अमेरिकाको चौथो ठूलो सिटी बैंकमा पहिलो महिला सिइओ, कोरोना असरबाट उकास्ने जिम्मा

बिजमाण्डू
२०७७ भदौ २६ गते १२:१० | Sep 11, 2020

Tata
GBIME
Nepal Life

सिटी ग्रुपले वालस्ट्रिटस्थित बैंकको नयाँ नेतृत्वका लागि पहिलोपटक महिला सिइओ छानेको छ।

हाल सिटी बैंककी अध्यक्ष तथा ग्लोबल कन्जुमर डिभिजनकी प्रमुखका रूपमा कार्यरत ब्रिटोन जेन फ्रेजरलाई सिइओको जिम्मेवारीमा छनोट गरेको हो। पुरुष प्रधान अमेरिकी वित्तीय क्षेत्रमा उनको नियुक्तिलाई शक्तिशाली महिलाको आगमनका रूपमा लिइएको छ। जेनलाई बैंकको बोर्डमा समेत चाँडै नै लैजाने पनि बैंकले जनाएको छ।

हाल सिइओ रहेका माइकल कोर्बाटले आगामी फेब्रुअरीदेखि अवकाश लिनेछन्। ३७ वर्षदेखि बैंकमा काम गरेका माइकलले बिगत ८ वर्षदेखि बैंकको नेतृत्व लिइरहेका छन्।

जेनले अब माइकलको स्थान लिनेछिन्। स्कटल्याण्डकी जेन बिगत १६ वर्षदेखि सिटी ग्रुपमा आबद्ध छिन्। सन् २०१९ देखि उनी ग्लोबल कन्ज्युमर डिभिजन हेडका रूपमा १९ देशसँगको बिजनेस हेर्दै आएकी छन्। उनलाई केही समयअघिमात्र अमेरिकाकै अर्को टप बैंक वेल्स फार्गोले सिइओका रूपमा प्रस्ताव राखेको थियो।

सिटीको संचालक समितिका अध्यक्ष जोन डुगानले जेनले बैंकलाई अर्को उचाइमा लैजाने बताए।

'उनीसँग बैंकिङ बिजनेस तथा अन्तर्राष्ट्रिय क्षेत्रको गहिरो अनुभव  र ज्ञान छ, त्यसैले हामी उनीको क्षमतामाथि विश्वस्त छौं,' उनले भने।

जेनलाई 'सोलिड ट्रयाक रेकर्ड' भएकी बैंकरका रूपमा लिइन्छ।

हाल अमेरिकाको स्टक मार्केट एसएण्डपी ५०० मा सूचीकृत प्रमुख कम्पनीहरुमा समेत जम्मा ३१ जना महिला मात्रै टप मा पुग्न सफल भएका छन्, जसमध्ये बैंकर कोही पनि छैनन्।  

गत वर्ष रोयल बैंक अफ स्कटल्याण्डले एलिसन रोजलाई आफ्नो पहिलो सिइओका रुपमा नियुक्त गर्दै उनलाई अमेरिकाको ठूला बैंकहरुमध्ये एकको नेतृत्व गर्ने पहिलो महिलाको परिचय दिलाएको थियो।

अमेरिकाको चौथो ठूलो बैंक सिटीमा जेनले ठूला मुद्दाहरुको नेतृत्व पटक पटक गरेकी थिइन्। उनले वित्तीय संकटका बेला बैंकको कर्जा विभागमा काम गरेकी थिइन् भने मेक्सिकोस्थित बैंकमा भएको 'स्क्यान्डल' को समाधानको जिम्मा पनि उनैलाई दिइएको थियो।

कोरोना महामारीका कारण देखिएको आर्थिक संकटका बेलामा भएको नियुक्तिले उनमा बैंकको पर्फर्मेन्स देखाउन कडा मेहनत गर्नुपर्ने जिम्मेवारी छ।

हालैको त्रैमासमा सिटीको नाफा ७३ प्रतिशतले खुम्चिएको छ। र बैंकले ब्यहोर्नुपर्ने संभावित ७ अर्ब डलरको नोक्सानलाई पूर्ति गर्नुपर्ने जिम्मा पनि उनकै काँधमा आइपुगेको छ।

