ब्याङ्कर अनिलकेशरी शाहकी छोरी आर्या अमेरिकाबाट फर्केपछि यसरी छिन् सेल्फ क्वारेन्टाइनमा

बिजमाण्डू
२०७६ चैत्र १८ गते १७:०७ | Mar 31, 2020

काठमाडौं। गएको चैत ५ गते नेपाल आइपुगिन् आर्या शाह। यसपटकको स्वदेश फिर्ता भने केही असहज थियो। उनलाई लिन अनिल आफैँ ड्राइभ गरेर विमानस्थल पुगेका थिए। आर्या र अनिलबीचको पुनर्मिलन धेरै फरक थियो, यसपाला। कोरोनाको कहरले यी बाबु र छोरीलाई पहिलेकै तरिकाले मिल्न दिएन।

Tata
GBIME
Nepal Life

सन्दर्भ चर्चित ब्याङ्कर अनिलकेशरी शाह र उनकी छोरीको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोरीलाई रिसिभ गर्न अनिलकेशरी मास्क लगाएरै पुगेका थिए। छोरी आर्या पनि मास्कै थिइन।

कोभिड-१९ को विश्वभर फैलेको महामारी रोकथामका लागि सबैको पहल र सतर्कता आवश्यक छ। तर, केही अन्तर्राष्ट्रिय उडानबाट नेपाल आएका सबैले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने सर्त पालन गरेका छैनन्। उनीहरु खुलेआम हिँड्दा छिमेकीसमेत त्रसित छन्। आर्या यही कोरोनाको त्रासकै बीचमा नेपाल आइपुगेकी हुन्।

आर्या शाह उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा थिइन्। कोलम्बिया युनिभर्सिटीमा स्नातक तह दोश्रो सेमेस्टरमा अध्यनरत। कोभिड-१९ को महामारी फैलिएपछि उनी मार्च १८ मा नेपाल आइपुगेकी हुन्। विमानस्थलबाट घर आइपुग्दासम्म पनि बाबु-छोरी दुवै मास्कमै थिए। घर आइपुग्नासाथ आर्याले भनिन् – 'म सेल्फ क्वारेन्टाइनमा बस्छु।'

छोरी आफैँले क्वारेन्टाइनमा बस्ने सुनाउँदा अनिल दंग परे।

आर्या आफ्नै घरैमा 'सेल्फ क्वारेन्टाइन'मा छिन अहिले पनि। उनी अलग्गै कोठामा बस्छिन्। खाना पनि कोठामै पुर्‍याइने गरिएको छ। सेल्फ क्वारेन्टाइनमा रहँदा पूरा गर्नुपर्ने अनुशासन पालन गरेकी उनी आफ्नो कोठाभन्दा बाहिर निस्कन्नन्। न त पारिवारिक सदस्य उनको कोठामा जान्छन्।

'मलाइ बाबा ममीसँगै बसेर खान मन छ, उहाँहरुसँगै खेल्न मन छ,' क्वारेन्टाइनै रहेकी उनले भनिन्, 'तर सतर्कता त अपनाउनै पर्‍यो।'

आफू र परिवार दुवैका लागि सेल्फ क्वारेन्टाइन राम्रो सुरक्षा उपाय ठान्छिन् उनी। 'क्वारेन्टाइनको समय त ब्यतित गरुँ,' उनले भनिन्, 'अनि त मनमौजी छँदैछ नि।'

विश्वव्यापी पेन्डेमिकका कारण एकअर्काको नजिक नहुनु नै सुरक्षित रहने उपाय हो। त्यसैले आफ्नो परिवारका लागि सबैभन्दा राम्रो सुरक्षा, सेल्फ क्वरेन्टाइन नै रहेको आर्याको भनाइ रह्यो। भनिन्, 'यसका लागि अतिरिक्त शुल्क पनि त लाग्दैन।'

क्वारेन्टाइनमा रहे पनि उनको अध्ययन भने जारी छ। युनिभर्सिटीले अनलाइन कक्षा सन्चालन गरिरहेको छ। अमेरिका र नेपालको समय तालमेल नमिल्ने भएकोले कक्षा लिने र सुत्ने समय भने मिलेको छैन। तैपनि उनी त्यसलाई मिलाउँदैछिन्। सुरक्षित रहनुसँगै अध्ययन पनि जारी राख्‍नुले उनलाई व्यस्त बनाएको छ।

अनिलकेशरीलाई छोरीसँग क्वालिटी टाइम बिताउने रहर नभएको होइन। 'हामीलाई पनि अरुलाई जस्तै धेरैमा भेटिएकी छोरीलाई अंगालो हाल्न मन छ,' अनिलले भने, 'सँगै बसेर खान र खेल्न मन छ।'

तर, अहिलेको परिस्थिति आफूले चाहेअनुकूल हुने कुरै भएन। छोरीको सेल्फ क्वरेन्टाइनबारे ब्याङ्कर शाहले भने, 'उनी छुट्टै कोठामा छिन्। हामी बाहिर र भित्र बसेर गफ गर्छौं।'

परिस्थितिलाई मध्यनजर गर्दै छोरीलाई सेल्फ क्वारेन्टाइनमा राख्नु परेको उनले बताए। सँगै भन्न पनि भ्याए, 'कोरोना नियन्त्रणमा सेल्फ क्वारेन्टाइन नागरिकको कर्तब्य पनि हो।'