एन्ट ग्रुपको आइपीओले ज्याक माको सम्पत्ति २७अर्ब डलरलेबढाउने,अरु १८ जना पनि डलर अर्बपति बन्ने

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १८:२९ | Oct 30, 2020
एन्ट ग्रुपको आइपीओले ज्याक माको सम्पत्ति २७अर्ब डलरलेबढाउने,अरु १८ जना पनि डलर अर्बपति बन्ने

Tata
GBIME
Nepal Life

चिनियाँ फिनटेक जायन्ट एन्ट ग्रुपले आउँदो साताबाट लिस्टिङ हुनेगरी ३४.४६ अर्ब अमेरिकी डलर बराबरको प्राथमिक सेयर निष्कासन (इनिसियल पब्लिक अफरिङ/आइपीओ) गर्दैछ । यो प्राथमिक सेयर बिक्री संसारका कुनै पनि कम्पनीका लागि अहिलसम्मकै सबैभन्दा ठूलो हो। 

यो आइपीओपछि विश्वका पाँच ठूला आइपीओमध्ये चारवटा चिनियाँ कम्पनीकै हुनेछ । यसअघि सन् २०१९ मा जारी साउदी आरामको (२९.४ अर्ब डलर) हालसम्मको ठूलो आइपीओ हो।

त्यस्तै, अलिबाबा ग्रुपको सन् २०१४ मा जारी २५ अर्ब डलरको, एग्रिकल्चर बैंक अफ चाइना (सन् २०१०) को २२.१ अर्ब डलर र इन्डष्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना (२००६) को २१.९ अर्ब डलरको आइपीओ अहिलेसम्मका ठूला प्राथमिक सार्वजनिक निष्कासन हुन्।

एन्ट ग्रुपको 'वर्ल्ड रेकर्ड' आइपीओले यसका सहसंस्थापक तथा चिनियाँ इन्टरनेट हेभीवेट ज्याक माको सम्पत्ति २७ अर्ब डलरले बढ्ने फोर्ब्सले उल्लेख गरेको छ। 

विश्वका १२औं धनी व्यक्ति माको रियल टाइम नेटवर्थ (खुद सम्पत्ति) अहिले करीब ६६ अर्ब डलर छ। एन्टको आइपीओपछि २७ अर्ब डलरले बढ्दा उनको नेटवर्थ ९३ अर्ब डलरमाथि पुग्नेछ, जुन अहिले संसारका धनाढ्यको पाँचौ नम्बरमा भएका टेस्ला फाउन्डर एलन मस्कको (९१.२ अर्ब डलर) भन्दा बढी हो। 

अर्थात्, एन्टको आइपीओले ज्याक मालाई संसारका सर्वाधिक धनीको सूचीमा एकैचोटी सात खुड्किलो माथि उकाल्नेछ, यदि सूचीमा भएका धनाढ्यहरुको सम्पत्ति केही दिन फोर्ब्सको आजकै रियल टाइम नेटवर्थकै हाराहारीमा रहे। 

कम्पनीले हङकङ र शाङहाई स्टक एक्सचेञ्जमा सूचीकृत गर्नेगरी बिक्री खुलाउन गत मंगलबार घोषणा गरेको मूल्यअनुसार यस आईपीओले ज्याक मालाई मात्र थप धनी बनाउँदैन, अन्य नयाँ धनाढ्यहरु जन्माउने बताइएको छ। फोर्ब्सका अनुसार, एन्टको आइपीओबाट १८ जनाको सम्पत्ति अमेरिकी डलर अर्बमाथि पुग्नेछ।

आइपीओका लागि घोषित मूल्य र कम्पनीको मूल्या‌ंकनका आधारमा एन्ट ग्रुपकी सीईओ लुसी पेङको पनि नेट वर्थ ५ अर्ब डलर पुग्ने बताइएको छ । इ-कमर्स जायन्ट अलिबाबाको सहसंस्थापकमध्येकी पेङलाई चीनबाहिर कमैले चिन्ने भए पनि उनले पछिल्लो दुई दशकदेखि ज्याक माको एम्पायर खडा गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । खासगरी अलिबाबाको बृहत ह्युमन रिसोर्स विभाग खडा गर्न मुख्य भूमिकामा रहेकी पेङको एन्ट ग्रुपमा हाल १.७ प्रतिशत सेयर स्वामित्व छ ।

एन्ट ग्रुपले शाङहाई र हङकङ दुवै स्टक एक्सचेन्जमा बराबर १७.२३/१७.२३ अर्ब अमेरिकी डलर बराबरको प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । यो आइपीओका लागि हङकङ स्टक एक्सचेन्जमा ८० हङकङ डलर (१०.३२ अमेरिकी डलर) र शाङहाईको स्टार मार्केट एक्सचेन्जलाई ६८.८ युआन (१०.२७ अमेरिकी डलर) मूल्य तोकिएको छ।

