कोभिडले निम्त्याएको संकटको पुनरुत्थान नेतृत्व प्रविधिले गर्नेछ, लयमा फर्किन लामो समय लाग्दैन




हामी अहिले अभूतपूर्व तर वास्तविक अवस्थाबाट गुज्रिरहेका छौं । संसारभर कोभिडका बिरामीहरु (अक्टोबर १० सम्ममा) ३ करोड ७२ लाख नाघिसकेका छन् । २ सय १६ देशमा दशौं लाख मानिसको मृत्यु भइसकेको छ, जुन अत्यन्त दूर्भाग्यपूर्ण हो। अमेरिकामा मात्रै झन्डै दुई लाख २० हजार जनाले यसबाट ज्यान गुमाइसकेका छन् ।

यो मात्र नभएर अर्कोतर्फ अमेरिका र चीनबीच ठूलो व्यापार युद्ध चलिरहको छ, जसले हामी कसैको पनि हित गर्ने छैन । अमेरिकी चुनाव र यसको सुनिश्चितताले पनि विभिन्न कुराहरुका साथै सम्पूर्ण विश्व अर्थतन्त्रलाई नै प्रभावित गर्दछ । 

TaTa
TVS

अहिले बेरोजगारी दर रेकर्ड विन्दुमा छ । वित्तीय घाटा (फिस्कल डेफिसिट) उच्च छ । सबै देशका सरकारहरुले स्टिमुलस प्याकेजका रूपमा मुद्रा छाप्ने काम (करेन्सी प्रिन्टिङ) गरिरहेका छन् । निश्चित रूपमा उनीहरुले अर्थतन्त्रलाई लय दिन हरसम्भव प्रयत्न गरिरहेका छन्, जुन राम्रो पनि हो ।

कोभिड-१९ देखिएयता २०० खर्ब (२० ट्रिलियन) डलर निकटको क्षति पुगिसकेको एशियाली विकास बैंकको आकलन छ ।

कुनै विन्दुमा पुगेर यो रोकिएला । तर अहिलेको अवस्थामा हामी केही भन्न सक्दैनौं । कहाँ पुग्छौं भन्ने व्यक्तिपिच्छे फरक विश्लेषण हुन सक्छन् । कोभिडको भ्याक्सिन विकास अन्तिम चरणमा छ । पर्याप्त मात्रमा भ्याक्सिन उपलब्ध वा उत्पादन भइरहेको छ, भलै यो पूर्णरूपमा परीक्षण नभइसकेको हुन सक्छ । तर सम्पूर्ण विश्व नै यसका लागि काम गरिरहेको छ ।

यसका बाबजुद एक किसिमले यो (कोभिड-१९ को अवतरण) अझै पनि अभूतपूर्व बाटोमै छ । र, सायद यसलाई हामीले अब अपनाएर नै अघि बढ्नुपर्छ ।

अहिले कोभिड-१९ ले निम्त्याएको संकट सन् १९२९ को आर्थिक महासंकट (ग्रेट डिप्रेसन) यताकै ठूलो र त्यत्तिकै गम्भीर मानिएको छ । १९२९ को उक्त महासंकटले आर्थिक विषयवस्तुको ९० प्रतिशत मुद्दा नै परिवर्तन गरिदिएको थियो । त्यसबाट पुनरुत्थान हुन २५ वर्ष (सन् १९५४ सम्म) लागेको थियो । यहाँ सफ्ट बैंकको नतिजाको एउटा चार्ट छ जसले यसलाई प्रष्ट्याउँछ । (हे. चित्रमा)


 
के अहिले संकटबाट पूर्णरुपमा बाहिर आउन पनि हामीलाई २५ वर्षकै हाराहारीमा लाग्ला ? वा, त्योभन्दा चाँडो हामी पहिलेको अवस्थामा फर्किन्छौं ? र, चाँडै पुनरुत्थान भयो भने त्यो के कारणबाट होला ?

१९२९ को आर्थिक संकटको रिकभरीको नेतृत्व उद्योगहरुले गरेका थिए । अटोमोबाइल, इलेक्ट्रोनिक प्रडक्ट, तेल, उत्पादन, विद्युत र फुड प्रोसेसिङ उद्योगहरु त्यसमा प्रमुख थिए । यी सबै प्रकारका उद्योगमा राम्रो परिमाणमा लजिष्‍टिक, ठूलो लगानी, प्रशस्त श्रमिक नियुक्तिका साथै संचालनका लागि पैसा लगाउनुपर्ने भएकाले पनि त्यतिबेलाको संकटबाट बाहिर आउनका लागि त्यति लामो समय लागेको हो । 

तर अहिलेको संकटको पुनरुत्थानको नेतृत्व नयाँ प्रविधिहरुले गर्नेछन् । हामीले अहिले नै यो देख्न थालिसकेका छौं । म मलेसियामा बसेर नेपालमा संचालित कार्यक्रममा प्रस्तुति दिँदैछु । डिजिटाइजेसनले गर्दा संसार अत्यन्त द्रुत गतिमा परिवर्तन हुँदैछ । र, अहिलेको डिजिटाइजेसन सीटीओ (चिफ टेक्नोलोजी अफिसर), सीइओ वा डाइरेक्टरहरुका कारण भइरहेको होइन । डिजिटाइजेसन वा डिजिटल ट्रान्सफरमेसन खासगरी कोभिड-१९ ले गर्दा भइरहेको छ ।

उदाहरणका लागि अनलाइन मिटिङमा जुम अहिले अत्यधिक लोकप्रिय छ । यसबाट दैनिक कयौं अनलाइन मिटिङ, कन्फेरेन्स, ट्रेनिङ लगायत भइरहेका छन् । लोकप्रियताकै कारण सन् २०१९ मा ६२ अर्ब डलर रहेको यस कम्पनी (जुम भिडियो कम्युनिकेसन्स इंक) को  बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन) एक वर्ष हाराहारीको अन्तरालमा ४९२ अर्ब डलर नाघिसकेको छ ।

फूड डेलिभरीका लागि अनलाइनबाटै अर्डर हुन्छन् । ठूलो संख्यामा विद्यार्थीहरु घरै बसेर शिक्षा (अनलाइन एजुकेसन) लिइरहेका छन् । अनलाइन सपिङ असाध्यै लोकप्रिय भइरहेको छ । नेपालमा बसेर व्यवसाय गर्दै हुनुहुन्छ भने बजार अब नेपाल मात्र होइन, सम्पूर्ण संसार नै हो भन्ने तपाईंले निश्चय पनि महसुस गर्नुभएको होला । 

सुन्दा अनौठो लाग्न सक्छ - मलेसियाकी एक सामान्य फलफूल व्यापारी महिलालाई अमेरिकादेखि डुरियन (मलेसियाको लोकप्रिय फल) को अर्डर आएको छ, र उनले अमेरिकासम्म आफ्ना ग्राहकलाई यो डेलिभरी गर्दैछिन् । अनलाइनकै कारण यो बजार विस्तार सम्भव भएको हो । यसैले अब बजार एउटा क्षेत्रमा मात्र सीमित नभएर विश्व्यापी बन्दै गएको छ । यो अवसरहरुको दायरा फराकिलो भएको उदाहरण पनि हो ।

१०-१५ वर्षअघिसम्म नेट (अनलाइन) बाट ड्रेस अर्डर गर्ने हामी कल्पना पनि गर्न सक्दैनथ्यौं तर आज निसंकोच अनलाइनबाटै खरिद गरिरहेका छौं । धेरै कुरा नेटबाटै खरिद गर्न सक्छौं । र, सेवाको गुणस्तर पनि राम्रो हुँदै गएको छ । ग्राहक अनुभव (कस्टुमर एक्पिरियन्स) लाई धेरै महत्त्‍वपूर्ण मानिँदै गएको छ । यदि अमेजनबाट खरिद गरेको सामान 'मलाई मन परेन' भनेर कसैलै भन्छ भने अमेजनले कुनै प्रश्न नगरी फिर्ता लिइदिन्छ । 

अनलाइन सपिङ जसरी नै अनलाइन भिडियो स्ट्रिमिङ पनि व्यापक लोकप्रिय बन्दै गएको छ ।

डिजिटाइजेसनले ल्याएको परिवर्तनका यी उदाहरणहरुले देखाउँछ - अहिलेको मन्दीको पुनरुत्थान प्रविधिमार्फत नै हुनेछ र प्रविधिको सहयोगले पुनरुत्थानको गति तीव्र हुनेछ । यसकारण आर्थिक पुनरुत्थानको बक्र 'यु कर्भ', 'एल कर्भ' वा 'डब्लु कर्भ', जुनसुकै आकारमा भए पनि यसको गति १९२९ को संकटको पुनरुत्थान अवधिको तुलनामा धेरै नै तीव्र हुने निश्चित छ ।

