हरिकुमार श्रेष्ठविरुद्ध पौने दुई अर्बको मुद्दा, भन्सार छली र विदेशी विनिमय अपचलन गरेको दाबी

बिजमाण्डू
२०७७ असोज २५ गते १९:४५ | Oct 11, 2020
हरिकुमार श्रेष्ठविरुद्ध पौने दुई अर्बको मुद्दा, भन्सार छली र विदेशी विनिमय अपचलन गरेको दाबी

Tata
GBIME

काठमाडौं। भन्सार छलीको सामानको भुक्तानी विदेश पठाएको आरोपमा व्यवसायी हरिकुमार श्रेष्ठविरुद्ध १ अर्ब ७१ करोड माग दाबीसहित मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गर्ने हाइटेक इन्टरनेशनल प्रालि र सञ्चालक श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

विभागले श्रेष्ठलाई ३ वर्ष कैद सजायको समेत माग गरेको छ। हाइटेकका सञ्चालक श्रेष्ठले भन्सार बिन्दुबाट चोरी पैठारी गरी नेपाल ल्याएर ती मालवस्तुको यथार्थ कारोबार नदेखाई राजस्व चुहावट गरेको आरोप छ। ती चोरी पैठारी गरी ल्याएको मालवस्तुको भुक्तानीका लागि बैंकको स्वीकृतिसमेत नलिई गैरकानूनी रुपमा विदेशमा रकम पठाएर विदेशी विनिमय अपचलन गरेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ।

चोरीको मालवस्तुको मूल्य १ अर्ब ७१ करोड ५६ लाख बराबरको रकम विदेश पठाई विदेशी विनिमय अपचलन गरेको विभागको दाबी छ। श्रेष्ठविरुद्ध विभागले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ बमोजिम मुद्दा दायर गरेको हो।