खुद्रा तथा संस्थागत दुवै प्रकारका लगानीकर्ताबाट अत्यधिक माग भएकाले दुवै स्टक एक्सचेन्जनमा यसको आइपीओका लागि जारी गरेको भन्दा अत्यधिक बढी आवेदन परेको (हेभिली ओभर सब्सक्राइब्ड) न्युयोर्क टाइम्सले लेखेको छ।

एन्ट ग्रुप विश्वकै सबैभन्दा ठूलो मोबाइल तथा अनलाइन पेमेन्ट पेलेटफर्म 'अलि पे' को प्यारेन्ट कम्पनी हो, जसको होल्डिङ कम्पनी अलिबाबा ग्रुप हो। अलिबाबाले 'थर्ड पार्टी अनलाइन पेमेन्ट टुल' का रूपमा यसलाई सन् २००४ बाट संचालनमा ल्याएको हो। अलिबाबा ग्रुपका संस्थापक ज्याक माको योसहितको एन्ट ग्रुपमा कायम स्वामितका आधारमा यसको आइपीओपछि अर्बौं डलरले सम्पत्ति वृद्धि हुने देखिएको हो। 

गत वर्ष सेप्टेम्बरमा ज्याक माले छाडेपछि अलिबाबाको कार्यकारी अध्यक्ष बनेका सीइओ डेनियल झाङको पनि एन्ट ग्रुपमा १.५ अर्ब डलरबराबरको स्वामित्व रहेको छ।

आईपीओ जारीका लागि एन्ट ग्रुपको मूल्यांकन ३१३ अर्ब डलर गरिएको छ। यो मूल्यांकन विश्वका ठूला वित्तीय सेवा प्रदायक मास्टर कार्ड (३१९ अर्ब डलर), जेपी मोर्गन चेज (३०३ अर्ब डलर) लगायतको वर्तमान मूल्यकै हाराहारी हो। एन्टले यसअघि पनि सन् २०१८ मा १५० अर्ब डलर भ्यालुएसन गराएर प्राइभेट स्तरबाट फन्ड रेज गरेको थियो। 

चीनको सबैभन्दा ठूलो बैंकसमेत भनिने अलि पेको परम्परागत बैंकको जस्तो एउटा पनि शाखा छैन। यसका बाबजुद अलि पेमार्फत वर्षमा १७ ट्रिलियन (१७० खर्ब) डलरको विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) संचालन हुने न्युयोर्क टाइम्सले लेखेको छ। साथै, एक महिनामै यसको मोबाइल पेमेन्ट प्रयोग ७३ करोड जनाले गर्ने पनि यसले जनाएको छ।

न्युयोर्क टाइम्सका अनुसार, यसको निकट प्रतिस्पर्धी मानिएको 'पेपल' का प्रयोगकर्ता अलि पेको भन्दा आधा छन् भने यसले गत वर्ष ७१२ अर्ब डलरको विद्युतीय भुक्तानी व्यवस्थापन गरेको थियो।

चीनमा सिंगल डे सपिङ होलिडे भनिने ११-११ (नोभेम्बर ११) मा डिजिटल पेमेन्ट गेटवेका लागि अलि पेको प्रयोग सर्वाधिक हुन्छ। गत वर्ष ११-११ को पीक आवरमा अलि पेले प्रतिसेकेन्ड ४ लाख ५९ हजार पेमेन्ट प्रोसेस गरेको थियो। जबकि, पेपलले एक सेकेन्डमा ६५ हजारभन्दा धेरै कारोबार गर्न नसक्ने जनाएको छ।

एन्ट ग्रुपका अनुसार यसले दुई हजारभन्दा बढी वित्तीय संस्थाहरुसँग साझेदारी गरेको छ। जसमा भारत, थाइल्याण्ड र मेक्सिको लगायतका देशका मोबाइल भुक्तानी सेवा प्रदायकहरुसँग गरेको रणनीतिक साझेदारीसमेत रहेको छ। चीनबाहिरको यो रणनीतिक साझेदारीबाट अलि पेले २०१९ मा ९० अर्ब डलरबराबरको विद्युतीय भुक्तानी प्रोसेस गरेको जनाएको छ।

एएनजेड बैंकका हेड अफ एशिया रिसर्चका प्रमुख खून गोहलाई उद्दृत गर्दै रोयटर्सले लेखेको छ, 'चीनमा प्रत्येक व्यक्ति र उनीहरुले पालेका कुकुरसमेत एन्ट ग्रुपको सेयर प्राप्त गर्न चाहन्छन्।' यसबाटै अनुमान लगाउन सकिन्छ चीनमा अलि पेको लोकप्रियता।