भान्सा रित्तियो? जोखिम मोलेर बजार होइन इन्टरनेटमा जानुस्, कोठामै आइपुग्छ तरकारी र खाद्यान्न

बिजमाण्डू
२०७६ चैत्र १७ गते १३:०९ | Mar 30, 2020


काठमाडौं। लकडाउनपछि तपाईको भान्सा रित्तिन लागेको छ ? छ भने कोरोना भाइरसको जोखिम बढाएर बजार जाने होइन बरु मोबाइल समात्नुस् र इन्टरनेटमा जानुस्।

Tata
GBIME
Nepal Life

भाइरस नआउने ग्यारेन्टीसहित भान्साका लागि चाहिने सबै सामान घरैमा पुर्‍याउन अहिले मेट्रो तरकारी डटकमले आफ्नो सेवा थप विस्तार गरेको छ।

मेट्रोले बजारमै पाइने मूल्यमा हरियो तरकारी र खाद्यान्न अर्डर गरे घरमै पुर्‍याउन सुरु गरेको छ। मेट्रो तरकारी डटकमको फेसबुक पेज, भाइबर वा ह्वाट्स एपमा सामान अर्डर गर्नुभयो भने तपाइँको घरमै आइपुग्छ। त्यस्तै मेट्रो तरकारी डटकमको साइटमा गएर आवश्यक खाद्यान्न तथा तरकारीहरु सिधै अर्डर गर्न पनि सकिन्छ। त्यसका लागि तपाइले कम्तिमा एक हजार रुपैयाँको सामान भने अर्डर गर्नुपर्छ।

यो सेवा मेट्रो तरकारीले आइतबारबाट मात्रै सञ्चालनमा ल्याएको हो। करिब तीन साता लगाएर सिस्टम अपग्रेड गरेर साइट तयार पारेपछि फेरि सेवा दिन थालेको मेट्रो तरकारी डटकमका कार्यकारी अधिकृत अनिल बस्नेतले बिजमाण्डूलाई बताए।

मेट्रो तरकारीले हरियो तरकारी, फलफुल खाद्यान्न, गेडागुडी, नुन, तेल र मरमसला लगायत एउटा भान्साका लागि चाहिने सबै वस्तु उपलब्ध गराइरहेको छ।

विगत ६ वर्षदेखि सेवा दिँदै आएको मेट्रो तरकारीमा दैनिक ५०/६० वटा अर्डर आउने गरेको थियो। लकडाउनका कारण अर्डर ह्वात्तै बढेको छ। अहिले दैनिक ३/४ सयवटा अर्डर आउन थालेको बस्नेतले जानकारी दिए।

लकडाउन अघि मेट्रोले एकै दिनमा अर्डर डेलिभरी गर्दै आएको थियो। तर लकडाउनपछि विभिन्न समस्या रहेका कारण सकेसम्म सोही दिन र नसके अर्डर गरेको भोलिपल्ट डेलिभरी गर्दै आएको उनले बताए।

मेट्रोले अधिकांश तरकारी स्थानीय फर्महरुबाटै उठाउने गरेको छ। झण्डै दुई सय फर्म हाउससँग सहकार्य समेत गरेको छ।
तर अहिले फर्ममा काम गर्ने कामदार र तरकारी टिप्ने मान्छे नभएका कारण बजारबाटै तरकारी उठाएर पनि घरघरमा पुर्‍याउने गरिएको छ।

'हामी सकेसम्म फर्मबाट लिएर दिन्छौ। तर माग धेरै भए कालीमाटी र बल्खु लगायतका बजारबाट लिएर पनि पुर्‍याउँछौ,' बस्नेतले भने।
मेट्रो तरकारीले काठमाडौंको रिङरोडभित्र र आसपासका २ किलोमिटर क्षेत्रमा डेलिभरी दिदै आएको छ। तर अहिले विषम परिस्थिति रहेका कारण काठमाडौं र ललितपुरका अधिकांश स्थानमा सेवा दिन सुरु गरिएको बस्नेतले बताए। भक्तपुरमा भने मेट्रो तरकारीको कुनै सेवा छैन्। 

मेट्रोले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर भ्यानमार्फत सामानहरु डेलिभरी गरिरहेको जनाएको छ। विहान १० बजेदेखि बेलुकी ६ बजेसम्मका लागि प्रशासनले स्वीकृति दिएको छ। सुरुमा बाइकहरु मार्फत पनि सेवा दिइएको थियो, तर लकडाउनपछि भ्यानमार्फतमात्रै सेवा दिइरहेको बस्नेतले बताए। 

डेलिभरीका क्रममा सबै खालका सुरक्षा र सतर्कता अपनाइएको बस्नेतले बताए। उनका अनुसार डेलिभरीमा संलग्न सबैलाइ काउन्सिलिङ गरिएको छ। सामाजिक दुरी कायम राख्न सिकाइएको छ भने मास्क, पञ्जा, चश्मा र स्यानिटाइजर दिइएको छ।

अहिले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलनबाट रोक्न पूरा देश नै लकडाउन गरिएको छ। २५ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेक बाहिर निस्कन रोक लगाइएको छ। 

दैनिक उपभोग्य वस्तुहरुका पसल र बजार खुल्ला राख्न भनिएको भएपनि अधिकांश बन्द छन्। विहान-बेलुकी तरकारी बजार, खाद्यान्नका पसलहरु खुल्छन्। तर धेरैजसो पसलहरुमा भीडभाड हुने गरेको छ। भीडभाडमा जाँदा हुने जोखिमबाट बच्न मेट्रो तरकारी एउटा उपयुक्त विकल्प भएको बस्नेतले बताए।