विराटनगर। लामो अवधिको लकडाउनका कारण होटल, रेस्टुरेन्टहरू बन्द हुँदा तथा मैदाजन्य उद्योगको सञ्चालनमा कमी आएपछि पूर्वमा मैदा बिक्रीमा ६० प्रतिशतले गिरावट आएको छ।
मोरङ व्यापार संघका उपाध्यक्ष एवं विशाल मैदा मिल प्रालिका सञ्चालक विकास बेगबानीले मैदाको बिक्रीमा ६० प्रतिशतभन्दा बढीले घटेको बताए। ‘होटल र रेस्टुरेन्ट त लकडाउनको दिनदेखि नै बन्द छन्,’ उनले बिजमाण्डूसँग भने, ‘पाउरोटी, केक, थुक्पा, चाउमिन, बिस्कुट र चाउचाउजस्ता मैदाजन्य उद्योग पनि आधाभन्दा कम क्षमतामा चलेका छन्। यसका कारण मैदा नबिकेर उद्योगको गोदाममा थन्क्याएर राख्नुपरेको छ।'
मैदाको विक्री नभएपछि यसको मूल्य पनि घटेको छ। पूर्वको बजारमा प्रति किलो ३९ रुपैयाँ पर्ने मैदाको मूल्य घटेर ३७ रुपैयाँ भएको छ। ‘एकातिर गहुँको मूल्य बढेको छ भने अर्कातिर मैदाको मूल्य घटेको छ। गत वर्ष वैशाखमा गहुँको मूल्य प्रति क्विन्टल २ हजार ७ सय रुपैयाँ थियो भने यसपटक ३ हजार २ सय ५० रुपैयाँ भयो। त्यस्तै गत वर्षको जेठमा गहुँको मूल्य २ हजार ८ सय भएको थियो । यस वर्षको जेठमा ३ हजार ४ सय ५० भएको छ,’ उनले भने।
मोरङ र सुनसरीका मैदा मिलका लागि भारतको विहारबाट गहुँ आयात गरिन्छ । नेपालमा उत्पादित गहुँले पूर्वमा वर्षको २ महिनाको माग मात्र धान्ने बेगबानीले बताए। विहारको मोतीहारी, निर्मली, सहर्सा, पूर्णिया र सिमराही लगायतका ठाउँबाट यहाँ गहुँ आयात गरिन्छ। भन्सार विभागले गहुँको भन्सार मूल्यांकन प्रति क्विन्टल ३ हजार २ सय रुपैयाँ गरेको छ। आयात गर्दा भन्सार विन्दुमा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ। सस्तो मूल्यमा गहुँ पैठारी गरे पनि भन्सार मूल्यांकनकै रकममा शुल्क तिर्नुपर्छ।
यस हिसाबले प्रति क्विन्टल १ सय ६० रुपैयाँ भन्सार महसुल लाग्छ। बेगबानीका अनुसार यसबाहेक भन्सार क्षेत्रमा प्रति क्विन्टल ५० रुपैयाँ अतिरिक्त खर्च छ । त्यस्तै विहारबाट मोरङ गहुँ ल्याउँदा ढुवानी खर्च प्रति क्विन्टल १ सय २० रुपैयाँ छ । यसप्रकार गहुँको मूल्यमा प्रति क्विन्टल ३ सय ३० रुपैयाँ अतिरिक्त खर्च छ।
उनले सरकारले कोरोना संक्रमणपछि बैंकको ब्याजमा दिएको २ प्रतिशत सहुलियत मैदा उद्योगले नपाएको भन्दै यो सुविधा उपलब्ध गराउन आग्रह गरे। त्यस्तै अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि उनले मैदा, पिठो र सुजीमा मूल्य अभिवृद्धि कर लगाएका छन्। ‘पहिला मैदामा मात्र भ्याट लगाइएको थियो र यसमा २५ प्रतिशत रिवेट पाइन्थ्यो,’ उनले भने, ‘अहिले रिवेट हटाएर मैदा, सुजी र पिठो तीनवटै उत्पादनमा भ्याट लगाइएको छ। यो हटाउन हामीले बारम्बार माग गरेका छौं।’
सुनसरीस्थित मैदा उद्योग न्यूट्री फुड्स प्रालिका सञ्चालक प्रदीप शारडाले आफ्नो उद्योग २० देखि ३० प्रतिशत क्षमतामा चलिरहेको तर मैदाको बिक्री आधाले घटेको जानकारी दिए । ‘मैदाको स्टक धेरै भएकाले उद्योग बन्द गर्दै चलाउँदै गरिएको छ,’ उनले भने, ‘रमजानले गर्दा होला सुजीको बिक्री भइरहेकै छ । पिठोको बिक्रीमा पनि खासै ह्रास छैन । चोकरको बिक्री यथावत् छ । तर मैदाको बिक्री आधाभन्दा बढीले घटेको छ ।’
उद्योगी शारडाले पूर्वमा मैदाको धेरै प्रयोग गर्ने चाउचाउ र बिस्कुट उद्योग भएको उल्लेख गरे। उनले ती उद्योग अहिले २५ प्रतिशत क्षमतामा मात्र सञ्चालन भएको हुँदा मैदा मिलले असर भोग्नु परेको स्पष्ट पारे। उद्यमी प्रदीपले सामान्य अवस्थामा दैनिक १ सय ५० टन गहुँ प्रशोधन गरिरहेको न्युट्री फुड्सले हिजोआज ३० देखि ४० टनको मात्र काम गरिरहेको उल्लेख गरे।
मोरङको अर्को मैदा मिल गोमती फुड्स प्रालिका सञ्चालक हरिवंश राठीले मैदाको बिक्री नहुँदा गोदाममा थन्क्याएर राख्नुपरेको जानकारी दिए।
उनले भने, ‘लकडाउनका कारण ढुवानी सहज छैन। त्यसैले यहाँबाट पश्चिम जाने बिस्कुट जान सकेको छैन। चाउचाउको भारत निर्यात पनि स्वात्तै घटेको छ। यसको प्रत्यक्ष असर मैदाको बिक्रीमा परेको छ।’
लकडाउन सुरु भएपछि चोकरको बिक्रीमा भने बढोत्तरी आएको उनले जनाए। पूर्वमा लकडाउन पहिले वीरगञ्जको चोकर आउँथ्यो, तर लकडाउनपछि आउन छाडेको छ। त्यसैले पूर्वमा स्थानीय कारखानाबाट आउने चोकर राम्रोसित बिक्री भइरहेको छ।