पोखरामा पर्यटन क्षेत्र गतिशील बनाउने तयारी, भदौ १ गतेदेखि पर्यटक बोक्ने गाडी चलाउने 


पोखरा। मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गर्दै पर्यटनजन्य होटल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत व्यवसायीलाई आग्रह गर्‍यो। 

पोखरामा व्यवसायीले ठूलै लगानी गरे। भ्रमण वर्ष शुरु हुँदा नहुँदै फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पर्यटनसहितका क्षेत्र ठप्प बनेपछि यहाँका व्यवसायी यतिखेर चिन्तामा छन्। भ्रमण वर्ष शुरु हुनुअगावै होटेल तथा रेष्टुराँमा पूर्वाधार थप गरिनुका साथै नयाँ होटल बन्ने क्रमले गति लिएको थियो । 

Sipradee
Sanima Bank
TVS

त्यहीअनुरुप पर्यटकलाई आवतजावत गराउने सुविधासम्पन्न पर्यटक बस थप्ने क्रम पनि बढेको थियो। पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन ३५ लाख रुपैयाँका कारदेखि सुविधा सम्पन्न डेढ दुई करोड रुपैयाँसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् ।
भ्रमण वर्षलाई लक्षित गरी पछिल्लो समयमा मात्रै पोखरामा झण्डै ५० करोड रुपैयाँ बराबरका पर्यटक सवारीसाधन व्यवसायीले खरिद गरेको नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए। 

 'नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेसँगै व्यवसायीले पछिल्लो समयमा मात्रै पनि धेरै लगानी गरिसकेका छन्,' उनले भने, 'लगानी गरेसँगै एकाएक भित्रिएको कोरोना महामारीले पर्यटन यातायात क्षेत्रको अबौंको लगानी यतिखेर जोखिममा परेको छ।'

उनका अनुसार संघमा हाल विभिन्न क्षमताका ४ सय पर्यटक बोक्ने सवारीसाधन छन्। संघमा आबद्ध पर्यटक सवारी साधन बन्दाबन्दी शुरु भएयता थन्किएर बस्नुपर्दा दैनिक न्यूनतम दुई लाख रुपैयाँ घाटा ब्यहोर्नुपरेको उनले दाबी गरे। 

बन्दाबन्दी खुला गरी सार्वजनिक सवारीसाधन सञ्चालनका लागि अनुमति दिइसकेका अवस्थामा अन्य पर्यटक सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । 
व्यवसायीले पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको पोखराबाट पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले बताए। 

'हामी पर्यटकलाई जुनसुकै गन्तव्यमा पुग्नका लागि पनि सुरक्षित भएर यात्रा गर्दैछु भन्ने अनुभूति गराउने गरी तयारीमा जुटेका छौं,' उनले भने, 'पर्यटक सवारी साधनलाई विश्व स्वास्थ्य संगठन एवं नेपाल सरकारको सुरक्षा मापदण्डअनुसार स्यानेटाइजर गर्ने र सवारी चालक एवं सहयोगी कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउनका लागि तालिम दिन थालिसकेका छौं।' 

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटक बसमा खटिने कर्मचारीका लागि तालिम दिन शुरु गरेको हो।  

सामाजिक दूरी कायम गर्दै संघले प्रत्येक समूहमा २५/२५ जनाको दरले सवारी साधनको स्यानेटाइज एवं यातायात कर्मचारीले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डलगायतका विषयमा जानकारी दिन तालीम थालेको छ। उनका अनुसार पहिलो चरणमा तीन समूहका ७५ जनालाई तालिम दिइसकेको छ। 

अगामी भदौ १ गतेदेखि सवारी साधन सञ्चालनमा ल्याउने गरी सबै किसिमका तयारी अघि बढाइएको उनले जानकारी दिए। 
 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell