भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगायो, चीनको ठूलो बजार हिस्सा गुम्ने

बिजमाण्डू
२०७७ असार १६ गते १०:५५ | Jun 30, 2020

Tata
GBIME
Nepal Life

नयाँ दिल्ली। भारतले ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। चीनसँग सीमा विवाद चर्किँदै जाँदा भारत सरकारले ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको हो।

टिकटक, युसी ब्राउजर लगायत भारतमा लोकप्रिय रहेका एपहरु नचलाउने गरी नरेन्द्र मोदी सरकारले प्रतिबन्ध लगाएको हो। मोबाइल र इन्टरनेट चल्ने सबै किसिमका उपकरणहरुमा यी एपहरु चलाउन नमिल्ने गरी प्रतिबन्ध लगाएको हो। पछिल्लो समयमा सीमा क्षेत्रमा चीनसँगको हिंसात्मक झडपपछि भारतमा बाइकट चाइना ह्यासट्यागको ट्रेन्डिङ नै चलिरहेको छ।

चिनियाँ एपका कारण भारतको सार्वभौमसत्ता र अखण्डतामा असर पर्ने तथा त्यसबाट भारतको राष्ट्रिय सुरक्षामा खतराको पुग्ने भन्दै प्रतिबन्ध लगाएको भारतको सूचना तथा संचार मन्त्रालयले उल्लेख गरेको छ। हाल प्रतिबन्ध लगाएका एपहरुको प्रयोगबाट केही भारतीय नागरिकहरुले गोपनीयता भंग भएको भन्दै उजुरी दिएको समेत जनाइएको छ।

टिकटक, हेलो, लाइकी, यूसी ब्राउजरजस्ता धेरै एपहरु भारतमा धेरै नै लोकप्रिय छन्। यसमाथि प्रतिबन्धको घोषणाले चीनलाई त नोक्सान हुन्छ नै, भारतमै पनि धेरै मानिसहरुको यी एपबाट हुने कमाइ खोसिनेछ। मोदी सरकारले प्रतिबन्ध लगाएका ५९ एपमध्ये टिकटकको भारतमा करिब ११ करोड ९० लाख प्रयोगकर्ता छन्। धेरैले टिकटकलाई आफ्नो कमाइको माध्यम पनि बनाउँदै आएका छन्। टिकटक चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन हो।  

यस्तै हेलो एप पनि भारतमा निकै चर्चित छ। यो पनि बाइटडान्स कम्पनीकै उत्पादन हो। हाल भारतमा हेलो एप चलाउने करिब ५ करोड मासिक एक्टिभ यूजर्स भएको तथ्यांक छ। यो एपले भारतको सेयरच्याट एपलाई कडा टक्कर दिँदै आएको थियो। अब यो बन्द भएपछि फेरि सेयरच्याटले मानिसहरुको ध्यान तान्नेछ।

भारतमा लाइकीका कुल ११ करोड ५० लाख यूजर्स छन्। यो एप टप सेभेन एपमा पर्छ जसलाई भारतीयहरु खुबै मन पराउँछन्। चीनबाहेक विश्वमा यूसी ब्राउजलाई एक अर्बभन्दा बढी मानिसले डाउनलोड गरेका छन्। यसमध्ये आधा भारतको रहेको अनुमान गरिन्छ। भारतमा करिब ५० करोड यूजर्सले यो चिनियाँ एप प्रयोग गर्छन्।

भारतमा स्मार्टफोन यूजर्सको संख्या ५० करोडभन्दा धेरै छ। यसबाट के भन्न सकिन्छ भने भारतमा यूसी ब्राउजर्स नभएको मोबाइल कमै मात्र थिए।

चिनियाँ मोबाइल कम्पनी साओमी भारतमा नम्बर १ स्थानमा छ। यो भारतमा अत्यन्तै लोकप्रिय मानिन्छ र भारतको एक चौथाइभन्दा बढी बजारमा कब्जा जमाएको छ । सन् २०१९ को तेस्रो त्रैमासमा भारतमा साओमीका प्रयोगकर्ता २६ प्रतिशत थिए। साओमी यूजर्सले अब मी कम्युनिटी तथा मी भिडियो कल साओमी जस्ता एप्सहरु प्रयोग गर्न सक्ने छैनन्।

भारत चीन धेरै ठूलो बजार हो। भारतीयहरुले हेलो, लाइकी, वीबो, टिकटक, यूसी ब्राउजरजस्ता एपहरु धेरै नै प्रयोग गर्छन् । यिनै एपहरु धेरै भारतीयको रोजगारीको माध्यम समेत बनेको थियो। मानिसहरु टिकटमा भिडियो बनाएरै पनि पैसा कमाइरहेका थिए।

प्रतिबन्धित ५९ एप्समध्ये चीनको ट्वीटर जस्तै सोसल मिडिया प्लाटफर्म वीबो पनि छ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै भेरिफाइड एकाउन्ट छ, र उनको त्यसमा २ लाख ४० हजारभन्दा बढी फलोअर्स छन्।

कैयन् भारतीय एप कम्पनीहरुले  सरकारको यस निर्णयलाई स्वागत गरेका छन्। भिडियो च्याट एप रोपोसोको स्वामित्व ग्रहण गरेको कम्पनी इनमोबीले यसबाट उसको लागि बजार बनेको भन्दै खुशी ब्यक्त गरेको छ। यस्तै भारतीय सोसल नेटर्क सेयरच्याटले पनि यो कदमलाई स्वागतयोग्य भनेको छ।

टिकटकको प्रतिस्पर्धी कम्पनी 'बोलो इन्डिया'ले आफूलाई यसबाट निकै फाइदा पुग्ने बताएको छ। कम्पनीका को-फाउन्डर तथा सिइओ वरुण सक्सेनाले भने- 'हामी यो निर्णयको स्वागत गर्छौं, किनभने सरकारको चिन्तालाई हामीले राम्री बुझेका छौं। हामी भारतीय संस्कृति तथा डेटा सुरक्षालाई प्राथमकितामा राख्दै सेवा दिनेछौं। यो हामी जस्ता एप निर्माताहरुको लागि ठूलो अवसर हो।'

भारतीय एपहरुले हाल प्रतिबन्धित एपहरुको कमी पूरा गर्न नसकेमा अमेरिकी एपले बजार हिस्सा कब्जा गर्ने चिन्ता समेत विज्ञहरुले व्यक्त गरेका छन्।