क्वारेन्टाइनमा बसेकालाई हाइलाइफको खाद्यान्न सहयोग, सोयाविन, कर्नफ्लेक्स र ओट्स दियो

बिजमाण्डू
२०७७ जेठ ९ गते १२:०९ | May 22, 2020
क्वारेन्टाइनमा बसेकालाई हाइलाइफको खाद्यान्न सहयोग, सोयाविन, कर्नफ्लेक्स र ओट्स दियो

Tata
GBIME
Nepal Life

काठमाडौं। क्वारेन्टाइनमा बस्नेहरु गुणस्तरीय खाद्यान्न नपाएर समस्यामा छन्। कतिपयले खानेपानी समेत नपाएको समेत गुनासो आइरहेको छ। यो कठिन परिस्थितिमा निजी क्षेत्रले क्वारेन्टाइनमा खाद्यान्न दिन थालेका छन्।

गुणस्तरीय खाद्यान्न उत्पादन गर्दै आएको हाइलाइफ फूड प्रोडक्टले रुपन्देहीको क्वारेन्टाइनमा बसेकाहरूलाई आफ्ना उत्पादन वितरण गरेको छ। कम्पनीले उद्योगबाट उत्पादित सोयाविन, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्य सामाग्री सहयोग गर्दै आएको छ। कम्पनीले बुटवल-४ कान्ति माविको क्वारेन्टाइनमा रहेका १ सय १० जनालाई मिश्रित खाद्यान्न वितरण गरेको हो। वडाध्यक्ष टंकप्रसाद पराजुलीलाई सो खाद्यान्न कम्पनीले हस्तान्तरण गरेको हो।

कम्पनीले तिलोत्तमा–२ स्थित दुर्गादत्त मावि क्वारेन्टाइनमा रहेका ४५ जनाका लागि खाद्यान्न वितरण गरेको छ। त्यहाँका वडाध्यक्ष दधिराम गौतमलाई खाद्यान्न हस्तान्तरण गरेको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि पनि सियारी गाउंपालिका- १ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्ने खाद्यान्न वितरण गरेको थियो। कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेले सामाजिक उत्तरदायित्व वहन गर्दै अहिलेको कठिन परिस्थितिमा सहयोग गरेको बताए।

कम्पनीले नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको खाद्यान्न उत्पादन गर्दै आएको छ। कम्पनीले आफ्ना उत्पादन हङकङ र मकाउमा निर्यात गरिरहेको छ। कम्पनीले अष्ट्रेलिया र अमेरिकामा समेत निर्यातका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ।