काठमाडौं । नेपालमा नुन व्यापारमा एकाधिकार रहेको सरकारी व्यापार कम्पनी साल्ट ट्रेडिङको सेयर मूल्य पछिल्लो एक वर्षमा झन्डै ६ हजार रुपैयाँले बढेको छ ।
कागज, चिनी, ग्यास, मल र खाद्यान्नसमेतको व्यापार गर्दै आएको साल्ट ट्रेडिङ कम्पनी (एसटीसी) मा करिब २२ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ भने बाँकी ७८ प्रतिशत सरकारको ।
दोस्रो बजारमा कारोबारका लागि साढे १५ लाखभन्दा कम कित्ता सूचीकृत यस कम्पनीको सेयर मूल्य ठिक एक वर्षअघि प्रतिकित्ता नौ सय रुपैयाँको हाराहारी थियो । तिहारपछिको पहिलो कारोबार दिन मंसिर ३ मा एक घन्टा नबित्दै यो ६ हजार ५८७ रुपैयाँ पुग्यो ।
झन्डै १० प्रतिशतले मूल्य बढेपछि सर्किट लागेर किनबेच रोकिएको पौने एक घन्टापछि २ प्रतिशतले मूल्य घटाएर बिक्री गर्ने गरी प्रणालीमा सेयर सूचीकृत भएसँगै पुनः कारोबार शुरु हुँदा ६ हजार पाँच सय पाँच रुपैयाँसम्म यो झर्यो ।
उक्त मूल्य नै पनि एसटीसीको ऐतिहासिक उच्च थियो । तर सोपछि पुनः उकालो लाग्दै फेरि समग्रमा अघिल्लो कारोबार दिनको तुलनामा ९.९८ प्रतिशतले बढेर एसटीसीको सेयर मूल्य ६ हजार ५८७ रुपैयाँमै पुगेपछि रोकिएको छ ।
तिहारअघिका पनि लगातार थुप्रै दिन पूरा कारोबार समय किनबेच नहुँदै औसत तीन घण्टाको कारोबार अवधिमै सकारात्मक सर्किट लाग्दै आएको एसटीसीको सेयर बुधबार पनि साढे दुई घन्टापछि कारोबार बन्द भयो ।
पछिल्लो समय एकाएक कम्पनीको सेयर मूल्यमा दिनहुँजसो नै सकारात्मक सकिर्ट लाग्दै आएको छ । तिहारअघिको कारोबार बन्द हुनु एक दिनअघि (कात्तिक २६) बुधबार पनि सर्किट लागेर पाँच हजार चार सय ४५ रुपैयाँ कायम भएको कम्पनीको मूल्य त्यसको भोलिपल्ट (कात्तिक २७ मा) पनि १० प्रतिशतको सर्किट लागेर पाँच हजार नौ सय ८९ रुपैयाँ पुगेको थियो ।
यसको मूल्य अघिल्लो वर्ष ठीक त्यही दिन मात्र आठ सय ५८ रुपैयाँ थियो । यसअनुसार पछिल्लो एक वर्षमा यसको सेयर मूल्य एक कित्तामै पाँच हजार सात सय २९ रुपैयाँले बढिसकेको छ ।
अझ यसको ५२ हप्ताको न्यूनतम मूल्य प्रतिकित्ता आठ सय १० रुपैयाँ मात्र थियो । तर ६ महिनायताको मूल्य प्रवृत्तिले भने यस अवधिमा यसको भारित औसत मूल्य तीन हजार तीन सय ५५ रुपैयाँ पुगिसकेको छ ।
पछिल्लो एक वर्षयता बढ्दो क्रममै भए पनि गत साउन २७ सम्म उतारचढावपूर्ण देखिएको यस कम्पनीको सेयर साउन २८ यता भने लगातार तीव्र गतिमा उकालो लाग्न थालेको हो । उक्त मितिमा प्रतिकित्ता दुई हजार ६ सय ५६ रुपैयाँ रहेको एसटीसीको मूल्य साढे ६ हजार रुपैयाँ नाघिसक्दा पनि यो कहाँ पुगेर थामिन्छ भन्ने संकेत देखिँदैन ।
किनकि यसको सेयर मूल्य यसरी रफ्तारमा बढ्नुका ठोस कारण कम्पनीका वित्तीय आधारहरुले प्रष्ट पुष्टि नगरेको सेयर बजारका जानकारहरुको भनाइ छ । यद्यपि, एसटीसीको सेयरले यहि चाल कायम रहे १० हजार रुपैयाँ नाघ्ने हो किन भन्ने आकलन पनि पातलो रुपमा हुन थालेको छ ।
यो अनुमानको आधार – पछिल्लो एक हप्तामै यसको सेयर मूल्य ५४ प्रतिशतले बढिसकेको छ । यस्तै पछिल्लो एक महिना (चार हप्ता) मा ७३.५ प्रतिशतले बढेको एसटीसीको सेयर मूल्य करीब तीन महिना (१२ हप्ता) को अवधिमा ११७ प्रतिशतले उकालो लागिसकेको छ । पछिल्लो एक वर्षयता भने यसको मूल्यले ६५३ प्रतिशतको छलाङ मारिसकेको छ ।
पब्लिकसँग सीमित परिमाणमा मात्र सेयर रहेको साल्ट ट्रेडिङको किनबेचका लागि नेप्सेमा फ्लोट हुने सेयर संख्या असाध्यै न्यून छ । पछिल्लो एक महिनाका कारोबारहरुलाई हेर्दा औसतमा हरेक कारोबार दिनमा एसटीसीको मात्र १२५७ कित्ता सेयर किनबेच भएको देखिन्छ ।
साथै, दोस्रो बजारमा न्यून आपूर्ति रहेको यसको सेयर पछिल्लो एक महिनाको प्रवृत्ति हेर्दा बिक्रीका लागि प्रणालीमा राख्नेबित्तिकै किनिएको समेत देखिएको छ । कम्पनीको सेयर माग गर्नेहरुको रहे पनि बिक्री गर्नेहरु भने न्यून छन् । बुधबार पनि एकपटकमा बढीमा ३६० कित्तासम्म मात्र यसको सेयर कारोबार भएको छ ।
यी आधारमा यो कम्पनीको सेयर सीमित समूहभित्र उच्च माग वा किनबेच भइरहेको अनुमान गर्न सकिन्छ ।
किन रफ्तारमा बढिरहेको छ मूल्य ?
कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेदेखि नै सेयरधनी रहेका लगानीकर्ता डमरुबल्लभ घिमिरेका अनुसार सर्वसाधारणमा कम्पनीको सेयर कित्ता थोरै छ भने त्यो पनि सीमित व्यक्ति वा समूहहरुको हातमा छ । यसकारण पनि मागको तुलनामा आपूर्ति न्यून रहँदा कम्पनीको मूल्य आकासिए अत्यधिक बढिरहेको उनको भनाइ छ ।
दोस्रो बजार (नेप्से) मा १५ लाख ३५ हजार ४१८ कित्ता सेयर सूचीकृत यसको बजार पुँजीकरण ८ अर्ब ५८ करोड रुपैयाँ हाराहारी पुगिसकेको छ ।
दोस्रो बजारमा कम्पनीको सेयर साढे १५ लाखभन्दा पनि कम आपूर्ति रहेकाले पनि यसको सेयर मूल्यमा बढी चलखेल हुने गरेको घिमिरे बताउँछन् । तर अहिले भने कम्पनीको मूल्य बढ्नुको कारण गत आर्थिक वर्षको लाभांश हुनसक्ने उनी बताउँछन् ।
कम्पनीले गत वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी सेयरधनीलाई कुल ३५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको थियो । तर कम्पनीले हालसम्म उक्त लाभांश पारित गरेको छैन ।
उक्त लाभांस पारित गर्न कम्पनीले साधारण सभा गर्नेबारे हालसम्म सूचना जारी गरेको छैन । साथै, कम्पनीले गत आवको आम्दानीबाट पनि लाभांसको घोषणा गर्न बाँकी नै छ । यसैले, अघिल्लो वर्षको समेत गरी दुई आवको एकमुष्ट लाभांसको वितरणको प्रस्ताव पारित गर्नेगरी सभा बोलाउने विषयमा आन्तरिक छलफलको सूचना चुहिएर पनि अहिले यसको मूल्य बढेको हुनसक्ने एसटीसीका केही सेयरधनीको अनुमान छ ।
साल्ट ट्रेडिङका कम्पनी सचिव उमेशकुमार ओझाका अनुसार भने कम्पनीले आव २०७५/७६ को लाभांश वितरणलाई अन्तिम रुप दिन यही मंसिरमै साधारणसभा सक्ने तयारी गरेको छ । सोपछि गत आव २०७६/७७ को विवरण अडिट गरी अर्को सभा बोलाउने तयारीमा लाग्ने उनले बताए ।
कम्पनीले २०७४/७५ यता कुनै पनि सभा नगरेको र त्यसअघिका पनि कुनैपनि आवको वित्तीय विवरण सार्वजानिक नगरेको भनाइ लगानीकर्ताहरुको छ । एसटीसी सरकारी स्वामित्वको भएकाले नियमन गर्ने निकाय नहुँदा पनि यसले आफ्नो प्रगति विवरण सार्वजानिक गर्न जिम्मेवार नबनेको आरोप लगानीकर्ताहरुको छ ।
नियामक नभएकैले ३०औं वर्षदेखि कम्पनीको अध्यक्ष र संचालक समितिमा उही व्यक्तिहरु रहँदा संस्थामा उनीहरुकै हालिमुहाली भएकोमा पनि एसटीसीका एक लगानीकर्ताले असन्तुष्टी पोखे । कम्पनीको अध्यक्ष लक्ष्मीदास मानन्धर छन् ।
यसका अन्य सञ्चालकहरुमा कीर्ति कुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन रहेका छन् । यसमा पनि कतिपय धेरै वर्षदेखि दोहोरिएका छन् । अन्जन श्रेष्ठ लगायत पछिल्लो समय छिरेका संचालक हुन् । यो संचालक समिति पनि आव २०७४/७५ मै भएको ५२औं सभाले चयन गरेको थियो ।
कम्पनी सचिव ओझाको जिकिर भने कम्पनीको ७७ वटै जिल्लामा शाखा भएकाले समयमा त्रैमासिक विवरण एकिकृत गरेर सार्वजानिक गर्न नसकेको भन्ने छ ।
कम्पनीले त्रैमासिक विवरण सार्वजानिक गरे पनि नेप्सेलाई भने तीन तीन महिनामा वित्तीय विवरण पठाइरहेको जानकारी ओझाले गराए ।
कम्पनीले विगत २०६७/०६८ देखि २०७५/७६ सम्म न्यूनतम २० प्रतिशतदेखि बढीमा ४५ प्रतिशतसम्म लाभांश दिएको छ । यस्तै, हालसम्ममा अधिकतम ३५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगदसम्म दिएको छ भने कममा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसम्म दिएको छ ।
पछिल्लो तीन वर्षदेखि भने यसले एउटै दरमा लाभांश घोषणा गरेको छ, जसमा २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश हो ।