ज्योति समूहका कम्पनीको अध्यक्षमा रुपलाई कम्पनी रजिष्ट्रारको ‘मोहर’, दाजु पद्मको दाबी अस्वीकार

बिजमाण्डू
२०७७ असोज २१ गते १२:११ | Oct 7, 2020
ज्योति समूहका कम्पनीको अध्यक्षमा रुपलाई कम्पनी रजिष्ट्रारको ‘मोहर’, दाजु पद्मको दाबी अस्वीकार


Tata
GBIME
Nepal Life

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि ज्योति समूहका कम्पनीहरुमा अध्यक्षका रूपमा पद्म ज्योतिको दाबीलाई अस्वीकार गर्दै रुप ज्योतिलाई अध्यक्षका रूपमा काम गर्न बाटो खोलिदिएको छ।

ज्योति समूहभित्र सामूहिक पारिवारिक लगानीका झण्डै डेढ दर्जन कम्पनी सञ्चालनमा छन्। ती कम्पनीमा दाजु पद्म ज्योति, भाई रुप ज्योति र अविवाहित बहिनी कमला कँसाकार तीन जना प्रत्यक्ष वा होल्डिङ कम्पनीमार्फत बराबरका सेयर साझेदार छन्।

के हो ज्योति समूहभित्रको विवाद ? पढ्न यहाँ क्लिक गर्नुहोस

 

केही समय पहिलेसम्म ती अधिकांश कम्पनीको अध्यक्षमा पद्म ज्योति थिए। तर दाजु पद्म ज्योति र भाई रुप ज्योतिबीच पारिवारिक विवाद बढ्दै गएपछि भाई रुपले बहिनी कमलाको मञ्जुरीमा दाजु पद्मलाई अध्यक्षबाट हटाएका थिए।

दाजु पद्मले अध्यक्ष पदको गैरकानूनी प्रयोग गरी ज्योति समूहका कम्पनीका नाममा रहेका घरजग्गा तथा स्टक बिक्री गरेको आरोप भाई रुप ज्योतिले लगाउँदै आएका छन्।

आफूलाई अध्यक्ष पदबाट हटाएपछि विभिन्न कम्पनीका नामबाट दाजु पद्मले त्यसविरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए। आफ्नो उजुरीमा उनले विभिन्न कम्पनीले बोलाएका विशेष साधारणसभामाथि प्रश्न उठाएका थिए।

उनले सञ्चालक समितिको बैठक तथा साधारणसभा बोलाउने अधिकार कानुनले अध्यक्षलाई दिएको भन्दै सेयरधनी र सञ्चालक समितिको अध्यक्ष समेतको हैसियतमा कम्पनीको कुनै पनि सञ्चालक समितिको बैठक वा साधारणसभा आफ्नो जानकारीबेगर हुन सम्भव नभएको दलिल दिएका थिए।

त्यसैगरी उनले विशेष साधरण सभा गरिएको भनिएको साउन २१ गतेको मितिमा आफू काठमाडौंमा नै रहेर कम्पनीका काम नियमित रूपमा गरिरहेको अवस्थामा रीतपूर्वक साधारणसभा नबोलाएको तथा आफ्नो आदेश बमोजिम सबै सेयरधनीलाई सूचनसमेत दिनुपर्ने कुरा निर्विवादित रहेको जानकारी उजुरीमा दिएका थिए।

उनले साधारणसभा नै नबसी, सञ्चालक समितिको कुनै चुनाव नै नगरी जालसाजीपूर्ण तवरले झुट्टा दस्तावेज तयार गरी कम्पनी रजिष्ट्रारको कार्यालयको सिस्टममा अपलोड गरेको आरोप समेत उजुरीमा लगाएका थिए। उनले रुप ज्योतिले जालसाजी किर्ते गरेर तयार पारेका कागज कम्पनी ऐनको दफा १२० को अधिकार क्षेत्रको प्रयोग गरी अमान्य घोषित गर्न माग समेत गरेका थिए।

असार ५ गते पद्म ज्योतिले दिएको उजुरीका आधारमा कम्पनी रजिष्ट्रारको कार्यालयले ज्योति समूहका विभिन्न कम्पनीसँग भदौ २ गते सातदिने स्पष्टीकरण मागेको थियो।

हिमाल एण्ड कम्पनी, स्यामुकापु एण्ड कम्पनी, ज्योति एण्ड कम्पनी, हिमाल आइरन एण्ड स्टिल प्रालि, स्याकार कम्पनी, म्यानेजमेन्ट सर्भिसेस लगायतका कम्पनीले त्यसको जवाफसहित कागजातहरु पनि पठाएका थिए।

त्यो जवाफमा चित्त बुझाउँदै कार्यालयले कम्पनीको प्रबन्धपत्र तथा नियमावली र कम्पनीबाट प्राप्त जवाफ, प्रमाण, कागजात हेर्दा कम्पनी सञ्चालक समितिको बैठक, विशेष साधारणसभा, वार्षिक साधारणसभा कानून बमोजिम नै भएको तथा ती निकायबाट भएका निर्णयहरु, कागजात विवरण कानुन बमोजिम नै विद्युतीय अभिलेखमा अभिलेख तथा प्रमाणित भएको देखिएको भन्दै त्यसलाई बदर गर्न नमिल्ने जानकारी पद्म ज्योतिलाई दिएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्नो निर्णयमा चित्त नबुझे कानूनका म्याद भित्र सम्बन्धित निकायमा पुनरावेदनका लागि जान सक्ने बाटो समेत पद्म ज्योतिलाई देखाइदिएको छ।

यस आधारमा ज्योति समूहका कम्पनीमा अब रुप ज्योति अध्यक्षका रुपमा रहने छन्। यसले ज्योति समूहका कम्पनीमा मात्रै होइन् ज्योति समूहले प्रतिनिधित्व गर्ने अन्य कम्पनीमा समेत प्रभाव पर्ने अवस्था आएको छ।

त्यसमध्ये एउटा बुटवल पावर कम्पनी पनि हो। जहाँ कम्पनीको सेयर साझेदार साँग्रिला इनर्जी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै पद्म ज्योति अध्यक्ष भएका छन्। साँग्रिला इनर्जी कम्पनीको संस्थापक सेयरधनी ज्योति एण्ड कम्पनी हो।

अब ज्योति एण्ड कम्पनीको अध्यक्षमा रुप ज्योति चयन भएका छन्। उनले पद्म ज्योतिलाई हटाएर आफू वा अन्य कोही प्रतिनिधीलाई साँग्रिला इनर्जीमा मनोनयन गर्न सक्छन्। साँग्रिला इनर्जीले पनि ज्योति एण्ड कम्पनीकै प्रतिनिधिलाई बुटवल पावरमा मनोनित गर्न सक्छ। त्यस्तो बेला पद्म ज्योतिले बुटवल पावर कम्पनीको अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ।