घरजग्गा व्यवसायीहरुले दिए कोरोना कोषलाई ३१ लाख रुपैयाँ, अर्थमन्त्रीलाई चेक हस्तान्तरण

बिजमाण्डू
२०७७ असार १५ गते ०९:०१ | Jun 29, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। घरजग्गा व्यवसायीहरुको छाता संगठन नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) ले कोभिड–१९ विरुद्ध जुध्न सरकारले खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ । 

कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाममा सरकारको प्रयासमा सहयोग पुगोस् भन्ने हेतुले जग्गा तथा आवास विकास संघका सदस्यहरुबाट संकलन गरी सो रकम कोषलाई प्रदान गरिएको संघका अध्यक्ष मिनमान श्रेष्ठले बताए । 

कोषको नाममा खोलिएको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. १९६०००००११०१ मा जम्मा गर्ने गरी अर्थमन्त्री डा. युवराज खतिवडालाई उनकै कार्यकक्षमा उक्त रकमको चेक आइतबार संघका अध्यक्ष श्रेष्ठलगायतका प्रतिनिधिले हस्तान्तरण गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चेक हस्तान्तरणका दौरान अर्थमन्त्रालयका अन्य अधिकारीहरु र संघका कार्यसमिति पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो । 

२०५० सालमा स्थापित नेपाल जग्गा तथा आवास विकास संघ नेपालमा वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित घरजग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका रियल इस्टेट व्यवसायीहरुको संस्था भएको विज्ञप्तिमा उल्लेख छ ।