ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बेच्ने निर्णय, उपभोक्ता मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा

बिजमाण्डू
२०७६ चैत्र १३ गते ११:२२ | Mar 26, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। आयल निगमले अभाव हटाउन आधा ग्यास भरेर बेच्न बोटलिङ प्लान्टलाई निर्देशन दिएको छ। ग्यास उद्योगले बिहीबारदेखि ७.१ किलो ग्यास भर्नुपर्नेछ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अभाव हटाउन आधा ग्यास भरेर बिक्री गर्न उद्योगलाई आग्रह गरेको बताए।  ‘हामीले भारतबाट बढी ग्यास ल्याएर अभाव हटाउने प्रयास गर्‍यौं। जतिसुकै प्रयास गर्दा समेत अभाव हटेन्,’ उनले बिजमाण्डूसँग भने, ‘त्यसपछि हामीले आधा ग्यास भरेर बिक्री गर्ने योजना बनाएका हौं।’

एक सिलिण्डर ग्यासमा १४.२ किलो हुन्छ। आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। नाकाबन्दीका समयमा पनि निगमले आधा ग्यास भरेर आपूर्ति व्यवस्था सहज बनाउने प्रयास गरेको थियो। त्यो बेलामा ग्यास आपूर्तिमा केही सहजता भए पनि नयाँ सिलिण्डर घर घरमा थुप्रिएका थिए।

नाकाबन्दीको समयमा थुप्रिएका सिलिण्डर कोरोना संक्रमणको हल्लासँगै बाहिर आएको थियो। घरभित्र रहेका पुराना सिलिण्डर बाहिर आएकै कारण अहिले वितरण प्रणाली व्यवस्थापन गर्न असहज भएको हो। अहिले पनि आधा ग्यास बिक्री गर्दा उपभोक्ताको घरमा थप सिलिण्डर थुप्रिने आशंका बिक्रेताहरु गर्छन्।

‘अहिले त्यति ठूलो ग्यास अभाव थिएन। भारतबाट सहज रुपमा ग्यास आइरहेको थियो। उपत्यकाका हुने खाने एउटै परिवारले १० वटासम्म सिलिण्डर भरेर राखिसकेका थिए,’ ती बिक्रेताले भने, ‘यो व्यवस्था कार्यान्वयनमा ल्याउँदा झन् ग्यास थुपार्ने होड मात्रै हुन्छ।’ भारतमा लकडाउन हुँदा पनि नेपालमा ग्यास आइरहेको छ।

मंगलबार र बुधबार मात्रै ४४ सय टन ग्यास नेपाल भित्रिएको छ। यो एकै दिनमा आएको सबैभन्दा धेरै ग्यास हो। भारतबाट ग्यास आइरहेको र धेरैको घरमा ग्यास मौज्दात भएका बेला आधा सिलिण्डर बेच्ने निर्णय अव्यवहारिक भएको ती बिक्रेताले बताए। तर कार्यकारी निर्देशक भने ग्यासको समानुपातिक वितरणका लागि यो व्यवस्था गरिएको बताउँछन्।

‘ग्यासको समानुपातिक वितरणका लागि आधा सिलिण्डर ग्यास बेच्नुपर्ने बाध्यता आएको हो,’ उनले भने, ‘समस्या समाधान नभएसम्मका लागि यही व्यवस्था कार्यान्वयन गरिनेछ।’ निगमले नयाँ ग्यास सिलिण्डर बेच्न भने प्रतिबन्ध नै लगाएको छ। ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले मुलुकले भोगेको कठिन परिस्थितिमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए।

'सरकारले ल्याएको सबै योजनामा सहयोग गर्न तयार छौं। हामीले कोरोनाको संक्रमण नियन्त्रण अगाडि पनि उपभोक्तासम्म ग्यास पुर्‍याउन दिन रात नभनी काम गरेका थियौं,' उनले बिजमाण्डूसँग भने, 'अब पनि सरकारले ल्याएका योजनालाई सफल बनाउन लाग्छौं। हामी उपभोक्तालाई ग्यास पाउने सुनिश्चितता गर्न तयार छौं।'

निगमले आधा भरिएको ग्यास बिक्री वितरण कार्यान्वयनका लागि ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधिलाई अहिले एक बजे छलफलमा बोलाएको छ। यो छलफलपछि शुक्रबारदेखि आधा सिलिण्डर ग्यास बिक्री वितरणमा आउनेछ।

 इमेलमार्फत निर्देशन

आयल निगमले सबै ग्यास उद्योगलाई आधा सिलिण्डर ग्यास भर्न इमेलमार्फत पत्र पठायो। बुधबारसम्म ग्यास बिक्रीका लागि आयल निगमबाट कुनै खोजखबर नपाएका उद्योगीलाई आएको त्यो पत्रले आश्चर्यचकित बनायो।

लकडाउनपछि अत्यावश्यक वस्तु बिक्री वितरण गर्ने निर्णय सरकारले गरेको थियो। तर ग्यास उद्योगी समेत बाहिर हिड्न पाएनन्। कतिपय ग्यास कम्पनीले भरेर ल्याएको सिलिण्डर समेत उद्योग परिसरमै राखे भने कतिपयको बीच बाटोमै अड्कियो। उद्योगीले ग्यास बिक्रीका लागि लैजान नपाएको भनेर निगमका उच्च अधिकारीलाई टेलिफोन गर्दा अहिले नबेच्नू भन्ने जवाफ पाए। तर बुधबार राती एकाएक आधा सिलिण्डर ग्यास बेच्ने इमेल पाए। यो पत्र पाएपछि उद्योगीहरु अलमलमा परेका छन्।

अझ अहिले सबै उद्योग अटोमेसनमा गइसकेकोले फेरि आधा सिलिण्डरको सिस्टममा राखेर चलाउनुपर्ने अवस्था छ। एक उद्योगीका अनुसार निगमले यस्तो संकटपूर्ण अवस्थामा समेत निजी क्षेत्रलाई समन्वय गर्नुको साटो आफूखुशी निर्णय गरेर स्वेच्छाचारी बन्न खोजेको छ।

‘सरकारमा बस्ने हरेकको मपाईत्व बढी छ। यो बेलामा सरकार र निजी क्षेत्र एउटै भएर काम गर्नुपर्ने हो। तर मन्त्रिपरिषद्को निर्णय जिल्ला प्रशासनले मान्दैन। आयल निगमले पेट्रोलियम पदार्थ सबै आफ्नो अधिकार हो भन्ने ठानेर व्यवसायीलाई बाहिर राखेर निर्णय गर्छ,’ ती उद्योगीले भने, ‘सरकारमा बस्नेको यो रबैयाले उपभोक्ता पीडित बनिरहेका छन्।’ उनका अनुसार ग्यास उद्योगी र कर्मचारीले ज्यान जोखिममा हालेर काम गरिरहँदा निगमको गैरजिम्मेवारीपनले अभाव हट्न सकेको छैन।