन्।

यस्तै, केबल इन्टरनेट चलाउने दुई लाख २६ हजार र वायरलेस इन्टरनेट प्रयोगकर्ता ४६ हजार सात सय पुगेको प्राधिकरणले जनाएको छ। 
एफटीटीएच प्रविधिमा आइएसपीहरुले अप्टिकल नेटवर्क युनिट (ओएनयू) मा इन्टिग्रेटेड वाइफाइ राउटरमार्फत् उपभोक्ताहरुको घर तथा कार्यालयहरुमा इन्टरनेट पुर्‍याइरहेका छन्। अप्टिकल फाइबरबाट आउने इन्टरनेटलाई वाइफाइ राउटरले इलेक्ट्रिकल सिग्नलमा परिणत गर्छ। आइएसपीहरुले दिने इन्टरनेट सोही इलेक्ट्रिकल सिग्नलमार्फत् प्रयोगकर्ताको डिभाइसमा कनेक्ट हुने गर्छ।

यी कारणले इन्टरनेट हुन सक्छ स्लो
आइएसपीहरुले दिने राउटरको रेन्ज घरमा एकदेखि दुई तलासम्म मात्रै धान्ने प्रयोगकर्ताहरुको भनाइ छ। धेरैजसो घरेलु ग्राहकहरू एक जनाले लाइन लिएर घरमा भए जति सबैले चलाउने गरेका हुन्छन्।

एउटा तलामा राखेको राउटरको नेटवर्कको रेञ्ज पूरा घरमा नटिप्दा ग्राहक हैरान भएका हुन्छन्। घरका गाह्रोहरु मोटो भएमा, फ्रिक्वेन्सी क्राउडिङ र राउटरलाई सही तरिकाले नराख्दा इन्टरनेटको सिग्नल नटिप्ने र स्लो चल्ने समस्या हुने गरेको पराजुलीको भनाइ छ। 

एकै स्थानमा धेरै राउटरहरुको सिग्नल भएमा फ्रिक्वेन्सी क्राउडिङको समस्या निम्तिने उनले बताए। 'एकै स्थानमा धेरै राउटरहरु क्रियाशील भएमा फ्रिक्वेन्सी जुध्ने सम्भावना बढी हुन्छ, जसले इन्टरनेटमा समस्या ल्याउँछ,' पराजुलीले भने। तर, आइएसपीहरुले दिने राउटरमा फ्रिक्वेन्सी क्राउन्डिङले कुनै प्रभाव नपार्ने उनको दाबी छ। 

उपभोक्ताले ल्याउने सेकेन्डरी राउटरहरुले एक अर्कालाई इन्फ्ल्यूएन्स गर्ने भएकाले समस्या आउने उनले अनुभव सुनाए। यस्ता राउटरको मूल्य पाँच हजार रुपैयाँ पर्ने उनले बताए। त्यसैगरी, राउटर सेटअप गरिएको स्थानले पनि इन्टरनेटको पर्फर्मेन्समा असर गर्छ। भित्ता वा सिलिङमा झुन्ड्याउने, झ्यालमा सिउरिने गरी राउटर सेटअप नगर्न आइएसपीहरुले आग्रह गरेका छन्। राउटर भुँइमा वा मान्छेले मोबाइल बोक्ने उचाईसम्म सेटअप गर्दा समस्या नदेखिने पराजुलीको भनाइ छ। आइएसपीहरुले विदेशबाट आयात गरेका प्राइमरी राउटरको क्षमता सामान्यतया दुई सय मिलिवाटको हुने पराजुलीले जानकारी दिए। आइएसपीहरुले दिने राउटरले यत्ति नै रेन्जसम्म चल्छ भन्न व्यवहारिक कठिनाइ रहेको सेवा प्रदायकहरुको राय छ। 

विकल्प सेकेन्डरी राउटर
राउटरको क्षमताभन्दा बाहिर इन्टरनेटको पहुँच पुर्‍याउन सेकेन्डरी राउटर वा वायरलेस रिपिटर जोड्नुको विकल्प नभएको सेवा प्रदायकहरुको भनाइ छ। सस्तो मूल्य भन्दा २५ सय रुपैयाँभन्दा बढी मूल्यका गुणस्तरीय सेकेन्डरी राउटर खरिद गरे इन्टरनेटमा आउने धेरै समस्या समाधान हुने पराजुलीको दाबी छ।

