बैंकिङले साथ नदिए पनि फराकिलो छलाङ हान्यो बजारले, १० कम्पनीको ४०% हिस्सा, किन बढ्यो बजार?

बिजमाण्डू
२०७७ मंसिर ३ गते १५:३२ | Nov 18, 2020
बैंकिङले साथ नदिए पनि फराकिलो छलाङ हान्यो बजारले, १० कम्पनीको ४०% हिस्सा, किन बढ्यो बजार?


Tata
GBIME
Nepal Life

काठमाडौं। वाणिज्य बैंक समूहले साथ नदिए पनि सेयर बजारले फराकिलो छलाङ मारेको छ। तिहार बिदापछि खुलेको बजार सुरुवाती समयमा केही उतारचढाव देखिए पनि सवा १२ बजेपछि भने निरन्तर उक्लिएको थियो।

२३.३२ अंकले बढेको बजार १७४१.८१ अंकमा पुगेको छ। वाणिज्य बैंक समूह भने १.२८ अंकले झरेको छ। 

बुधबारको बजारलाई ब्यापार, निर्जीवन, जीवन, अन्य, लघूवित्त समूहले उचालेका हुन्। दिनभरीमा ४ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। खुद्रामार्फत भएको यो सर्वाधिक कारोबार हो। दिनभरीमा १९४ कम्पनीको एक करोड १६ लाख कित्ता सेयर किनबेच भएका छन्। 

कुल सेयर किनबेचमध्ये सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको ३३ करोड ६२ लाख, नेपाल टेलिकमको ३० करोड ८५ लाख, नेपाल लाइफको २५ करोड ९४ लाख, शिवम् सिमेन्ट २२ करोड ७९ लाख, एनआइसी एसिया बैंक १८ करोड १२ लाख, प्रभु बैंक १६ करोड ५९ लाख, शिखर इन्स्योरेन्स १६ करोड २६ लाख, नेको इन्स्योरेन्स ११ करोड ४२ लाख, नागरिक लगानी कोष १० करोड रुपैयाँको कारोबार भएको छ। 

१० ठूला कारोबार हुने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी संस्थागत सेयर पनि छ। कम्पनीको ९ करोड ६४ लाखको सेयर कारोबार भएको छ। कुल कारोबारमा १० कम्पनीको कारोबार रकमको हिस्सा ४०.८१ प्रतिशत छ।

किन बढ्यो बजार?
सुरुमा बजार केही अनिश्चित जस्तो देखिएको थियो। १२ बजे पछाडि भने बजारले गति समात्त खोजेको हो। त्यसअघि केही बेर बजार रातोसमेत भएको थियो।

बजार बढ्नुमा ब्याज दर नै प्रमुख कारण हो। ब्याज निकै घटिसकेको छ। त्यसमाथि अझ घट्ने बैंकरहरुले बताउन थालेका छन्। यसबाहेक बुधबारको बजारलाई आजको राजनीतिक घटनाक्रमले पनि प्रभावित पारेको थियो।

नेकपा फुट्छ कि जुट्छ भन्ने अन्योल बिहानसम्म थियो। जब प्रधानमन्त्रीले नेकपा बैठक बस्नका लागि मन्त्रिपरिषद्को बैठक सारे यसले पनि बजारलाई सकारात्मक गति दिएको हो।

पाँच कम्पनीमा बढेर सर्किट ब्रेकर
बुधबार गोर्खा फाइनान्स, हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, बोटलर्स नेपाल तराइ र एसटीसीमा बढेर सर्किट ब्रेकर लागेको छ।

गत वर्षभरी २ करोड ५३ लाख रुपैयाँ नाफा गरेको गोर्खा फाइनान्सले चालु वर्षको पहिलो तीन महिनामै ६ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ। यही कारणले फाइनान्सको सेयरमा आकर्षण देखिएको हो। कम्पनीको सेयरमा संस्थागत लगानीकर्ताहरु छैनन्। खुद्रा कारोबारबाटै कारोबार मूल्य बढेको हो। कम्पनीको सेयर मूल्य १७ रुपैयाँले बढेर १८७ रुपैयाँ पुगेको छ।

हिमालयन डिस्टिलरी पछिल्लो समय निरन्तर बढिरहेको कम्पनी हो। कम्पनीले चालु वर्षको पहिलो त्रैमासमा ९२ प्रतिशतले नाफा बढाएको छ। यसले बुधबार मूल्य थप उकाल्न सहयोग गरेको हो। कम्पनीको सेयर मूल्य २४२ रुपैयाँले बढेर २६ सय ६२ रुपैयाँ पुगेको छ।

विशाल बजारको सेयरमा पनि सर्किट लागेको छ। कम्पनीको दिनभरीमा २६ वटा कारोबार भएको छ। १० देखि २३७ कित्तासम्म कारोबार भएको छ। महिना दिनमा १५ दिन मात्र कारोबार भएको छ। ब्रोकरका अनुसार, कुनै उल्लेख्य कारणले भन्दा पनि आन्तरिक कारोबार भएकाले मूल्य बढेको हो। कम्पनीको सेयर मूल्य २७५ रुपैयाँले बढेर ३ हजार २७ रुपैयाँ पुगेको छ। एसटीसीको सेयर मूल्य पनि उचालिएको छ। कम्पनीको सेयर मूल्य प्रति कित्ता ५९८ रुपैयाँले बढेर ६ हजार ५८७ रुपैयाँ पुगेको छ।

बोटलर्स नेपाल तराइको मूल्य पनि प्रति कित्ता ७६७ रुपैयाँले बढेर ८ हजार ४४६ रुपैयाँ पुगेको छ। बोट्लर्सको सेयरमा प्राइम लाइफ, सिद्धार्थ  इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को होल्डङ छ। असार मसान्तमा एक करोड नोक्सानमा गएको कम्पनीले यसपाली पहिलो त्रैमासमा २८ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ। यही कारण कम्पनीको सेयर मूल्य उचालिएको हो।