दोस्रो त्रैमासमा बैंकको रेभेन्यू ५ प्रतिशतले वृद्धि भइ १९.७७ अर्ब पुगेको भए पनि नाफामा ७३ प्रतिशतको कमी देखिएको थियो। बैंकले सम्भावित ऋणको घाटालाई प्रोभिजनिङ गरेका कारण बैंकको नाफा घटेको हो।

गत वर्षमात्रै जेनलाई सिटीको दोस्रो नम्बरमा 'प्रमोट' गरिएको थियो। उनको पदोन्नतिलाई नै उनलाई सिइओ बनाउने तयारीका रूपमा विश्लेषण भइरहेको थियो।

जेन भन्छिन्-'कुशल नेतृत्वकर्तामा भिजन सेट गर्नु, अप्ठेरोलाई जित्ने साहस गर्नु र प्रश्न सोध्न नछोड्ने गुण हुनुपर्छ।'

जेनले हार्वर्ड बिजनेस स्कुल र क्याम्ब्रिज युनिभर्सिटीबाट डिग्री लिएकी छन्। ५३ वर्षकी उनले आफ्नो करियर लण्डनस्थित गोल्डम्यान साचबाट सुरु गरेकी थिइन्। त्यसपछि उनले कन्सल्टिङ जायन्ट म्याक किनसेसँग आबद्ध रहिन्। त्यसपछि उनले सिटी बैंक ज्वाइन गरेकी थिइन्।

उनी अवसरको खोजीमा अमेरिका छिरेको बताउँछिन्। दुई बच्चाकी आमा जेनले वर्क लाइफ ब्यालेन्सका विषयमा भनेकी छन्- 'तिमी कहिल्यै पनि एकैपटक सबै कुरा हासिल गर्न सक्दैनौ। तर सबै पाउन दशकौंको मेहनत लाग्छ। मेरै जीवनका पनि विविध आयामहरु छन्। जब मेरा बच्चाहरु साना थिए, म उनीहरुको वरिपरि धेरै रहन्थें तर अब समय फरक भएको छ।'

जेनको नियुक्तिलाई महिलाहरुका लागि बैंकिङ क्षेत्रमा अझ बढी अवसर र उत्प्रेरणाका रूपमा लिनुपर्ने विज्ञहरुको भनाई छ। 'अमेरिकाको वित्तीय  क्षेत्रमा महिलाहरुका लागि यस नियुक्तीले विशष अर्थ राख्छ,' इन्स्टिच्यूट फर उमन्स पोलिसी रिसर्चकी सिइओ निकोल मेसनले भनिन्। 

सन् २०१९ मा अमेरिकामा भएको एक अध्ययन अनुसार वित्तीय क्षेत्रमा काम गर्नेमध्ये आधा जति महिलाले मात्र इन्ट्री लेभल पार गर्न सक्छन् भने त्यसमा पनि पाँचमध्ये एक महिलामात्र सि-सुट पोजिसनमा।

अमेरिकामै सन् २०२० मा सार्वजनिक भएको एक प्रतिवेदन अनुसार सन् २०१९ मा जम्मा ६ प्रतिशत महिला मात्र विश्वभरका प्रमुख वित्तीय संस्थाहरुको सिइओ पदमा पुग्न सफल भएका थिए।

वित्तीय क्षेत्रहरुमा महिलालाई प्रमुखको भूमिका दिन अमेरिकामै पनि कन्जुस्याइँ गरिन्छ।

हालैका वर्षहरुमा मात्र वालस्ट्रिटमा केही हाइ प्रोफाइल मुभ भएका छन्। जेपी मोर्गान चेजमा गत वर्षमात्रै दुई नेतृत्वदायी भूमिका महिलालाई दिइएको थियो।

यसैगरी न्यूयोर्क स्टक एक्सचेन्जले पनि सन् २०१८ मा पहिलो महिला अध्यक्षका रूपमा स्ट्यासी कनिङहामलाई पाएको थियो। यस्तै नास्दाकले पनि सन् २०१७ मा एडिना फ्राइडम्यानलाई अध्यक्ष तथा सिइओका रूपमा नियुक्त गरेको थियो।