इन्टरनेट चलाउने बढे, सर्भर डाउनको चिन्ता, एनटिएले भन्यो-‘आवश्यक मात्रै चलाउनु’

बिजमाण्डू
२०७६ चैत्र १० गते १३:४२ | Mar 23, 2020
इन्टरनेट चलाउने बढे, सर्भर डाउनको चिन्ता, एनटिएले भन्यो-‘आवश्यक मात्रै चलाउनु’

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोनाको संक्रमण रोक्न अत्यावश्यक काम वाहेक वाहिर नजान आग्रह गरेपछि इन्टरनेट प्रयोगकर्ता ह्वात्तै बढेको छ। प्रयोगकर्ता बढेपछि अस्वभाविक लोड बढेर इन्टरनेटको गति सुस्त हुन थालेको छ।

इन्टरनेटको गति कायम राख्न नेपाल दूरसंचार प्राधिकरणले आवश्यक एप्लिकेसन मात्रै चलाउन आग्रह गरेको छ। विगत केहि महिनादेखि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस (कोभिड-१९) को समस्याले गर्दा इन्टरनेट प्रयोगकर्ता अस्वभाविक रुपमा वृद्धि भैरहेको छ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले केही युरोपेली मुलुकमा इन्टरनेट प्रयोगको दर बढेपछि सेवा प्रदायकका सर्भर डाउन भएको बताउँदै त्यस्तै परिस्थिती आउन नदिन समयमै सचेत हुनुपर्ने बताए।

उनका अनुसार नेपाल टेलिकमको सर्भरनै डाउन हुने स्थिती नभए पनि नेपालमा पनि डाटा प्रयोगको दर बढेको छ। ‘भ्वाइस कलमा फरक परेको छैन। तर डेटा प्रयोगको दर भने बढेको छ’ उनले बिजमाण्डूसँग भने ‘हामीसँग उच्च क्षमताको उपकरण छन्। हाललाई सर्भरनै डाउन हुने अवस्था छैन।‘

त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीले दिने सेवामा पनि अत्याधिक चाप रहेको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले कोरोना त्रासका कारण मानिसहरु फुर्सदिला भएकाले इन्टरनेट चलाउने बढेको बताए। उनका अनुसार डेटा सेवा दिने सेवा प्रदायकलाई तत्काल समस्या नदेखिए पनि आइएसपी तर्फका सेवामा भने समस्या आउन सक्ने देखिन्छ।

इन्टरनेट प्रदायकको संगठन आईएसपीएनका अध्यक्ष भोजराज भट्टका अनुसार इन्टरनेट प्रयोगको दर २५ प्रतिशतले बढेको छ। उनले बिहान र बेलुकाको समयलाई पिकआवर मानिएपनि अहिले भने दिनैभरी एउटै दरमा इन्टरनेट चलेको बताए। नेपालमा सञ्चालित सेवाप्रदायकले चीन र भारतको गेटवे प्रयोग गरेर इन्टरनेट ल्याएका छन्।

केही ठुला सेवा प्रदायकको बाहेक अधिकाश आइएसपीले प्रयोग गर्ने गेटवेको क्षमता ४० जिबी मात्रै छ। एकैपटक धेरै यूजर एक्टिभ हुदा गेटवेको क्षमताले नधान्न पनि सक्छ। जसको कारण आइएसपीहरुको सर्भर डाउन हुदा सेवा अवरोध हुन सक्छ। यस अघि भुकम्पको बेला अत्याधिक ट्राफिक हुँदा सर्भरनै डाउन हुने स्थिति आएको थियो।