धादिङमा रहेको अर्को ग्यास कम्पनी पनि बिक्री, १३ करोडमा बिक्री भयो त्रिवेणी ग्यास

बिजमाण्डू
२०७७ असोज २८ गते १२:१७ | Oct 14, 2020
धादिङमा रहेको अर्को ग्यास कम्पनी पनि बिक्री, १३ करोडमा बिक्री भयो त्रिवेणी ग्यास


Tata
GBIME
Nepal Life

काठमाडौं। धादिङको बेनिघाटमा रहेको त्रिवेणी ग्यास १३ करोड ९ लाख रुपैयाँमा बिक्री भएको छ। यो उद्योग चितवनका ह्याचरी उद्योगी नरेन्द्र बर्तौलाले किनेका हुन्।

विराटनगरका सन्तोष भगतले दुई महिना अघि यो उद्योग बिक्री गरेका हुन्। सय टन क्षमताको यो उद्योगसँग ९० हजार सिलिण्डर छ। ‘यो उद्योग हामीले दुई महिना अघि किनेका हो। यो उद्योगमा थप लगानी गरेर केही समयभित्रै स्वचालित बनाउनेछौं’, बर्तौलाले बिजमाण्डूसँग भने, ‘ग्यासको बजार देखेर ह्याचरीबाट यता लगानी गरेको हुँ।’

उद्योगको १५ रोपनी जग्गा छ। कोभिडको बेलामा ग्यास खपत कम भए पनि दीर्घकालीन बजार हेरेर लगानी गरेको उनले बताए। ‘कोभिडका कारण अहिले होटल र रेष्टुरेन्ट बन्द छ। यसले खपत ३० प्रतिशतसम्म घटेको छ,’ बर्तौलाले भने, ‘अहिलेको बजार हेर्दा केही समस्या देखिन्छ। तर दीर्घकालीन रूपमा ग्यासको बजार राम्रै हुने देखेको छु।’

मुलुकमा बिजुली पर्याप्त भए पनि ग्यासको खपत कम नहुने उनी जिकिर गर्छन्। ‘विकसित देशमा बिजुली चाहेजति छ। तर ग्यासको खपत कम भएको छैन। नेपालको सन्दर्भमा पनि खपत कम हुने देख्दिन। अझै बढ्ने नै देखेको छु,’ उनले भने, ‘अहिले नै ग्यास खपतको तथ्यांक हेर्ने हो भने वार्षिक १५ प्रतिशतका दरले बढिरहेको छ।’ यो उद्योगको ग्यास काठमाडौं उपत्यका र नुवाकोट बिक्री भइरहेको छ। एग्रेसिभ मार्केटिङका लागि रणनीति बनाइरहेको बताउँदै बर्तौलाले काठमाडौंमै केन्द्रित रहेर बजार विस्तार गर्ने जानकारी दिए।

‘ग्यासको बजार काठमाडौं उपत्यकामा बढी छ। झण्डै ४० लाख जनसंख्या भएको क्षेत्रमा ग्यासको खपत पनि बढी हुन्छ,’ उनले भने, ‘अघिल्लो व्यवस्थापनले राम्रोसँग उद्योगलाई ध्यान दिएर बजार विस्तार गर्न सकेको थिएन्। उहाँहरुको कोर बिजनेस अर्कै भएर पनि समस्या भएको थियो,’ बर्तौलाले भने, ‘तर मैले यही उद्योगलाई केन्द्रित गरेर व्यवसाय गर्दैछु। त्यही भएर राम्रो हुने अपेक्षा समेत छ।’

नरेन्द्र ग्यास उद्योगमा लामो समयदेखि रहेका धर्म बर्तौलाका भतिजा हुन्। धर्मको पोखरामा गृहलक्ष्मी ग्यास उद्योग छ। दुई महिना अघि नै धादिङमा रहेको गीता ग्यासको ५० प्रतिशत सेयर उनले किनेका थिए। पेट्रोल पम्पहुँदै ग्यास व्यापारमा आएका धर्मले त्रिवेणी ग्यासको बजार विस्तारमा सघाइरहेका छन्।