सेकेन्डरी राउटर उपभोक्ताहरुले सहजै बजारमा पाउन सक्छन्। सेकेन्डरी राउटरका रूपमा आइएसपी हेरी एडीएसएल वा डीएसएल प्रविधिको राउटर प्रयोग गर्न सकिन्छ। सेकेन्डरी राउटरका लागि टीपीलिंक, प्रोलिंक, नेटिस, टेन्डा, डिजिकमलगायतका कम्पनीहरुको राउटर प्रयोग हुँदै आएका छन्। आफूहरुले बल्कमा राउटर आयात गर्ने भएकाले उपभोक्ताहरुसँग रेन्टल मूल्य मात्रै उठाएर राउटर उपलब्ध गराइरहेको आइएसपीहरु दाबी गर्छन्।

आइएसपीले ग्राहकालाई उपलब्ध गराउने राउटरका अप्सनहरू आफ्ना कन्ट्रोल रूमबाटै नियन्त्रण गर्न सक्छन्। राउटरबाट नेटवर्किङ गरेर डेस्कटप कप्युटरमा गएको लाइनले गरिरहेको ब्यान्डविथ खपत र वाइफाइको अप्सनका युजर संख्या र नेटको स्पीड नियन्त्रण आइएसपीका सपोर्ट प्राविधिकले बराबर हेरिरहेका हुन्छन्। 

कति आयात भयो राउटर ?
चालु आवको पहिलो त्रैमासमा नेपालमा ५३ करोड २३ लाख ५८ हजार रुपैयाँ बराबरको एक लाख ९३ हजार चार सय ४८ थान राउटर आयात भएको छ। नेपाल भित्रिने राउटरको ठूलो हिस्सा चीनबाट आयात भइरहेको छ। चालू आवको पहिलो तीन महिना चीनबाट ५१ करोड ६६ लाख ६२ हजार मूल्यका एक लाख ९० हजारभन्दा बढी राउटर आयात भएको छ। 

भारत, ताइवान, यमन, मेक्सिको, स्वीडेन, अमेरिका, थाइल्याण्डलगायतका देशबाट पनि राउटर आयात भइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ। गत आवमा २२ करोड ९७ लाख ७७ हजार रुपैयाँ बराबरको एक लाख १५ हजार तीन सय ७४ थान नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। 

कुन आइएसपीको कति छ रेन्टल मूल्य ?
आइएसपीहरुले फाइबर राउटरको रेन्टल मूल्य उपभोक्ताले खरिद गर्ने इन्टरनेट प्याकेजअनुसार तय गरेका छन्। उपभोक्ताहरुले खरिद गर्ने प्याकेज जस्तै एक, तीन, ६ र १२ महिने अवधिलाई आधार मानेर आइएसपीहरुले राउटरको रेन्टल मूल्य निर्धारण गरेका छन्।

 आइएसपीहरुले राउटरको रेन्टल मूल्य न्यूनतम पाँच सयदेखि अधिकतम २५ सय रुपैयाँसम्म तोकेका छन्। वर्ल्डलिंकले राउटर रेन्टलको १२ महिनाको एक हजार, तीन महिनाको दुई हजार र एक महिनाको २५ सय रुपैयाँ तोकेको छ। भायनेट र सुबिसुले सबै प्याकेजका ग्राहकलाई राउटर रेन्टलको मूल्य पाँच सय रुपैयाँ तोकेको छ। 

यस्तै, क्लासिक टेकले वाइफाइ फाइबर राउटरको रेन्टल मूल्य एक हजारदेखि २५ सय रुपैयाँ  तोकेको छ। कम्पनीले एक र तीन महिनाको इन्टरनेट प्याकेज खरिदकर्ताले २५ सय रुपैयाँ, छ महिनाको दुई हजार रुपैयाँ र १२ महिनाको एक हजार रुपैयाँ रेन्टल मूल्य तोकेको जनाएको छ। कन्डिसन ठीक भए मात्रै आइएसपीहरुले राउटर लिएर रेन्टल डिपोजिटवापतको रकम फिर्ता गर्ने गरेका छन्।