आशा गरौं, कोभिड-१९ को खोप यो वर्ष (सन् २०२०) को अन्त्य वा अर्को वर्षको पहिलो त्रैमाससम्ममा आम प्रयोगका लागि बाहिर आइसक्ने छ र हामी सबैजना चाँडै नै पुनः 'सोसल एनिमल' (सामाजिक प्राणी) हुनेछौं । त्यसपछि पक्कै पनि हामी आफ्नो जीवन रमाइलो बनाउन चाहन्छौं । मान्छेहरु भेट्न र छोराछोरी, नाति-नातिनालाई अँगालोमा बेर्न चाहन्छौं । र, विस्तारै हामी पहिलेकै अवस्थामा फर्किनेछौं ।

उपभोक्ताको स्वभावमा परिवर्तन
कोभिड-१९ पछि उपभोक्ताको स्वभाव (कन्जुमर बिहेभियर)  मा कस्तो परिवर्तन आउला भन्ने प्रश्न अहिले अहम देखिएको छ ।

मान्छेहरुले धेरै कुरा अनलाइनबाटै किनमेल गर्न थालेकाले भौतिक रूपमै पुगेर खरिद गर्नुपर्ने रिटेल व्यवसाय के होला भन्न थालिएको छ । 
कोभिडले मान्छेको हिँडडुल वा यात्रा गर्ने क्रममा कमी आएको छ । आवश्यक नपरी नहिँड्ने मनस्थितीमा छन् धेरैजना ।

यसैलै अब उत्कृष्ट बिजनेस मोडेलमा संसारभर बिजनेस गरिरहेको भए पनि एयर बि एन बीका घर वा लजिङमा स्वास्थ्य सुरक्षामा संशयका कारण मान्छेहरु निर्धक्क पहिले जसरी नै नजान सक्छन् । एयरपोर्टमा वायुसेवाहरुको ट्राफिक अहिले ९५ प्रतिशत हाराहारीसम्म घटेको छ । यसकारण एयरपोर्ट र वायुसेवा कम्पनीहरुको भविष्य के हुन्छ अब ? 

शिक्षाको भविष्य के हुन्छ ? स्कूल कलेज गएर धेरैजना विद्यार्थीहरु पुनः एउटै कोठामा बसेर पढ्न तयार हुन्छन् वा अब अनलाइनबाटै पढ्न चाहन्छन् ? खेलकुद कता जान्छ ? के हामी अब फेरि पहिलाजस्तै स्टेडियममा गएर क्रिकेट हेर्नेछौं ?  

कोभिडको डरका कारण मान्छेहरु सामान्य बिरामी हुँदा अस्पताल जानै छोडेका छन्, बरु अनलाइन डाक्टरको परामर्श लिने क्रम बढेको छ । सिनेमा हल पनि कोभिड-१९ पछि नराम्ररी प्रभावित भएका छन् । स्वास्थ्य जोखिमका कारण सँगै बसेर खानपिन गर्न नै मान्छेमा संकोच हुने भएकाले विवाह समारोहकै पनि शैली वा भविष्य अब के कस्तो होला ?  

यी सम्पूर्ण कुराहरुमा कोभिड-१९ भन्दा पहिले समाजिक पक्ष जोडिएको हुन्थ्यो । तर अहिले कोभिडका कारण अधिकांश कुराहरु अनलाइन हुँदै गएको छ । 

यसका बाबजुद भ्याक्सिन आएपछि कोभिडपछि पनि विश्व पहिलेजस्तै हुन्छ भन्ने एउटा सोचाइ समूह छ । परिवर्तन हुँदैन भन्ने अनुमानको पछाडि हामी सामाजिक प्राणी भएकाले पुनः मान्छेहरुसँग भेट्दा हात मिलाउन, साथीभाइहरुसँग जमघट गर्न, स्टेडियममा गएर स्पोर्टस् प्रतियोगिताहरु हेर्न, माया गरिने वा नजिकका व्यक्तिहरुलाई अंकमाल गर्न थाल्छौं र जनजीवन फेरि पहिलाकै जस्तो सामान्य बन्छ भन्ने तर्क छ ।  

