दाजुभाइको झगडाले नगदमा ब्यवहार मिलाउन हिमालयन बैंकको सेयर बिक्री, सञ्चय कोषले उठायो

बिजमाण्डू
२०७७ कात्तिक २ गते १४:४१ | Oct 18, 2020


काठमाडौं। हिमालयन बैंकमा रहेको ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीको सेयर पूर्ण रुपमा बिक्री भएको छ। पारिवारिक लडाइका बीच स्याकार कम्पनीको सेयर बिक्री भएको हो।

Tata
GBIME
Nepal Life

स्याकारको नाममा रहेको हिमालयन बैंकको संस्थापक सेयर कर्मचारी सञ्चय कोष, प्रचण्डमान श्रेष्ठ र इलु शर्माले खरिद गरेका छन्।  बैंकको सेयर ४३ नम्बर ब्रोकरले बेचेर ४० नम्बर ब्रोकरमार्फत खरिद भएको छ। कुल ८ लाख १५ हजार १७२ कित्ता सेयर किनबेच भएको छ।

गत माघ ७ गते पनि यी दुई ब्रोकर कार्यालयबाट दुई पटक किनबेच भएको थियो। सुरुमा ४३ नम्बर ब्रोकरले ४० नम्बर ब्रोकरलाई ४ लाख २१ हजार ७५३ कित्ता सेयर बिक्री गरेको थियो। अर्को कारोबारमा भने ४० नम्बर ब्रोकरले ४३ नम्बरलाई ४ लाख २१ हजार ७५४ कित्ता बिक्री गरेको थियो। 

यो पनि पढ्नुस्: व्यापारिक घराना ज्योति समूहमा जग्गा विवादपछि भागबण्डा, हिमालयन बैंकको सेयर हस्तान्तरण

त्यसबेला प्रतिकित्ता २९० रूपैयाँका दरमा भएको किनबेच यसपाली १० रुपैयाँ बढेर ३०० रुपैयाँ प्रतिकित्तामा खरिद बिक्री भएको छ। कुल २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको सेयर बिक्री गरिएको हो। 

त्यतिबेलासम्म हिमालयन बैंकमा स्याकारको कुल एक (०.९९) प्रतिशत सेयर थियो। आज भएको बिक्रीसमेत गरेर अब हिमालयनमा स्याकारको एउटा पनि सेयर बाँकी छैन। 

यो पनि पढ्नुस्: त्यो प्लट, जसले रुप ज्योतिलाई झ्यालखाना पुर्यायो, 'प्रहरीको हडबडी कसले गरेको गडबडी?' 

स्रोतका अनुसार, दाजु पद्म ज्योति र भाइ डा. रूप ज्योतिबीच लफडा सुरु भएपछि उनीहरु छुट्टीभिन्न हुने प्रक्रियामा छन्। त्यही कारण अहिले ठूलो सेयर बिक्री गरेर नगदमा विवाद मिलाउन खोजिएको हो। 

यो पनि पढ्नुस्: ज्योति समूहका कम्पनीको अध्यक्षमा रुपलाई कम्पनी रजिष्ट्रारको 'मोहर', दाजु पद्मको दाबी अस्वीकार

समूहका कतिपय कम्पनी अझै पनि सगोलमै संचालनमा छन्। हिरो र होण्डा बाइक भारतमै छुट्टिएपछि नेपालमा पनि छुट्टै कम्पनी स्थापना गरेर कारोबार गर्नुपर्ने बाध्यताले मात्रै फरक/फरक बनाउनुपरेको थियो। तर हिमाल आइरन एण्ड स्टील, हिमाल वायर, ज्योति स्पिनिङ लगायतका कम्पनी संयुक्त रूपमै संचालित थिए। स्रोतका अनुसार अब यी सबै कम्पनीको बाँडफाँट हुनेछ। कतिपय जग्गाजमिनको बाँडफाँट सुरु भइसकेको छ। मणिहर्ष ज्योति कंसाकारले १९४० मा यो समूह स्थापना गरेका थिए। 

यो पनि पढ्नुस्: ज्योति समूहभित्रको किचलोः कमलाको ३३ प्रतिशत सेयरमा लुकेको ज्योति परिवारको झगडा

आज बिक्री गरिएको कुल सेयरमध्ये ९५ प्रतिशत हाराहारी सञ्चय कोषले खरिद गरेको छ। बाँकी शर्मा र श्रेष्ठले खरिद गरेका हुन्। सञ्चय कोषको बैंकमा १४ प्रतिशत सेयर थियो। अब करिब करिब १५ प्रतिशत पुगेको छ। सञ्चय कोषले वाणिज्य बैंकहरुमा पहिलो लगानी हिमालयनबाट सुरु गरेको थियो।