खतिवडाले खोल्नुपर्ने रुढीवादी चस्मा, कीर्ति राख्ने की परम्परावादी भएर पदावधि सक्ने?

ओम थापा/बिजमाण्डू
२०७७ जेठ १३ गते ०९:५७ | May 26, 2020
खतिवडाले खोल्नुपर्ने रुढीवादी चस्मा, कीर्ति राख्ने की परम्परावादी भएर पदावधि सक्ने?


Tata
GBIME
Nepal Life

२१ जुन १९९१, मनमोहन सिंह विश्वविद्यालय अनुदान आयोगको कार्यालयमा काम गरिरहेका थिए।

भारतीय प्रधानमन्त्रीको सपथग्रहण गर्न लागेका पिभी नरसिंह रावले आयोगको कार्यालयमा फोन गरेर सिंहलाई भने- 'मैले तपाईंलाई अर्थमन्त्री बनाउँदै छु। यदि सफल भएछौं भने यसको श्रेय हामी दुवैलाई मिल्नेछ, तर हामी असफल भएछौं भने यसको अपजसको भारी म तपाईंको टाउकोमा थोपर्नेछु। तपाईंले अर्थमन्त्री पद छाड्नुपर्छ।' 

त्यही साँझ रावसँगै सिंहको पनि सपथग्रहण भयो।

सपथग्रहणको दुई सातापछि सिंहले वित्त वर्ष १९९१/९२ का लागि बजेटको एउटा मस्यौदा लिएर रावकहाँ पुगे। त्यो मस्यौदालाई रावले पूरै खारेज गर्दै भने- यदि यही लेख्नु थियो भने मैले तपाईंलाई किन अर्थमन्त्री बनाउँथें?

त्यसको दुई सातापछि २४ जुलाई १९९१ मा सिंहले आफ्नो पहिलो बजेट वाचनको सुरुवात भिक्टर ह्युगोको प्रख्यात वाणीबाट गरे- 'दुनियाँको कुनै पनि शक्तिले त्यो विचारलाई रोक्न सक्दैन्, जसको समय आइसकेको छ।'

सिंहले आफ्नो बजेट भाषणमा राजिव गान्धी, इन्दिरा गान्धी र जवाहरलाल नेहरुको नाम पटक पटक लिए, तर उनीहरुले लिएका आर्थिक नीतिहरुलाई उल्टाउन कुनै संकोच मानेनन्।

भारत यहीँबाट खुला अर्थतन्त्रमा प्रवेश गर्‍यो। 

यही बजेटबाट राव र सिंहको जोडीले डुब्नै लागेको भारतीय अर्थतन्त्रको उद्धार गर्‍यो। विकासलाई रफ्तारमा ल्यायो, नयाँ निजी क्षेत्रको जन्म गरायो। सिंह भारतकै सबैभन्दा सफल अर्थमन्त्री बने, त्यही आधारमा सन् २००२ देखि उनले भारतमा दुई कार्यकाल अर्थात १० वर्ष प्रधानमन्त्री बन्ने अवसर पाए।

सिंहकै प्रधानमन्त्रित्वकालमा भारतले सबैभन्दा तीव्र दरमा आर्थिक वृद्धि हासिल गर्‍यो। विश्वका ठूला अर्थतन्त्रमध्ये भारत एउटा बन्यो।

साढे दुई वर्ष अघि प्रधानमन्त्री केपी ओलीले 'टेक्नोक्रयाट' डा. युवराज खतिवडालाई जब अर्थमन्त्री बनाए, धेरैले खतिवडामा मनमोहन सिंहलाई खोजे, कतिले उनमा मनमोहन सिंहलाई भेटे पनि।

सिंह र खतिवडाबीच  'करिअर ग्राफ' मा एउटा कुरा मात्र फरक थियो, त्यो थियो सिंह केन्द्रीय बैंकको गभर्नरपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै अर्थमन्त्री बनेका थिए। तर खतिवडा पहिले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए, त्यसपछि मात्रै गभर्नर अनि फेरि योजना आयोगको उपाध्यक्ष र त्यसपछि अर्थमन्त्री।

राजनीतिज्ञ मन्त्रीसँगभन्दा टेक्नोक्रयाट मन्त्रीसँग एउटा सुविधा बढी हुन्छ। त्यो के हो भने,  टेक्नोक्रयाटले लोकप्रियताको कसीमा परीक्षा दिनु पर्दैन। लोकप्रियताको परीक्षामा पास हुन नपरेपछि टेक्नोक्रयाट अर्थमन्त्रीले अर्थतन्त्रलाई जोगाउन, बढाउन र फुलाउन तीतो दबाइ दिन सक्छ। त्यही कारण टेक्नोक्रयाट मनमोहन सिंहले पनि आफ्नो पहिलो बजेटमा अर्थतन्त्रलाई तीतो दबाइ पिलाएका थिए।

अर्थतन्त्रमा वर्तमानमा जति तीतो दबाइ दिइन्छ, भविष्यमा त्यसले त्यति नै बढी लाभ दिन्छ। मनमोहन सिंहले पहिलो बजेट भाषण पढेको अहिले ३० वर्ष पूरा हुँदैछ, तर पनि भारतले त्यतिबेला पिएको तीतो दबाइको फाइदा पाउँदैछ।

अर्थमन्त्री खतिवडाको पहिलो बजेटमा नै त्यो तीतोको खोजी भएको थियो। तर बजेटमा त्यो तीतोपना पाइएन। भूकम्पबाट भत्किएका घर बनाउने सुविधामा, ठूलो आन्दोलनपछि सिर्जना भएका प्रदेश सरकार र धेरै वर्षपछि निर्वाचित स्थानीय तहलाई सम्बोधन गर्ने नाममा उनले त्यतिबेला माफी पाए।

दोस्रो बजेटमा फेरि त्यो तीतोको खोजी भयो, प्रधानमन्त्री ओलीको लोकप्रियता जोगाउने नाममा उनले त्यतिबेला पनि उन्मुक्ति पाए। उनले ओलीको लोकप्रियता जोगाउन परिणाममुखी बजेटभन्दा वितरणमुखी बजेट बनाए। त्यसैकारण उनले सांसद विकास कोष जस्तो तर्कहीन, गतिहीन, उद्देश्यहीन कार्यक्रमलाई समेत रोक्न सकेनन्।

तर, कोभिडका कारण यसपटक उनीसँग इतिहासमा पहिलोपटक सबैभन्दा ठूलो अवसर छ। सायद यति ठूलो अवसर यसअघि नेपालले कहिल्यै पाएको थिएन पनि।

अर्थमन्त्री खतिवडा यतिवेला बजेटलाई आम्दानी र खर्चको हिसाब देखाउने किताबका रूपमा वाचन नगरेर, घोषणा गर्ने तर पूरा नहुने नीति र कार्यक्रममा मात्र सीमित नराखेर अघि बढ्न सक्ने सुविधामा छन्। कारण, यसपटक उनीसँग बजेटका फर्मुलाहरु परिवर्तन गर्ने सुविधा परिस्थितिले दिएको छ। उनी यसपटक भन्न सक्छन्, 'अभि नहीं तो कभि नही।'

तर त्यसका लागि अर्थमन्त्रीले सबैभन्दा पहिले फेर्नुपर्ने हुन्छ दिमागमा फ्रेमिङ भएको गभर्नरको 'चस्मा'। पाँच वर्षअघि छाडेको नेपाल राष्ट्र बैंकको गभर्नर हुँदाको चस्मा अर्थमन्त्री खतिवडाले अहिले पनि लगाइरहेका छन्। त्यसकारण बितेको साढे दुई वर्षमा उनले गरेका अधिकांश क्रियाकलाप अर्थमन्त्री कम गभर्नर ज्यादा देखिन्छन्।

उनका क्रियाकलाप मात्रै होइन, आधारभूत सोच पनि गभर्नरभन्दा टाढा जान सकेको छैन। गभर्नर हुँदा स्वभाविक रूपमा उनी नियन्त्रणमुखी हुनुपर्थ्यो र थिए पनि। तर आजका दिनमा खतिवडाले झुक्किँदा पनि सम्झनु पर्ने विषय हो- 'म गभर्नर होइन, म देशको अर्थमन्त्री हुँ, म अर्थमन्त्री डा. युवराज खतिवडा हुँ।' तर  फेरि, अहंका साथ भने होइन विनयशीलताका साथ। 

यति मात्रै सोच बदल्न सके भने पनि अर्थमन्त्रीमा अर्थतन्त्र नियन्त्रण होइन, विस्तार गर्नुपर्छ भन्ने चेत पलाउने छ। त्यो चेतले भन्नेछ- अर्थतन्त्रलाई यसपटक बजेटबाटै 'रिफ्रेम' गर्नुपर्छ। त्यसपछि अर्थतन्त्रलाई रिफ्रेम गर्न चाहिन्छ नयाँ बिचार अनि नयाँ सोच। त्यतिबेला उनले सम्झनुपर्छ, म र मेरो सिस्टमभन्दा बाहिर पनि अर्थतन्त्रलाई नयाँ विचार र नयाँ सोच दिन सक्ने अर्थशास्त्री, व्यापारी र उद्यमीको कमी छैन।

अर्थमन्त्री खतिवडामाथि व्यक्तिगत टिप्पणी गर्ने हो भने उनको सार्वजनिक जीवन हेर्दा लाग्छ, उनी अरुका कुरा कम सुन्न चाहन्छन्। त्यसका दुई कारण हुन सक्छ- उनी धेरै पढ्छन्, त्यही कारण धेरै जान्दछन्, त्यही भएर कम सुने पनि हुन्छ। 

दोस्रो कारण हो, उनीमाथि आफ्नो ज्ञानको यति धेरै अहं छ, त्यो ज्ञानका हिसाबमा उनका अघि सबै फिक्का छन्, अरुका कुरा किन सुन्नु? 

तर जे भए पनि बहुक्षेत्रका बहुव्यक्तिसँग, जहिले गरे पनि, जति जान्ने व्यक्तिले गरे पनि, जति धेरै पढेको व्यक्तिले गरे पनि बहस, छलफल, संवादले ज्ञानको दायरा फराकिलो बनाउँछ। र, त्यो ज्ञानको दायरा सैद्धान्तिक होइन् व्यवहारिकरूपमा अझ धेरै बढ्छ।

उनले यही सोचबाट नीतिगत तहमा बजेटको आकार, प्राथमिकता र त्यसले लिनुपर्ने कोर्षलाई 'रिफ्रेम' गरेपछि आउँछ व्यवहारिक पक्ष। व्यवहारिक रूपमा मोटामोटी 'इज अफ डुइङ बिजनेस' र खपत (कन्जम्सन) को वृद्धिलाई ध्यान दिएमा नेपालमा धेरै चिजमा अर्थतन्त्र 'इम्पावर' हुनसक्छ। 

पोहोर मात्रै अर्थमन्त्री खतिवडाले डुइङ बिजनेसको वरीयतालाई लिएर विश्व बैंकको प्रतिवेदनमाथि कचिंगल गरे। तर आजका दिनमा नेपालमा व्यापार वा उद्यम गर्ने वा चाहने 'हु इज हु' सँग अनुभव छ, हामीकहाँ व्यापार र उद्यम सञ्चालन कति कठिन छ? खतिवडा अर्थमन्त्री भएर आएपछि कति फेरियो?

मल्टि-विलिनियर कम्पनी मात्रै होइन, साना र मझौला कम्पनीले पनि उद्यम र व्यापार नेपालमा सहजसँग गर्न सक्दैनन्। नेपालमा कम्पनीको स्थापनादेखि सञ्चालनसम्म मात्रै होइन व्यापार र उद्यम गर्न सकिँदो रहेनछ भनेर 'एक्जिट' गर्न खोज्दासम्म दर्जनौंपटक हण्डर खानुपर्छ। पटकपटक व्यापार र उद्यम गरेकोमा हीनताबोध महशुस गर्नुपर्छ।

एउटा व्यापार र उद्यमका लागि दर्जनौं सरकारी संयन्त्रको 'ओभरसाइट' चलिरहेको हुन्छ। खतिवडा आएपछि त्यो अझ धेरै गुणामा बढेको छ। यही कारण हरेकपटक उद्यम र व्यापार गर्ने मान्छेले सरकारी संयन्त्रमा गएर परीक्षा दिइरहनुपरेको छ। ती परीक्षा लिने खतिवडा नियन्त्रित हरेक सरकारी र गैरसरकारी संरचना सोच्छ, व्यापारी र उद्यमी भनेका चोर हुन्, डाका हुन्, लुटेरा हुन्।

जबसम्म उद्योगी र व्यापारीलाई अर्थतन्त्रको इन्जिनका रूपमा व्याख्या गरिँदैन, जबसम्म उनीहरुलाई उनीहरुको हक र सम्मान प्रदान गर्ने गरी बजेट रिफ्रेम हुँदैन, जबसम्म उनीहरुलाई स्वच्छ प्रतिस्पर्धा गर्ने गरी वातावरण बनाइँदैन, जबसम्म सरकारी संयन्त्रमा हुने अवरोधलाई निर्मूलीकरण गरिँदैन, जबसम्म नीतिगत माध्यमबाट उद्यमी र व्यापारीलाई पुँजी उपलब्धता बढाइँदैन, तबसम्म अर्थतन्त्रको इन्जिनले गति लिन सक्दैन।

कम्तिमा यो बजेटले फाइलको चाङबाट उद्यमी र व्यापारीलाई मुक्ति दिन सक्यो भने, करदाता र कर अधिकृतलाई भेट्नै नपर्ने गरी संयन्त्र बनाउन सकियो भने, ठोस प्रमाण बिना ओभरसाइट एजेन्सीबाट हुने अनुसन्धान नामको आतङ्कलाई बन्द गर्न सकियो भने, जहाँ उद्यमी र व्यापारीलाई समस्या पर्छ त्यहाँ सरकारले करलाई लाभांश मानेर साझेदारका रूपमा क्रियाशील भई बाधा अड्चन फुकाउन बाध्य बनाइयो भने,  सिस्टममा नभएको सम्पत्ति र आम्दानीलाई फर्मल च्यानलमा ल्याउन सकियो भने बजेट व्यवहारिक रूपमा 'रिफ्रेमिङ' भएको मान्न सकिन्छ।

त्यसपछि हामीले साधारण नागरिक मात्र होइन सरकारसम्मको सोचलाई उपभोगमुखी बनाउन जरुरी हुन्छ। त्यसका लागि भ्याट र आयकरका दरहरु घटाउनु पर्छ, पोलिसी फ्रेमवर्कबाट  नागरिकको 'डिस्पोजेबल इनकम' बढाउनुपर्छ। जब तीन करोड नागरिक बचत होइन उपभोग पनि गर्नुपर्छ भन्ने साइकलमा छिर्छन्, तब सिर्जना हुने डिमान्ड र त्यसलाई पूरा गर्न सुरु हुने उत्पादनको चक्रले कोरोनाका कारण सिथिल अर्थतन्त्रलाई 'किक स्टार्ट' दिन्छ।

यसका लागि नागरिकले के खाने, के लगाउनेमा मात्र होइन, वैधानिक च्यानलबाट आउँछ भने कुन र कति महँगो मदिरा पिउने? नपिउने? कति महँगो गाडी चढ्ने- नचढ्ने? भन्ने सोच सरकार र सरकारी संयन्त्रबाट निर्देशित नभई व्यक्तिका इच्छा र आयबाट नियन्त्रित बनाइनुपर्छ।

जबसम्म हामीले हाम्रो अर्थतन्त्रलाई 'कन्जुमर ड्रिभन' बनाउँदैनौं, माग बढाउँदैनौं, जबसम्म हाम्रो इकोनोमीलाई हामी योङ र ह्यापेनिङ बनाउँदैनौं त्यतिबेलासम्म हामीकहाँ विदेशी लगानी किन आउँछ? त्यसैले हामी आफैंले पहिले हाम्रो अर्थतन्त्रको ट्रयाक खोलौं, ग्राभेल गरौं, भोलि पिच गर्न विदेशी लगानीकर्ताहरु आफैं आइपुग्छन्।

तर त्यसका लागि हाम्रो होइन, अर्थमन्त्री खतिवडाको रुढीवादी चस्मा भने यसपटक फेरिन जरुरी छ। 

नभए,

एक जना अधवैंसे थिए, टाढाको देख्ने नजिकको नदेख्ने। एक दिन बीच चोकमा उभिएर ट्याक्सी कुर्दै थिए, टाढाबाट ट्याक्सी आएको देख्थे, रोक्छु भनेर कुरेर बस्थे। तर नजिक आएर त्यो ट्याक्सी फेरि पर पुगिसकेको हुन्थ्यो अनि मात्रै देख्थे। भन्थे 'ह्या छुट्यो।' 

फेरि पर अर्को ट्याक्सी आउँथ्यो, नजिक आएपछि छुट्थ्यो, पर पुगेपछि भाउन्न हुन्थे। उनले यही कारण एकपटक होइन, पटक पटक दु:ख पाए। जब उनले नजिकको पनि देख्ने चस्मा फेरे, त्यो दिनदेखि उनले भनेकै ठाउँमा ट्याक्सी चढ्न पाए। 

युवराज खतिवडासँग पनि आफूले लगाएको चस्मा फेर्नका लागि जम्मा अब एउटा बजेटको मात्रै समय छ। उनले यो बजेट बनाउने बेला आफ्नो पुरानो चस्मा फेरे भने सायद नेपालको इतिहासकै सबैभन्दा सफल अर्थमन्त्री बन्नेछन्। भविष्यमा मनमोहन सिंह जस्तै अहिलेकोभन्दा माथिको भूमिकाका लागि योग्य हुनेछन्। किनकी त्यतिबेला नेतृत्व राजनीतिक विचारधाराबाट होइन्, अर्थतन्त्रको वेगबाट निर्देशित हुनेछ।

चस्मा फेरेनन् भने त के नै भन्न सकिन्छ र, उनी पनि रामशरण महत, महेश आचार्य, भरतमोहन अधिकारी, रविन्द्रनाथ शर्मा, मधुकर शम्सेर जवरा, रूप ज्योति, बद्रिप्रसाद श्रेष्ठ, बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकरप्रसाद कोइराला, विष्णु पौडेल, कृष्णबहादुर महरा र ज्ञानेन्द्रबहादुर कार्कीहरुको लाइनमा खडा हुनेछन्, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाका नाममा। त्यसभन्दा पर, उनीहरुभन्दा माथि उनको पनि नाम हुनेछैन, उनको पनि कीर्ति रहने छैन। मात्र मन्त्रालयको भित्तोमा एउटा फोटो थपिनेछ।