अर्कोतर्फ, कोभिड-१९ का कारण अब आधारभूत रूपमा धेरै कुरा परिवर्तन हुन्छ भन्ने छ । 

यी दुवै आकलन तथा तर्कमध्ये कुन चाहिँ सत्यको नजिक होला ? यसलाई प्रष्ट्याउन म एउटा सन्दर्भिक उदाहरण दिन चाहन्छु ।  

जब ९–११ (आतंककारी हमला) भयो सबैजना हवाई जहाजमा उड्नै छाडे । सबैजना डराएका थिए । सोपछि वायुसेवा कम्पनीहरुले यात्रुलाई उनीहरुको उडान शतप्रतिशत सुरक्षित भएको प्रत्याभूत गराउने भन्दै एयरपोर्ट आउन आग्रह गर्न थाले । र, जसै यात्रुहरु विमानस्थल जान थाले त्यहाँ उनीहरुको हरेको कुराको चेकजाँच पहिलेभन्दा कडा गरियो, पानीका बोटल समेत ल्याउन निषेध गर्न थालियो । अर्थात् सुरक्षाका नाममा यात्रुको झन्झट बढ्यो । र त्यो अहिलेसम्म कायम छ ।

आपतकालीन अवस्थामा त्यो सब गर्नु ठिकै हुन्छ, किनकि अन्ततः यसको पछाडि यात्रुको सुरक्षा जोडिएको हुन्छ । यसका बाबजुद विस्तारै हवाई यात्रा गर्ने मान्छे बढ्दै गए र यो सामान्य बन्यो । 

अब पनि यस्तै हुनेछ । मात्र कुनै व्यवसाय अलिक बढी प्रभावित होलान्, कुनै कम । असर नपर्ने वा फरक तरिकाले संचालन गर्ने केही व्यवसायले उल्लेख्य रुपमा आफ्नो बजार बढाउलान् पनि । 

यो सबै पृष्ठभूमिमा डिजिटल दुनियाँ असाध्यै महत्त्वपूर्ण छ । सन् १९९० मा २६ लाख डलर बराबरको रहेको डिजिटल स्पेसको आकार आज ४.३९ अर्ब डलरको पुगिसकेको छ । एक दशकअघिसम्म पनि यो दुई अर्ब डलरभन्दा कम थियो । 
प्रविधि प्रयोग गर्न वा प्रविधिमार्फत काम गर्न धेरै सजिलो हुने भएकाले पनि यसलाई अपनाउने क्रम (एडप्टेसन) तीव्र हुँदै गएकाले डिजिटल वर्ल्डको आकार बढ्दै गएको छ । 
 

अबको दिनमा कुनै पनि प्रकृतिको व्यवसायले जति चाँडो नयाँ प्रविधि वा डिजिटल एडप्टेसन गर्छ उसको व्‍यवसायिक वृद्धि पनि चाँडो हुन्छ । यो कुरा आधुनिक वा आकर्षक व्यवसाय (सेक्सी बिजनेस) मात्र होइन कुनै पनि परम्परागत व्यवसायमा पनि लागू हुन्छ, चाहे त्यो गाईपालन नै किन नहोस् । यसकारण अब हरेक व्यसायले आफूलाई डिजिटाइज गर्ने दिशामा काम थाल्न आवश्यक छ ।

अन्यथा, वर्ल्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लस स्वबले भनेजस्तो - यो नयाँ विश्वमा ठूलो माछाले सानो माछा खाने होइन, तीव्र माछाले सुस्त माछालाई खानेछ ।

(यो लेख चारीले 'रिइमेजनिङ द फ्युचर' थिममा एनसेलले आयोजना गरेको शनिबारको भर्चुअल कार्यक्रममा दिएको प्रस्तुतिका आधारमा तयार पारिएको हो । उनी क्वालालाम्पुर (मलेसिया)स्थित डफ एन्ड फेल्प्सका वरिष्ठ सल्लाहकार हुन्। उनी लामो समय  एनसेलको प्यारेन्ट कम्पनी एक्जियटामा सीएफओ र एक्जियटाको तर्फबाट एनसेलको सञ्चालक समिति सदस्य समेत थिए ।)


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell