लकडाउनमा थला परेका साना उद्योग-व्यवसाय कसरी चलाउने?रमेशकुमार भट्टराईको लेख




मध्यपुर ठिमी नगरपालिका, निकोसेराका किराना व्यवसायी सुदीप अधिकारी लकडाउनको कारण व्यवसाय चलाउन नसकेको र कृषि बैंकबाट लिएको ऋणको बोझ थेग्न नसकेपछि निरास भएर गएको महिना श्रीमति र छोराको हत्या गरी आफूले पनि आत्महत्या गरे। 

कोरोना महामारीको कारण चैत ११ गतेबाट भएको लकडाउन र त्यसपछि भएको निषेधाज्ञाको कारण व्यवसाय चलाउन नपाएका, व्यवसाय बन्दको कारण कर्मचारी र परिवारको पालन पोषण गर्न नसकेका र ऋणको बोझले थिचिँदै गएका लाखौं व्यवसायीहरु सडकमै आइसकेका छन्। यो जटिल अवस्थाको सामना गर्न नसकेकाहरु भटाभट सुदीप अधिकारीले जस्तै आत्महत्याको बाटो रोज्न थालेका छन्। 

TaTa
TVS

रेल, पानी जहाज र सुरुङ मार्गको ठुला ठुला परियोजना घोषणा गर्दै आएको सरकार जनतालाई सामान्य स्वास्थ्य सेवा उपलब्ध गराउन र दुई छाकको जोहो गरिदिन तत्पर देखिँदैन। सयौं मान्छे हस्पिटल पुग्न नसकेर मरिरहेका छन्। लाखौं मान्छे रोजगार र व्यवसायविहीन भएका छन्। केहीले आत्महत्याको अप्रिय बाटो रोजिरहेका छन्। संकटको यस्तो विकराल अवस्थामा गैरजिम्मेवार देखिएको सरकार कर उठाउन र झुठो आश्वासन दिएर रमाउनमा नै व्यस्त देखिन्छ।

महामारीको बेला रोग र भोकले देशको अवस्था लथालिंग छ। सर्वत्र निराशाजनक अवस्था छ। मरिने डर त हरबखत हुन्छ तर पनि अन्तिम अवस्थासम्म ज्यान जोगाउन संघर्ष गर्नु मानिसको कर्तव्य र धर्म पनि हो। त्यसैले यस्तो प्रतिकूल अवस्थामा पनि केही अपवादलाई छाडेर लाखौं बन्द अवस्थामा रहेका उद्योग व्यवसाय, विशेषतः घरेलु तथा साना उद्योग र साना व्यापारलाई कसरी संचालन गर्ने भनि प्रमुख समस्या र चुनौती आइपरेको छ। यदि यी लाखौं साना साना उद्योग व्यापारलाई खोल्न सकिएन भने 'मरता क्या नही करता' भने झैं यी निरीह व्यवसायी सामु आत्महत्या वा विद्रोह गर्नु बाहेकको विकल्प रहँदैन। भोको पेटले कुनै वाद, नैतिकता र राष्ट्रियता हेर्दैन। बाँच्नका लागि उसले जे पनि गर्न सक्छ भन्ने हेक्का सरकारले राख्नु जरुरी छ। 

यहाँ अहिले कोरोनाको कारण बन्द रहेको उद्योग व्यवसाय सम्भव भएसम्म कसरी संचालन गर्न सकिन्छ त्यस बारेमा चर्चा गर्न गएको छु। म स्वंय पनि साना साना धेरै व्यवसायमा संलग्न भएकाले व्यवहारिक र फलदायी हुने विश्वास लिएको छु।

लकडाउनमा थला परेको उद्योग व्यवसाय निषेधाज्ञामा पूर्णतः बन्द अवस्थामा थिए। अहिले आएर निषेधाज्ञा खुकुलो त पारिएको छ, तर उद्योग ब्यवसाय पूर्ण रूपमा खुलिसकेका छैनन्। स्वास्थ्य र खाने पिउने व्यवसाय बाहेक अधिकांश चलेका छैनन्। राहतको नाममा सरकाले सुको पैसो दिएको छैन। बैंक कर्जा लिनेको हकमा केही सुविधा घोषणा भए पनि पूर्णतः कार्यान्वयनमा आउन बाँकी नै छ। त्यसैले सरकारको मुख नहेरी आफैंले प्रयास गरेर भए पनि बन्द उद्योग व्यवसाय कसरी शुरु गर्न सकिन्छ? 

आत्मबल र आत्म विश्वासको श्रृजनाः- सर्वप्रथम निराश मनस्थितिबाट उठ्नु जरुरी छ। गाउँमा बाढी पस्दा घरहरु बगाउँछ, कति मानिसको ज्यान जान्छ। तर किनारा लागेकाहरु संघर्ष गरेर फेरि अघि बढेका हुन्छन्। लकडाउन निषेधाज्ञाले धेरैलाई लडाएको छ। तर उठेर फेरि सम्हालिन सकिन्छ। तसर्थ आत्मबल बलियो बनाएर म सक्छु भनेर आफुमा विश्वास गरी सर्वप्रथम व्यवसाय चलाउने मनस्थिति बनाउनु जरुरी हुन्छ। 

१. आफ्नो व्यवसायको वास्तविक समीक्षाः- आफुले चलाइ रहेको व्यवसायको अवस्था अध्ययन गर्नुस्। त्यस्तै व्यवसाय कतिको चलेको छ, चल्ने अवस्था छ कि छैन? उद्योग व्यवसाय चलाएर खर्च धान्न सकिने अवस्था छ कि छैन? अहिले नाफा हेर्ने समय हैन। कसरी बाँच्ने, त्यो मात्र सोच्ने हो। अहिले जो बाँच्छ त्यो टिक्छ र अगाडि बढ्छ। समय सँधै एकनाशको रहँदैन। कोरोना कालपछि व्यवसायमा बाँच्ने जति सबैको प्रगतिको दिन आउँछ, त्यो शत् प्रतिशत सही हो। व्यवसाय चलाएर बाच्न सक्ने अबस्थाको अध्ययन र समीक्षा गर्नुस्।

२. उपभोक्ताहरुको आवश्यकताको पहिचानः- तपाईले प्रदान गर्नु भएको वस्तु वा सेवा उपभोग गर्ने उपभोक्ताको आवश्यकताको पहिचान गर्नुस्। उनीहरु के चाहिरहेका छन्, उनीहरुको आवश्यकता परिवर्तन भएको छ/छैन, तपाइँले दिने वस्तु र सेवा उपयोग गर्ने पहिले जस्तै अवस्था छ कि छैन? त्यस्को अध्ययन र पहिचान गर्नुस। साबिककै राम्रो अवस्था छ भने पुनः संचालन गर्दा समस्या नआउला तर आवश्यकता परिवर्तन भइसकेको छ भने व्यवसाय यथास्थितिमा संचालन गर्नु भन्दा उपभोक्ता चाहना अनुसार परिवर्तन गर्नुपर्ने हुन्छ।

३. कार्यरत कर्मचारी मनस्थितिको अध्ययनः- उद्योग व्यवसाय संचालन गर्दाको कर्मचारीको अवस्था के छ, उनीहरुको सोच कस्तो छ,लकडाउनभित्र व्यवसाय बन्द भएको अवस्थामा उनीहरुको भूमिका सकारात्मक नकारात्मक कस्तो रह्यो, बसीबसी तलब मात्र खान खोजे कि सहयोगी पनि बने, उनीहरुलाई फेरि साथ लिँदा संकटकालमा सहयोगी हुन सक्छन कि सक्दैनन्? यी सबै विषयमा पुनर्चिन्तन गर्नुस्। व्यवसाय पुनः चलाउँदा आफ्नो काम सम्झेर कम तलब (खाने बाँच्ने गरी) मा भए पनि काम गर्न तैयार छन कि छैनन्? सबै राम्ररी अध्ययन गर्नुस्। 

४. वितरण प्रणाली (सप्लाइ चेन) को निर्क्यौलः- आफूले पहिला व्यवसाय चलाउँदाको वस्तु र सेवा वितरणको लागि अपनाइएको सप्लाइ चेनको अवस्था के छ, सरकारले लकडाउन गर्दा वा नगर्दाको अवस्थामा पनि त्यो चेनले काम गर्छ गर्दैन? त्यो सबै निश्चित गर्नु पर्छ। वस्तु र सेवा उत्पादन गरिएला तर वास्तविक उपयोक्ता वा थोक खुद्रा विक्रेता कहाँ पुग्न पाएन भने फेरि ठूलो नोक्सानीको सम्भावना रहन्छ। त्यसैले वितरण प्रणालीको निश्चितता जरुरी हुन्छ।

५. नगद प्रवाहको अवस्थाः- व्यवसाय बन्द भन्दा अघिको अवस्थाको नगद प्रवाहको अवस्था के थियो र अहिले कस्तो छ? अर्थात डेब्टर (उठाउन बाँकी) क्रेडिटर्स (तिर्न बाँकी), बैंक मौज्दात, आफ्नो क्रेडिट कार्डको बाँकी रकम र स्टक मौज्दात कस्तो थियो र अहिले अवस्था के छ? ती सबैको अध्ययन जरुरी हुन्छ। उद्योग व्यवसाय पूनः संचालन गर्ने अवस्थामा न्यूनतम चालु पुँजी चाहिन्छ। डेब्टरबाट आउने सम्भावना कम हुन्छ तर क्रेडिटर्स जति सबै भुक्तानी लिन लाम लाग्न सक्छन। बजारमा उठाउन बाँकीबाट न्यूनतम आउने गणना र तिर्न बाँकीलाई अधिकतम दिनु पर्ने हिसाब गर्नुपर्ने हुन्छ। कच्चा र तैयारी मालको स्टक छ भने त्यसले सपोर्ट गर्न सक्छ।

६. व्यवसायलाई प्रविधिसँग जोड्ने सम्भावनाः- कोरोनाको असर तत्कालै खतम हुने अवस्था छैन। बेला बेलामा लकडाउन र निषेधाज्ञा हुन सक्छ। त्यो बेला वस्तु वा सेवाको वितरण प्रविधिमार्फत गर्न सकिने सम्भावना कतिको छ? त्यो विचार गर्नु पर्छ। अहिले वास्तविक अनलाइन सँगै सानो प्रकृतिको व्यवसाय सोसल मिडिया फेसबुक, भाइबर र ह्वाटसअपको प्रयोग गरेर पनि वितरण प्रणाली चलाउन सकिन्छ। पुनः लकडाउन हुन सक्छ भनि सोचेर व्यवसायको काम नरोकिने विकल्प सोचेर संचालन हुने व्यवसायलाई बन्द हुनबाट जोगाउन सकिन्छ। 

७. थप चालु पुँजीको आवश्यकता र पूर्तिको माध्यमः – बन्द उद्योग व्यवसाय पुनः संचालन गर्न ठुलै साहस चाहिन्छ। सबै अवस्था अनुकूल बनाउँदा पनि आवश्यक चालु पुँजी व्यवस्था गर्न सकिएन भने कुनै अर्थ रहँदैन। त्यसैले उद्योग व्यवसाय चलाउन न्यूनतम कति चालु पुँजी चाहिन्छ? निर्क्यौल गरी थप पुँजीको व्यवस्थाको लागि निम्न उपाय अपनाउन सकिन्छ। 

क)  पुनर्कर्जा लिन सकिनेः- नेपाल राष्ट्र बैंकले १ खर्बको पुनर्कर्जा कोष बनाई साना तथा घरेलु उद्योग पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी तीन क्षेत्र निर्धारण गरेको छ। यो व्यवसायलाई निज व्यवसायीले बैंक वित्तीय संस्थामा विगतमा कर्जा भुक्तानी गरेको आधारमा बढीमा ५ प्रतिशतसम्म सस्तो ब्याजदरमा पुनर्कर्जा दिने भएकोले बैंकबाट लिन सकिन्छ।

ख)  धितो सुरक्षणमा थप कर्जा लिन सकिनेः- एउटा बैंक शाखाबाट ५ जनाले पुनर्कर्जा पाउने भनेकोले पुनर्कर्जा सबैले पाउने सम्भावना कमै छ। अतः आफूले कर्जा लिएको बैंकमा सम्पर्क गरी धितो सुरक्षणले खामेसम्म आवश्यक कर्जा लिएर थप पूुँजी जुटाउन सकिन्छ। ब्याज पुनर्कर्जाभन्दा केही बढी अर्थात ४/५ प्रतिशत माथि पर्न सक्छ। यसरी थप कर्जा लिँदा पहिले लिएको कर्जाको साँबा ब्याज तिर्न थप एक वर्ष अवधि लिनु पर्ने हुन्छ। तत्काल साँवा किस्ता र ब्याज तिर्ने बोझबाट बच्ने उपाय निकाल्नु पर्छ।

ग)  आफन्तसँग छोटो अवधिको कर्जा लिन सकिनेः- विगतमा संचालन गरिरहेको उद्योग व्यवसायको सम्भावना राम्रो रहेको अवस्थामा साथीभाईसँग सापटी पाउन सकिन्छ। पहिले देखि राम्ररी चिनेका र उद्योग व्यवसाय संचालन गर्नेको उद्यमशीलतामा विश्वास भएको अवस्थामा आफन्तहरुसँग कर्जा लिएर चालु पुँजीको व्यवस्था गर्न सकिन्छ।

घ) नयाँ पार्टनर बनाइ पुँजी जुटाउन सकिनेः- राम्रोसँग संचालन भइ बन्द भएको व्यवसायमा पार्टनर वा साझेदार बन्ने चाहना कतिपयले पहिलेदेखि बनाएका हुन सक्छन्। एक्लै गरौं एक्लै कमाउँ भन्ने सोच छोडेर आफूसँग विश्वास भएको व्यक्तिलाई पार्टनर बनाई थप चालु पुँजीको व्यवस्था गर्न सकिन्छ। नयाँ पार्टनर हाल्दा विश्वासिलो र सहयोगी मान्छे राख्नु पर्छ।

ङ) संकटको लागि जोडेको सम्पत्ति बिक्री गर्न सकिनेः- हाम्रो समाजमा संकट पर्दा प्रयोग गर्ने गरी आ-आफ्नो तरिकाले पुँजी जोडिएको हुन्छ।घरका महिला सदस्य सुनका गहना, कमाउनेले बीमा पोलिसी, सेयर, मुद्दती र जग्गा जमिन केही न केही जोडीएको हुन्छ। कोरोनाको कारण उद्योग व्यवसाय बन्द भएको जस्तो ठूलो संकट केही हुन सक्दैन। बाँचियो र फेरि कमाउन थालेमा यस्ता सम्पत्ति फेरि जोड्न सकिन्छ। बन्द व्यवसाय संचालन गर्न वा वैकल्पिक अर्को व्यवसाय गर्न पुँजी भएन भने गरगहना, सेयर,मुद्दती, बीमा पोलिसी र जग्गा, जे छ सो बिक्री गरी पुँजीको जोहो गरी काम गर्न सकिन्छ।

८. वैकल्पिक आयको लागि थप व्यवसाय संचालनः- कोरोनाको असर लामो समय जान सक्छ। चलाउन खोजेको व्यवसाय भविष्यमा पुनः लकडाउनको मारमा पर्न सक्छ।त्यसैले भविष्यको आर्थिक भारलाई न्यूनीकरण गर्न सानो  पुँजीमा गर्न सकिने वैकल्पिक आम्दानी हुने व्यवसाय गर्न सकिन्छ। परिवारको अन्य सदस्यलाई संलग्न गराई किराना पसल, तरकारी व्यवसाय, माछामासु तथा अण्डा व्यवसाय, औषधिजन्य व्यवसाय, आफू बसेको एरियामा सानो सानो स्केलमा गरेर पनि वैकल्पिक आय गर्ने तर्फ सोच्न सकिन्छ।

९.  सहयोगी एनजीओ/आइएनजीओको सहायताः-कोरोना माहामारीको मारमा परेका साना उद्योगी व्यवसायमीलाई सहयोग गर्न थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय दाता संस्थाहरु छन। तिनको खोजी गरी पाउने सहयोग र साथ लिएर पनि केही गर्न सकिन्छ। यसतर्फ पनि ध्यान दिनु पर्छ।

यसरी माथि उल्लेखित भएका विभिन्न अवस्थाको सुक्ष्म अध्यन विश्लेषण गरी बन्द भएको उद्योग व्यवसायलाई सुचारु गर्न सकिन्छ। सधैं निराश भएर भाग्यलाई मात्र दोष दिइ केही प्रयास नगर्नेले आफू र परिवारलाई नराम्रो प्रभाव पार्न सक्छ। जस्तोसुकै ठूलो समस्यामा  पनि साहस गरी धैर्यतापूर्वक प्रयास गरेमा नहुने यो संसारमा केही छैन। त्यसैले बन्द उद्योगी व्यवसायीले म गर्न सक्छु भन्ने आत्म विश्वासका साथ अगाडि बढ्नु पर्छ। प्रयास गर्दै जाँदा उपायहरु आउँदै जान्छन र उद्योग व्यवसाय सुचारु भइ सफलतातिर अगाडि बढ्न सकिन्छ। चलिरहेको गाडीमा नै मानिस बस्न रुचाउँछन। बन्द गाडीमा कोही चढ्दैनन् र अन्ततः कबाड बन्न जान्छ। यो यथार्थतालाई बुझेर आफूलाई चलायमान बनाउनुस्। अवसरहरु आउँदै जान्छन्। धैर्यता, आत्मविश्वास, मेहनत र निरन्तरता भएमा सफल अवश्य भइन्छ।
(भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्)


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell