लकडाउनमा पारिवारिक आर्थिक व्यवस्थापन कसरी गर्ने? देवेन्द्र सुवेदीको विचार

बिजमाण्डू
२०७७ बैशाख २ गते ०८:४२ | Apr 14, 2020

Tata
GBIME
Nepal Life

कोरोना महामारीले महाशक्ति राष्ट्रहरूमा समेत धेरै जनाको ज्यान गएको छ। संक्रमितको संख्या दैनिक बढिरहेको छ। एक लाखभन्दा बढीको ज्यान जाँदा १७ लाखभन्दा बढी संक्रमित पुगेको छन्। सबै देशलाई एकातिर कोरोनाको कसरी सामना गर्ने मुख्य चुनौती छ अर्कातिर अर्थ व्यवस्थाको भविष्यले अन्योल बढाएको छ।

धेरै देशहरूमा लकडाउनले मानिसहरूको जनजीवन निकै प्रभावित बनिरहेको छ। लकडाउन कहिले खुल्छ? अनुमानयोग्य छैन। कोरोनाबाट कसरी बच्ने त्यो चुनौती त छँदैछ, त्योसँगै आफ्नो तथा परिवारको सुरक्षा साथै आर्थिक व्यवस्थापन कसरी गर्ने समस्या थपिएको छ। दैनिक खाद्यान्न, तरकारी, औषधि जस्ता बस्तुको जोहो कसरी गर्ने? चुनौती सामना गर्नु परिरहेको छ।

महाशक्ति भनेर चिनिएका अमेरिका, अस्ट्रेलिया, युरोपियन देशहरूमा समेत यसको व्यवस्थापन हुन सकेको छैन। हाम्रो जस्तो गरिब देशमा यस्ता चुनौती स्वाभाविक हुन्।

नेपालमा लकडाउनको तीन साता दिन पुगेको छ। लकडाउनले दैनिक ज्यालादारी, मजदुरी र सानोतिनो व्यवसाय गरेर जीवन निर्वाह गर्ने वर्गलाई बिहान बेलुका खान समेत समस्या परिरहेको छ। सामान्य जागिर गर्ने, महिना पुगेपछि आउने तलबले गुजारा चलाउने ठूलो परिवार नेपालमा छ, उनीहरूलाई समेत लकडाउनको समयमा घरभित्र रहँदै गर्दा आर्थिक समस्या सुरु भइरहेको देखिन्छ। यस्तो विषम परिस्थितिमा आर्थिक व्यवस्थापन कसरी गर्न सकिन्छ? यहाँ चर्चा गर्ने प्रयास गरिएको छ।

१. आफूसँग भएको पैसालाई अत्यावश्यकबाहेक खर्च नगर्नेः-

घरमा बसिरहँदा आफूसँग पैसा हुने बेलासम्म खर्च गर्न मन लाग्छ। घरभित्रै अनेक परिकार बनाएर खाने, रमाइलो गर्ने, मनोरञ्जनको लागि जाँड रक्सी खाने, जुवा तास खेल्ने आदि गरिएको समेत देखिएको छ। यसले सुरुको समयमा आर्थिक समस्या नभए पनि लकडाउन लम्बिँदै गर्दा पछिका दिनहरूमा अझ बढी आर्थिक संकटतिर जाने सम्भावना हुन्छ। त्यसैले सुरुदेखि नै सामान्य जीवनशैली अपनाउनु पर्ने हुन्छ। घरमा चाहिने अत्यावश्यक बस्तु जस्तै खाद्यान्न, ग्यास, तरकारी, फलफूल, दूध आदिको सही सदुपयोग हुनेगरि खर्च गर्नु पर्दछ। फजुल खर्च रोक्न सकियो भने भोलि आउने आर्थिक समस्यालाई पार गर्न सकिन्छ।

२. स्वास्थ्यमा विशेष ध्यान दिनेः-

लामो समयको लकडाउनले घरभित्र उकुसमुकुस भएको हुन्छ। यस्तो समयमा राम्रोसँग खानपान र व्यवहारमा ध्यान दिएन भने अन्य ठूला रोग लाग्नुको साथै मानसिक रूपमा समेत समस्या आउन सक्छ। यस्तोमा आफ्नो र परिवारको स्वास्थ्यमा बढी ध्यान दिनुपर्छ। अन्य कुनै रोग लाग्यो आर्थिक समस्या परेको बेलामा अर्को चुनौती आउने हुन्छ। दैनिक रूपमा खाइरहेको औषधि केही समयको लागि समेत व्यवस्था गरी नियमित रूपमा खाइरहनु पर्दछ। घरमा रहेका बालबच्चा र वृद्ध व्यक्तिहरू बिरामी हुने सम्भावना भएकोले उनीहरूको स्वास्थ्यमा ध्यान दिन सकियो भने परिवारमा थप आर्थिक बोझ नहुनुको साथै पारिवारिक तनावबाट समेत बच्न सकिन्छ। खानापान, योग, व्यायाम, ध्यान, निद्रा, मनोरञ्जन, पारिवारिक सामीप्यता आदिको उचित प्रबन्ध मिलाउन सकियो भने स्वस्थ मनले चुनौतीसँग जुध्न सकिन्छ।

३. साथीसँग सहयोग लिनेदिने:-

कारोनाले धनी गरिब, ठूलो सानो नभनी सबैलाई उत्तिकै असर गर्ने भएकोले यस्तो समयमा साथीभाइ, इष्टमित्रसँग नियमित फोन/म्यासेज/ सोसल मिडिया आदिमार्फत सम्पर्कमा रही आर्थिक सहयोग आदानप्रदान गर्नु पर्दछ। पैसा आदानप्रदान गर्दा विद्युतीय माध्यमबाट बैंक खातामा सजिलै ट्रान्सफर गर्न सकिन्छ।

४. घरभाडा, बैंकको किस्ताको लागि केही समयपछि तिर्नको लागि अनुरोध गर्ने:-

समग्र आर्थिक गतिविधि ठप्प रहेको अवस्थामा नियमित रूपमा तिर्दै बुझाउँदै आएका बिलहरूको भुक्तानी केही समयपछि तिर्ने बुझाउने गरी सम्बन्धित व्यक्ति वा संस्थालाई अनुरोध गर्न सकिन्छ। मानिसको पहिलो आवश्यकता गाँस, बास र कपास (कपडा) हो। यसैको जोहो गर्न नसकिरहेको अवस्थामा तिर्नुपर्ने बिल तिर्न सकिँदैन, जसले अर्को तनाव सिर्जना गर्दछ।

स्कुल/कलेजको बिल, बैंक तथा वित्तीय संस्थाको किस्ता पनि पछि तिर्नको लागि उचित कारणसहित अनुरोध गर्न सकिन्छ। यदि आफूसँग पैसा छ र सजिलै भोलिको आर्थिक समस्या व्यवस्थापन गर्न सकिन्छ भने तिर्नु बुझाउनु पर्ने रकम तिर्दा उचित हुन्छ।

५. भविष्यको आर्थिक योजना तयार गर्ने:-

लामो समयको लकडाउनले गर्दा देशको अर्थतन्त्र उथलपुथल हुनुको साथै व्यक्ति तथा परिवारको आर्थिक अवस्था पनि बिग्रन्छ। सामान्य जीवनयापन गरिरहेको परिवारमा एक्कासी विपद्को सामना गर्नुपर्दा लामो समयसम्म आर्थिक तनाव दिएको हुन्छ। केही समयपछि आर्थिक गतिविधि सुचारु पक्कै हुनेछ। त्यो समयमा आफ्नो आम्दानीको स्रोत बढाउने, खर्च घटाउने र जीवनयापन सजिलै चलाउने योजना बनाउनु पर्दछ। अहिले सोच्ने, योजना बनाउने उचित मौका पनि हो।

यसरी यस्तो विषम परिस्थितिमा पनि सामान्य आम्दानी हुने परिवारले सजिलै वित्तीय संकटको समाधान गर्दै जान्छ। कोरोना महामारी, लकडाउन लामो समय रहने छैन, तर त्यसले निम्त्याउने आर्थिक संकट अर्को महामारी बन्न सक्ने भएकोले अहिले नै चनाखो हुनु अति आवश्यक छ।