लक्ष्मीपूजा र छठमा दियो र ढकना बनाउने चटारोमा कुम्हाल, भाउ छैन, परम्परा धान्नमात्र मेहनत

बिजमाण्डू
२०७७ कात्तिक २७ गते ०८:४७ | Nov 12, 2020

जनकपुरधाम। राजेश्वर पण्डित उमेरले ६० कट्नै लागेका हुन्। तर, उनी माटाका सामानहरु बनाउन युवाहरु भन्दा धेरै माहिर छन्।

Tata
GBIME
Nepal Life

उनलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्री बनाउने चटारो छ।

यी पर्वहरुको समयमा माटाका सामानको माग बढ्ने हुँदा उमेरलाई माथ दिँदै राजेश्वर बिहानैदेखि माटाका सामानहरु बनाउन व्यस्त भइहाल्छन्। जनकपुरधाम-२४ बसहियाका पण्डितले माटोका विभिन्न कलात्मक सामाग्रीहरु बनाउन थालेको ४० वर्ष बितिसकेको छ। राजेश्वर घरपरिवार चलाउन पुर्ख्यौली पेशाका साथै अरु काम पनि भ्याउँछन्।

‘माटोको सामाग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै बिक्री हुने गर्छ। त्यसमध्ये दिपावली र छठ हो। यही पेशाको भर पर्ने हो भने घर चलाउनै धौधौ पर्छ, त्यसैले घरपरिवार धान्न पुर्ख्यौलीका साथै अन्य पेशा समेत अपनाएको छु,’ राजेश्वरले भने।

उनका अनुसार माटोका सामाग्री बेचेर एक सिजनमा लगभग ३५ हजार रुपैयाँ आम्दानी गर्न सक्छन्।

राजेश्वर जस्तै दैनिकी जनकपुरधाम-१२ का ५१ वर्षीय रामवली पण्डितको पनि व्यस्तता उस्तै छ। उनले माटाको भाँडाकुडाको व्यवसाय सुरु गरेको लगभग १५ वर्ष भयो। रामवली पनि एक सिजनमा राजेश्वर जस्तै ३० देखि ३५ हजारसम्म कमाउँछन्। घरपरिवारमा अरु कोही यो पेशामा आबद्ध छैनन्। 'आफू एक्लैले जति सक्छु त्यतिसम्म बनाउने कोसिस गर्छु,' रामवली पण्डितले बताए।

रामवलीलाई पर्वहरुमा समेत बढ्दै गइरहेको आधुनिकताले पिरोलिरहेको छ।

आजभोलि विद्युत्तीय बल्ब, झिलीमिलीको अत्यधिक प्रयोग हुने गरेको छ। जसकारण उनीहरुले दिनरात एक गरेर बनाएको दियो बेच्न समेत निकै नै समस्या हुने गरेको छ। 'त्यसमा पनि त्यति मेहनत गरेर निर्माण गरेको सामाग्रीहरुको उचित मूल्य छैन। घाटा सहेर पनि आफ्नो पुर्ख्यौली पेशालाई जोगाउन लागेको छु,’ रामवलीले भने। उनका अनुसार ५ वर्ष पहिले ५० रुपैयाँको कलशको भाउ अहिले पनि त्यति नै रुपैयाँमा बेच्ने गरेका छन्। उनका अनुसार उनीहरुले बनाउने दियोको भाउ समेत लगभग ३ वर्षदेखि बढेको छैन। अहिले पनि २ रुपैँयामात्रै छ, एउटा दियोको मूल्य। 'यस्तो अवस्थामा हामी कुम्हाले कसरी यो व्यवसायबाट घरको गुजारा चलाउन सक्छौं?,' रामवलीको प्रश्न छ।

जनकपुरधाम-१२ कुवाका बिल्टु पण्डित उमेर ७० वसन्त पार गरिसकेका छन्। उनलाई सघाउने कोही नभए पनि एक्लै पेशा जोगाउनमात्रै हरेक वर्ष सिजनमा माटाका भाँडा बनाउने गरेका छन्। 'छोरी हुँदा उनले सहयोग गर्थिन्। अहिले छोरीको बिहे भइसक्यो। अब काममा सहयोग गर्ने कोही छैन। एक्लै कहिले सम्म धान्न सकिन्छ हेरौं,’ उनले भने।