नेपालमा एक हप्तामै थपिए एक लाख ५० हजार बढी बेरोजगार, कति पुग्यो बेरोजगारको संख्या?

बिजमाण्डू
२०७७ असोज २५ गते १२:३० | Oct 11, 2020

Tata
GBIME

काठमाडौं। नेपालमा पछिल्लो एक हप्तामै एक लाख ५० हजारभन्दा बढी बेरोजगार थपिएका छन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको असोज तेस्रो साताको साप्ताहिक प्रगति विवरण प्रकाशित गर्दै एक लाख ५३ हजार १६२ जना बेरोजगारहरु सूचीकृत भएको उल्लेख गरेको छ।

यसअघि असोज १५ गतेसम्म चार लाख १६ हजार ५९१ जना बेरोजगारको सूची दर्ता भएको थियो। पछिल्लो एक हप्तामा डेढ लाखभन्दा बढी बेरोजगार सूचीकृत भएसँगै नेपालमा चालु आर्थिक वर्षमा पाँच लाख ६९ हजार ६५३ जना बेरोजगारको सूचीमा परेका छन्।

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका, नेपालमै पनि रोजगारी गुमाएकाहरुले बेरोजगारको सूचीमा सूचीकृत हुन आवेदन दिएपछि बेरोजगारको संख्यामा वृद्धि भएको हो।

अहिले बेरोजगार सूचीकृत भएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिने मन्त्रालयले जनाएको छ।