जापानी कम्पनीले कन्साइ नेरोलेकको ट्रेड मार्क मुद्दा जित्यो, यसरी कब्जामा परेको थियो




काठमाडौं। ट्रेडमार्क खोसिएपछि ‘केएनपी जापान’ नामबाट ब्यवसाय गरिरहेको जापानको कम्पनीले अन्ततः मुद्दा जितेको छ। सर्वोच्च अदालतले बुधबार तल्लो अदालतबाट भएको फैसलालाई उल्ट्याउँदै ‘नेरोलेक ब्रान्ड’ जापानी कम्पनीकै भएको निर्णय सुनाएको हो।

सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी र बमबहादुर श्रेष्ठको संयुक्त इजलासले नेरोल्याक ब्रान्ड नेपालीको नभइ जापानी कम्पनीकै भएको फैसला गरेको हो।

TaTa
Sanima Bank
Riddisiddi Cement

ब्रान्ड खोसिएपछि कम्पनीले ‘केनपी जापान’ नामबाट उत्पादन बिक्री गर्दै आएको थियो।

यसरी खोसिएको थियो ब्रान्ड
२०३९ को बजेटबाट आंशिक रूपमा नेपालमा वैदेशिक लगानीको चरण सुरु भएपनि सफलता हात लागिरहेको थिएन। २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) भित्रिन थाल्यो। तर, त्यसको केही वर्षमै मुलुक फेरि द्वन्द्वमा फसेपछि लगानीकर्ता निरुत्साहित भए।

माओवादी द्वन्द्व समाप्तिसँगै जापानी बहुराष्ट्रिय कम्पनी 'कान्साइ पेन्ट्स' नेपालमा लगानी गर्ने रणनीतिमा पुग्यो। २०५० सालबाटै कान्साइका उत्पादनहरु नेपालमा बिक्री हुन थालिसकेको थियो।

कारखाना खोलेर उत्पादन थाल्ने योजना अनुसार कान्साइले आफ्नो ७४.२२ प्रतिशत सेयर स्वामित्व रहेको भारतीय कम्पनी 'कान्साइ नेरोल्याक पेन्ट्स लिमिटेड' मार्फत नेपाल भित्रिने रणनीति तय गर्‍यो। २०६७ सालमा भारतीय कम्पनीले नेपाली 'बेष्ट पार्टनर' खोज्न थाल्यो।

रंगरोगन क्षेत्रमा काम गरिरहेका ४/५ वटा नेपाली लगानीकर्तासँग उसले कुराकानी गर्‍यो। त्यस बीचमा उसले रुक्मणी केमिकल्स लिमिटेडका श्रवणकुमार गोयलदेखि शालिमार पेन्ट्सका अशोककुमार वैद्यसम्मलाई भेटेर संयुक्त लगानीमा नेपाल आउन चाहेको रणनीति सुनायो।

२०६८ सालमा श्रवणकुमार वैद्यको शालिमार पेन्ट्सको 'मेजोरिटी सेयर' किनेर औपचारिक रूपमा नेपाल भित्रियो। शालिमारमा अशोककुमारसँगै जीवनकुमार अग्रवाल, विजयसिंह वैद्य र राजकुमार वैद्य लगानीकर्ता थिए। शालिमारमा ६८ प्रतिशत सेयर हालेर भित्रिएको कान्साइ नेरोल्याकमा चार जनाको ३२ प्रतिशत सेयर स्वामित्व थियो।

वीरगञ्जको परवानीपुरमा कारखाना स्थापना गरेर कान्साइ नेरोल्याक पेन्ट्स नेपाल कम्पनीले 'नेरोल्याक' ब्राण्डमा उत्पादन सुरु गर्‍यो।

आक्रामक बजार विस्तारमा नलाग्दै कम्पनी कानुनी 'लफडा' मा पर्‍यो। २०७३ फागुन २४ गतेबाट कान्साइ नेरोल्याकले नेपालमा उत्पादन गर्न नपाउने फैसला अदालतबाट भयो। यसपछि  कान्साइ नेरोल्याक ब्राण्डका सबै उत्पादन कानुनी रुपमै अवैध भए। 
 

गोयलले हानेका थिए छिर्के
वित्तीय क्षेत्रमा समेत लगानी रहेको श्रवणकुमार गोयलसँग नेपाल आउने बारे सामान्य कुराकानी गरेपनि कान्साइ नेरोल्याकले अशोककुमार वैद्यलाई साझेदार रोज्ने पक्कापक्की भयो।

कागजमा सीमित रुक्मणी केमिकल्स प्रालिका मालिक गोयललाई कान्साइ नेरोल्याकसँग जसरी पनि साझेदारी गर्ने महत्वकांक्षा पलायो। उनले कानुनी रूपमै कान्साइलाई रोक्न 'नेरोल्याक' र 'कान्साइ' नामक ब्राण्ड र कम्पनी दर्ता गरे।

उद्योग विभागले गोयलको रुक्मणी केमिकल्स इन्डस्ट्रिजको छोटकरी रूप आरसिआइ जोडेर नेरोल्याक ब्राण्ड दर्ता गरिदियो। अर्थात विभागले नेरोल्याकको एकाधिकार गोयललाई मात्र दिएन।

त्यसपछि भारतीय कम्पनीमार्फत आएको कान्साइ नेरोल्याकले पनि ब्राण्ड दर्ता गर्‍यो। उसले नेरोल्याकमा एकाधिकार पायो।

कान्साइ नेरोल्याक ब्राण्ड र कम्पनीको नाम आफ्नोमा दर्ता भएपछि कम्पनी जसरी पनि आफूसँगै साझेदारी गर्न आउँछ भन्ने बुझाइ गोयलको थियो। तर विभागले ब्राण्ड दर्ता गरिदिएपछि गोयल सपना पूरा भएन।

गोयल कानुनी दाउपेचतिर लागे। नेरोल्याकको वास्तविक उत्पादक पनि गोयलले अनधिकृत रुपमा ब्राण्ड र कम्पनीको नाम होल्ड गरेको आरोपमा अदालत पुग्यो। गोयलले कान्साइ नेरोल्याक नाम गरेको कम्पनी पनि दर्ता गरेर नाम कब्जा गरिसकेका थिए। भारतीय पक्षले त्यो पनि पाएन। उसले केएनपी जापान भन्ने नाम राख्नु पर्‍यो।

लफडा ट्रेडमार्क दर्तामा
ट्रेडमार्क दर्ता हुनुहुँदैन र भएको ट्रेडमार्क बदर हुनुपर्छ भन्ने मुद्दा पर्‍यो। दुवै पक्षले एकले अर्कालाई मुद्दा हाले। अन्तर्राष्ट्रिय स्तरमै 'नेरोल्याक' आफ्नो ब्राण्ड भएकाले नेपालमा पनि आफू मात्र नेरोल्याकको हकदार भएको तर्क भारतीय पक्षको थियो।

उसले २०५० सालबाटै नेपालमा नेरोल्याकका उत्पादनहरु बिक्री वितरण हुन थालेको भन्सार प्रज्ञापनपत्र प्रमाणका रुपमा अदालतमा बुझायो। विभाग हुँदै सुरु भएको मुद्दामा अन्तिम फैसला दिँदै पाटन उच्च अदालतले गोयलको पक्षमा फैसला गरिदिएको थियो। २०७३ फागुनमा पाटन अदालतको फैसलापछि कम्पनीले केएनपी नामबाट कारोबार गर्न थालेको छ। उसले अन्तिम आशा सर्वोच्चमा मुद्दा हालेको थियो। बुधबार उसले सर्वोच्चबाट न्याय पाएको छ।

२०७३ फागुनमा कान्साइ नेरोल्याक नेपालमा सेयर पुँजी १३ करोड र जगेडा कोष १९ करोड ९१ लाख गरी कुल पुँजी कोष ३२ करोड ९१ लाख रुपैयाँ थियो। कम्पनीले २०७३ अघिको आर्थिक वर्ष कर कट्टीपछि सात करोड २३ लाख रुपैयाँ नाफा गरेको थियो। साढे ७६ करोडको कारोबार गरेको कम्पनीले साढे दुई करोड आयकर तिरेको थियो।

कुल पुँजीमा ६८ प्रतिशत हिस्सा कन्साइ पेन्ट्सको छ। अन्तर्राष्ट्रिय ब्यापार नीति विरूद्धको ऐनकानुन, प्रशासनिक झन्झट देखाउँदै कन्साइ नेपालबाट विदा हुने मुडमा पुगिसकेको थियो। अन्तत उसले नाम फेरेर उत्पादन बजारमा ल्याउन थालेको थियो।

दुई तह (जिल्ला अदालतको अधिकार भएको उद्योग विभाग र पाटन उच्च अदालत) बाट मुद्दा हारिसकेकाले सर्वोच्च अदालत जान कान्साइलाई मुश्किल थियो। तैपनि अन्तिम कानुनी लडाइँका लागि सर्वोच्चसँग पुनरावेदन (निस्सा) माग गर्दै २०७४ भदौमा सर्वोच्च पुगेको थियो। कम्पनीका निस्सामाथि फैसला गर्दै सर्वोच्चले जापानी कम्पनीलाई आधिकारिक ब्रान्ड उपलब्ध गराएको हो।


Share this Story

   

जापानी कम्पनीले कन्साइ नेरोलेकको ट्रेड मार्क मुद्दा जित्यो, यसरी कब्जामा परेको थियो को लागी १ प्रतिक्रिया(हरु)

Aman[ 2020-02-20 05:07:36 ]
sahi phaisala....yesta pajiharule bholi nepal ma apple ra samsung pani darta garna ber chhaina.....

   हालसम्म ७२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell