भारतबाट फर्किएका अधिकांश क्वारेन्टाइनमा बसे, कतिपय भने अटेर गरी पुगे आफ्नै घर

बिजमाण्डू
२०७६ चैत्र १२ गते १८:५२ | Mar 25, 2020

कैलाली। मंगलवार कैलालीको गौरीफन्टा नाकाबाट १ हजार हाराहारीमा नेपालीहरु स्वदेश फर्किए। भारतको अति कोरोना प्रभावित महाराष्ट्र क्षेत्रलगायतबाट ५ दिनसम्मको सकसपूर्ण यात्राबाट नेपाली नाकासम्म आइपुगेका नेपालीहरुलाई मंगलवार बेलुका सम्बन्धित जिल्ला–जिल्लामा पठाइएको थियो।

Tata
GBIME
Nepal Life

एक रात नाकामै बिताएका र मंगलवार नाकामा पुगेका गरी २१ जिल्लाका ९ सय ९८ जनालाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मामा लगाइयो।

उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने सर्तपछि सरकारले नेपाल प्रवेश गर्न दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

क्वारेन्टाइनमा बस्नुपर्ने भनिए पनि कतिपय घरमै

नेपाल भित्रिएकामध्ये सबै भन्दा बढी कैलालीका २ सय १४ जना छन्। जसमध्ये कैलालीको गोदावरी नगरपालिकाका सबैजना नगरपालिकाको सम्पर्कमा नआएर घरमै बसेको छन्।

नगरपालिकाका प्रमुख हरिसिंह साउदले आइसोलेसन कक्ष र क्वारेन्टाइन व्यवस्था नगरपालिकाले गरेको भए पनि उनीहरु सम्पर्कमा नआएको बताए।

गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले भने, ‘भारतबाट आएकाहरुलाई होम क्वारेटाइनमा राख्ने गरिएको छ तर हिजो फर्किएकाहरु हाम्रो सम्पर्कमा आएनन्, डाटा संकलन गरिरहेका छौँ’, उनले अगाडी भने, ‘सबै वडाहरुमा उनीहरुको अवस्था बुझ्न नगरपालिकाका स्वास्थ्यकर्मी पनि परिचालन गरेका छौँ। हिजो मात्रै झण्डै ४० भन्दा बढी गोदावरी नगरपालिकाका स्थानीय घर फर्किएका बुझ्नमा आएको छ।’

वडा नम्बर ९ का वडा अध्यक्ष लाहानु चौधरीले वडामा हिजो भारतबाट स्थानीयहरु आएको स्विकार गरे। तर, उनीहरुको लगत संकलन गर्ने काम भइरहेको र त्यसपछि क्वारेन्टाइनमा राखिने उनको भनाइ छ।

कैलालीका स्थानीलाई ५ वटा बस मार्फत पठाइएको थियो। जसमा एउटा बस अत्तरिया र अन्य चार वटा टिकापुर क्षेत्रका लागि छुटेका थिए।

यस्तै। जिल्लाको बर्दोगोरिया गाउँपालिकाको मोहन्याल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा१५, टीकापुर र लम्कीचुहा नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइमा ४६ जनालाई  राखिएको छ। टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा २७, लम्कीचुहा नगरपालिकाको वडा नम्बर ९ र प्रतापपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा १९ जनालाई राखेको छ।

ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले भारतबाट फर्किएका चार बालकसहित १९ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए।

तर, अधिकांश स्थानीय घर पुगिसकेका छन्। २ सय ४८ जना बुधवार बिहान डोटी पुगेका थिए। उनीहरुलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनको निर्माण गरी १४ दिनसम्म राख्ने व्यवस्था गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। स्थानीय तहहरुले सार्वजनिक भवन, विद्यालय, सम्बन्धित वडा कार्यालयहरु लगायतका स्थानहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरेका उनको भनाइ छ।

हालसम्म डोटीको दिपायल सिलगढी नगरपालिका र केआइ सिंह गाउँपालिकाले दिपायल राजपुरमा रहेको सेतीसभा हलमा ३२ जनालाइ राख्ने व्यवस्था गरेका छन्। सायल गाउँपालिकाले वडा नम्बर ३ को कार्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ। बोगटान गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरी ४४ भन्दा बढी व्यक्तिहरुलाई राखेको जनाएको छ। डोटीमा पनि कतिपय व्यक्तिहरु भने घर पुगिसेकेका छन्।

मंगलवार बैतडीका ८७, बझाङका ६८, अछामका ६६, डडेल्धुराका ६५, कञ्चनपुरका ५१ र दार्चुलाका ३४ जनालाई बसमा सम्बन्धित जिल्लामा पठाइएको थियो।

डडेल्धुरामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। उनीहरु कतिपय गड्डाचौकी नाकाबाट आएकाहरु समेत छन्।

परशुराम नगरपालिकाका ३९, भागेश्वर गाउँपालिकाका १०, नवदुर्गा गाउँपलिकाका ११, गन्यापधुरा गाउँपालिकाका ९, अजयमेरु गाउँपालिकाका ५, अमरगढी नगरपालिका–१० का १० जना र वडा नम्बर ९ का ११ जनालाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको पन्तको भनाइ छ। उनीहरु पनि आज बिहान मात्रै डडेल्धुरा पुगेका थिए।

एक हप्ताको अवधिमा भारतबाट डडेल्धुरा फर्किएका एक हजार ५ सय जनाको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडा–वडामा स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्यांक संकलन गरिने र सेल्फ/होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पन्तले बताए।

मंगलवार सुुदूरपश्चिम बाहिरका पनि एक सय २२ जनालाई बसमा सम्बन्धित जिल्ला पठाइएको थियो। सुर्खेतका ४२, पाल्पाका ३८, कालिकोटका १२, दाङका ८, प्युठान र बाग्लुङका ३/३, कपिलवस्तुका २, बर्दिया, बाँके, जनकपुर, चितवन, रुकुम, रुपन्देहीका १/१ जनालाई सम्बन्धित जिल्ला पठाइएको हो।