अब निषेधाज्ञा नभए निर्माण उद्योगले गति लिने, ‘आत्तिनु पर्ने अवस्था भने छैन’

बिजमाण्डू
२०७७ असोज ६ गते १२:०१ | Sep 22, 2020
अब निषेधाज्ञा नभए निर्माण उद्योगले गति लिने, ‘आत्तिनु पर्ने अवस्था भने छैन’

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञा खुले पनि माग नहुँदा निर्माण सामाग्री उद्योगको उत्पादन ३० प्रतिशतमा सीमित भएको छ।

निषेधाज्ञासँगै व्यक्तिगत घर, व्यवसायिक परियोजना र सरकारका विकास आयोजनाको काम सुस्त हुँदा निर्माण सामाग्री उद्योगको उत्पादन बढ्न नसकेको हो। ठूला लगानीमा स्थापना भएका सिमेन्ट, छड लगायतका उद्योगले निषेधाज्ञापछि समस्या झेल्न थालेका छन्।

‘हाम्रो सिमेन्ट र डन्डी उद्योग ३० प्रतिशत क्षमतामा चलेका छन्। माग नै नभएकाले हामीले उत्पादन कटौती गरेका हौं,' सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले बिजमाण्डूसँग भने, ‘निषेधाज्ञा खुले पनि बजारमा निर्माण सामाग्रीको माग नै छैन।’ 

सौरभ ग्रुप अन्तर्गत सात वटा भर्टिकल छन्। त्यसमध्ये सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, जगदम्बा सिन्थेटिक लगायतका निर्माण सामाग्रीसँग सम्बन्धित उद्योग छ। उनका अनुसार एक लाख टन क्लिंकर उत्पादन क्षमता रहेको उद्योगले अहिले ३० हजार टन मात्रै उत्पादन गर्दै आएको छ। 

लक्ष्मी स्टीलको हालत पनि त्यस्तै छ। १० हजार टन उत्पादन गर्ने उद्योगले अहिले ६ हजार टन मात्रै उत्पादन गर्दै आएको छ। एक करोड सिमेन्टको खाली बोरा उत्पादन गर्ने जगदम्बा सिन्थेटिकबाट अहिले ६० लाख मात्रै उत्पादन भइरहेको छ।

‘लकडाउन लगाउँदा होटल र एयरलाइन्स उद्योगका साथीहरुले संकट सुनाउनुहुन्थ्यो। त्यो हाम्रोतिर सरेको जस्तो लाग्दैछ,’ उनले भने, ‘तत्कालै माग बढ्ने अवस्था पनि देख्दिन्।’ यही अवस्था शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टील, रिद्धिसिद्धि सिमेन्ट लगायतका निर्माण सामाग्री उद्योगमा पनि छ। ‘अहिलेको अवस्था ज्यादै नै खराब छ। बजारमा निर्माण सामाग्रीको डिमान्ड नै छैन,’ समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘निर्माण उद्योगका लागि निराशाजनक अवस्था छ।’ 

जगदम्बा स्टील नेपालकै सबैभन्दा ठूलो डन्डी उद्योग हो। यो उद्योग अहिले क्षमताको ३० प्रतिशतकै हाराहारीमा मात्रै संचालनमा छ। 

किन मन्दी छ व्यापार?
निर्माण सामाग्री उद्योगको खपत ३० प्रतिशत सरकारी विकास आयोजना, २० प्रतिशत निजी व्यवसायिक परियोजना (जलविद्युत,मल, होटल) र ५० प्रतिशत व्यक्तिगत आवास लगायतमा हुन्छ। 

कोभिडपछि विकास आयोजनाको काम लगभग ठप्प प्राय छ। लकडाउनको समयमा केही विकास निर्माणको काम पनि निषेधाज्ञामा रोकियो। कोभिड संक्रमण बढेपछि सरकारले विकास आयोजनाभन्दा स्वास्थ्य लगायतका क्षेत्रमा केन्द्रित भइरहेको छ। यो बेलामा सरकारी खर्च हुने बेला पनि होइन। विकास खर्च नगन्य भएपछि त्यसले मागलाई घटायो। 

कोभिडका कारण निजी व्यवसायिक परियोजनाको कामसमेत रोकिएका छन्। व्यक्तिगत आवास समेत कोभिडका कारण प्रभावित बनेको छ। असार, साउन र भदौमा वर्षात हुने भएकाले समेत निर्माणको काम कम हुन्छ। त्यही भएर सिमेन्ट र डन्डीको कारोबारमा मन्दी आएको हो।

‘आत्तिनुपर्ने अवस्था छैन’
जस्तापाता र सिमेन्ट उद्योग लगायतको निर्माण सामाग्री उद्योगमा लगानी गरिरहेको आरएमसी समूहका अध्यक्ष राजेश अग्रवालले वर्षातको समयमा निर्माण सामाग्रीको बिक्री मन्दी हुनु स्वभाविक रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। 

‘असार, साउन र भदौमा सिमेन्ट र डन्डीको बिक्री कम नै हुन्छ। अहिलेको बिक्रीलाई हेरेर आत्तिनुपर्ने अवस्था छैन्,’ उनले बिजमाण्डूसँग भने, ‘चाडपर्वपछि निर्माण सामाग्री उद्योगमा डिमान्ड आउँछ। अहिलेनै खराब अवस्था आयो भन्नु तर्क संगत होइन।’ 

यो समूहको १० महिना अघि पाल्पा सिमेन्ट संचालनमा आएको थियो। यो उद्योगबाट तानसेन ओपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ।

उनका अनुसार सरकारी खर्च बढाउनेतर्फ भने जोडबल गर्नुपर्छ। ‘सरकारले अहिले सबै कार्यालयलाई मितब्ययी बन्न निर्देशन दिइरहेको छ। तर अहिलेको अवस्था भनेको मितब्ययी बन्ने भन्दा पनि गुणस्तरीय रूपमा खर्च गर्न निर्देशन दिने हो,’ अग्रवालले भने, ‘कुनै पनि सामान किन्दा बरु स्वदेशी उद्योग नै प्रयोग गराउनेतर्फ केन्द्रित हुने हो।’ 

उनले विश्वव्यापी महामारीको अवस्थामा तत्कालै आउने परिस्थिति अनुसार योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे। ‘महामारीको समयमा अहिले यहाँ तरलता धेरै भएको छ। नसोचेको अवस्था आउने भएकाले त्यही अनुसार योजना अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘त्यो परिस्थितिलाई सामना गर्न सक्नुपर्छ।’ शंकर समूहका प्रबन्ध निर्देशक साहिल पनि चाडपर्वपछि निर्माण सामाग्रीको माग बढ्नेमा विश्वस्त छन्। 

‘अब लकडाउन वा निषेधाज्ञा भएन भने दसैंतिहार र छठपछि निर्माण सामाग्री उद्योगले गति लिने देखिन्छ। त्यो बेलामा सरकारी विकास निर्माणको काम पनि सुरु हुन्छ,’ उनले भने, ‘म धेरै नै आशावादी छु।’