कोरोना प्रकोपको असरः १ सय २५ करोड रुपैयाँ लगानीको गलैंचा उद्योग बन्द, माग नै आएन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ असार १४ गते १३:४५ | Jun 28, 2020
कोरोना प्रकोपको असरः १ सय २५ करोड रुपैयाँ लगानीको गलैंचा उद्योग बन्द, माग नै आएन

विराटनगर। उत्पादन सुरु भएको साढे तीन वर्षपछि नेपालकै सबैभन्दा बढी लगानीको गलैंचा उद्योग बन्द भएको छ।

Tata
GBIME
Nepal Life

कोभिड–१९ को प्रकोपका कारण उत्पन्न बन्दी र मन्दीले नेपाल र भारतका बजारमा गलैंचाको माग हुन छाडेपछि उद्योग बन्द भएको हो।

मोरङको बुढीगंगा गाउँपालिकामा १ सय २५ करोडको लगानीमा स्थापित हाइटेक कार्पेट इन्डस्ट्री बन्द भएको हो। यसमा एके राठी समूह र सुनिल टिवडेवालको साझेदारी छ।

‘हो, हामीले तत्काल २ महिनाका लागि उद्योगलाई ले-अफमा लगेका छौं,' उद्योगका सञ्चालक अनुपम राठीले भने, ‘ले–अफमा लैजान भएका स्थायी कामदारलाई आधा तलब दिएर राख्नुपर्छ। ट्रेड युनियनसित हामीले बारम्बार छलफल गरेर ले–अफ गर्ने निर्णय गर्‍यौं।’

बन्द भएपछि उद्योगका स्थायी २८ कामदारले आधा तलब पाउने भएका छन्, तर अन्य अस्थायी र ज्यालादारी ८० कामदार बेरोजगार भएका छन्।

हाइटेकका उत्पादन भारतका हैदरावाद, बैगलूरु, नयाँ दिल्ली, गुवाहटी र सिलिगुडीसम्म निर्यात हुन थालेका थिए। त्यस्तै नेपालका प्रमुख शहरमा पनि बिक्री भइरहेका थिए।

अनुपमका अनुसार नेपालमा घरघरमा पुगेर गलैंचा बिक्री गर्नेहरू २ हजारको संख्यामा छन्। त्यसमध्ये काठमाडौंमा मात्र ७ सय जना जति छन् र बाँकी देशका मुख्य शहरमा। तर कोरोना प्रकोपका कारण २ हजार बिक्रेता नै अहिले घरमा थन्किएर बसेका छन्।

यस्ता बिक्रेताहरू जुम्ला, कालीकोट, धनगढी, डडेलधुरा, पाँचथर र इलामका बढी छन्। पहाडमा रोपाइँ सकेर खाली समयमा मधेस झर्ने र गलैंचा बिक्री गर्ने उनीहरूको मुख्य पेसा थियो। यो देखेर तराई मूलका केही व्यक्तिले पनि गत वर्षदेखि गलैंचा बिक्री गर्न थालेका थिए। उनीहरू जाडोमा कम्बल र गलैंचा तथा गर्मी महिनामा गलैंचा मात्र बिक्री गर्थे। यस्ता बिक्रेता यसपटक कोही आएनन्।

‘हामीले काठमाडौंमा बिक्रेताका नाइकेसित पनि कुरा गर्‍यौं,’ उनको भनाइ छ, ‘तर उनले पनि बिक्रेता ल्याउन सक्ने कुरा गरेनन्।’

राठीले मुस्लिमहरूको चाड रमजान गलैंचा विक्री हुने एउटा मुख्य सिजन भए पनि यस पटकको रमजानमा बिक्री हुन नसकेको जानकारी दिए।
‘मस्जिदमा सामूहिक प्रार्थनाका लागि गलैंचा खरिद गर्थे,’ उनले भने, ‘तर यस पटकको रमजानमा सबै मस्जिद बन्द थिए।’

राठीले थपे, ‘यो महामारीका बेला गलैंचा दैनिक उपभोग वा मुख्य आवश्यकताको वस्तु पनि भएन। दोस्रो आवश्यकताको बिक्री भइदियो। त्यसैले अहिले भारत र नेपालका कुनै पनि बिक्रेताले गलैंचा मगाइरहेका छैनन्।’ 

चार महिनायता उद्योगबाट एक पिस पनि गलैंचा बिक्री नभएको उल्लेख गर्दै अनुपमले २५ करोड मूल्यका तयारी गलैंचा स्टकमा रहेको जानकारी दिए।

‘यससँगै थप २५ करोड बराबरको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ थन्किएको छ,’ उनले सुनाए, ‘भारतका बजारमा गलैंचाको मुख्य सिजन भनेको अक्टोबरदेखि फरवरीसम्म मात्र हो। त्यसैले अब अहिले निकासी हुन सक्ने अवस्था छैन।’

उद्योगको क्षमता प्रति दिन ५ हजार वर्गमिटर गलैंचा उत्पादन गर्ने छ।