लगानीकर्ता रिझाउन धितोपत्र बोर्डद्वारा चार नियमावली संशोधन, सेयर बजारमा सकारात्मक प्रभाव

बिजमाण्डू
२०७६ फागुन ६ गते १६:१५ | Feb 18, 2020
लगानीकर्ता रिझाउन धितोपत्र बोर्डद्वारा चार नियमावली संशोधन, सेयर बजारमा सकारात्मक प्रभाव


Tata
GBIME
NLIC

काठमाडौं। नेपाल धितोपत्र बोर्डले चार नियमावली संशोधनलाई सेयर बजारलाई सकारात्मक आधार तयार गरेको सरोकारवाला बताउँछन्।

नियमावलीको संशोधनसँगै लगानीकर्ताको मनोबल बढाएको र अगामी दिनमा लगानीका लागि बजार अनुकूल बनाएको उनीहरुको जिकिर छ। धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डले गत बिहीबारदेखि लागू हुनेगरि नियमावलीको संशोधन गरेको हो।

जसमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली-२०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली-२०६४, सामूहिक लगानी कोष नियमावली-२०६७ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ छन्। बोर्डमा नयाँ अध्यक्षका रुपमा भीष्मराज ढुंगाना आएपछि पहिलोपटक चारवटा नियमावलीहरू संशोधन भएका हुन्। संशोधित नियमावली कार्यान्वयनमा आइसकेको छ।

संशोधित नियमावलीमा के छ ?

संशोधित धितोपत्र व्यवसायी नियमावली-२०६४ ले धितोपत्र व्यापारीको न्युनतम चुक्ता पुँजी २० करोड तोकिदिएको छ। धितोपत्र दलाल व्यवसायीको स्वामित्व ग्रहणका लागि लगानीको स्रोत खुलाउनुपर्ने व्यवस्था  समेत गरिएको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ मा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिको प्रयोगमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। संगठित संस्थाले विदेशी मुलुकको पुँजीबजारमा ऋणपत्र, डिबेञ्चर वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सक्ने व्यवस्था गरिएको छ।

सामूहिक लगानी कोष नियमावली-२०६७ मा बीमा कम्पनी तथा विशेष ऐनद्वारा स्थापित गैरबैंकिङ वित्तीय संस्थाहरुले समेत सामुहिक लगानी कोष योजना सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। सर्वसाधारण लगानीकर्तालाई खुलामुखी योजनामा आकर्षित गर्न योजना व्यवस्थापकले इकाई बिक्री गर्दा कुनै शुल्क लिन नपाउने व्यवस्था समेत गरिएको छ।

धितोपत्र व्यवसायी नियमावली-२०६४ मा मर्चेन्ट बैंकरको सेयर बिक्री वा हस्तान्तरण हुँदा वा अन्य कुनै प्रकारले नयाँ सेयरधनी थप गर्नु पूर्व बोर्डमा अभिलेख गराउँदा अंकित मूल्यको सट्टा बिक्री मूल्यमा गराउनुपर्ने व्यवस्था गरिएको छ । 

धितोपत्र कारोबारका नेप्सेले २०७५ कात्तिक २० गतेबाट अनलाइन कारोबार प्रणालीलाई कार्यान्वयनमा ल्याएको थियो। दलालसँग ऋण लिएर गरिने कारोबार अर्थात मार्जिन कारोबार पनि कार्यान्वयनको चरणमा छ।

'बोर्डको संशोधित नियमावली, नेप्सेको अनलाइन कारोबार र मार्जिन कारोबारको व्यवस्थाले लगानीकर्ताको मनोबल बढाउनमा सहयोग गरेको छ। साथै,  बोर्डको संशोधित नियमावली र नेप्सेले ल्याएको व्यवस्था लगानीका लागि बाधक नभएर साधक भएको छ,' ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले भने, 'नयाँ नियमावली र व्यवस्थाले बजारलाई लगानी गर्न योग्य बनाउन मद्दत गरेको छ।'   

किन बजार लगानी अनुकूल ?

गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्ष वाणिज्य बैंकको ब्याजदरमा कमी देखिएको छ। साथै, फाइनान्सले पनि लगानीकर्तालाई कर्जामा सुविधा प्रदान गरिरहेको छ।

वित्तीय क्षेत्रमा पनि तरलताको समस्या नभएको अवस्था छ। साथै, लगानीकर्ताले सेयर कर्जा पनि पाइरहेकाले बजार अनुकूल देखिएको हो। धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्ताको हितमा रहेर चार नियमावलीको संशोधन गरेर लगानीकर्तालाई बाटो सहज बनाइदिएको छ। नेप्सेमा अनलाइनको माध्यमले लगानीकर्ताले जहाँसुकै बसेर पनि कारोबार गर्न सक्छन्। नेपालको धितोपत्र बजारमा रहेका अधिकांश लगानीकर्ता अन्यत्र कमाएर सेयरमा लगानी गर्नेहरू छन्।

नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबार सम्बन्धी सुविधा उपलब्ध गराउन निर्धारित मापदण्ड पुगेका दलालहरुलाई गत असार १२ गते अनुमति दिएको थियो। तर, सेयर लगानीकर्तालाई दलालले भन्दा बैंकले धेरै प्रतिशत ऋण उपलब्ध गराउने व्यवस्था, कारोबारका लागि आफूले चाहेको कम्पनी छनोट गर्न नसकिने र छनोट गरिएको कम्पनीबाट पनि कम प्रतिशतमा कारोबार गर्न पाइने कारणले व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन।

‘अहिले मार्जिन कारोबारमा रहेको जटिलतालाई पहिचान गरेर समाधान गर्न तर्फ गइरहेको छ,' रानाभाट भन्छन्, 'मार्जिन कारोबारलाई पनि कार्यान्वयनमा ल्याएपछि लगानीको बजार अझ सहज हुनेछ।'

बजार लगानीकर्ताकै

लामो समयसम्म घट्दो क्रममा रहेको बजार बढ्दो क्रममा छ। पहिले बजार घट्दो क्रममा रहँदा व्यक्तिगत लगानीकर्तामा बजारप्रति एक प्रकारको नैराश्यताको परिस्थिति थियो।

तर, धितोपत्र बजारमा ‘पर्ख र हेर’ भन्ने सिद्धान्त अवलम्वन गर्नुपर्छ भन्ने कुरालाई हालको बजारले पुष्टि गरिदिएको छ। यसले लगानीकर्तालाई अगामी दिनमा बजार अनुकूल हुँदै आएको देखाएको छ। भविष्यमा लगानीकर्ताले कम्पनीको रिटर्न, पर्फर्मेन्स र बजारमा आउन सक्ने विभिन्न पक्षलाई हेरेर लगानी गर्नसक्नु पर्दछ भन्ने दृष्टान्त दिएको छ।

कम्पनीका प्रोफिट बुक गराउँदै जानुपर्ने अवस्था छ। प्रोफिट बुक गराउनु भएन भने बजारबाट जति फाइदा लिन सक्ने हो त्यति लिन नसकिने पनि हुनसक्दछ। यस्ता कुराहरुलाई लगानीकर्ताले ध्यान दिए बजार सधै लगानीकर्ताको पक्षमा नै रहन्छ।

बजार कता जान्छ ?

इन्डेक्सलाई मात्र हेरेर समग्र बजारको निर्क्योल उचित होइन। बजार १८ सय ८१ अंकमा पुग्दा खासै नयाँ कुरा केही थिएन भने ११ सय अंकमा झर्दा पनि केही परिवर्तन देखिएको थिएन।

बजारमा इन्डेक्स तल-माथि हुँदा ठूलो परिवर्तन नदेखिने बुझिन्छ। तर, हाल बजारलाई समर्थन गर्ने खालका कुराहरु आइरहेकाले सकारात्मक देखिने क्रम जारी छ। नेपालको बजार विकासको क्रममा छ। बजारलाई विकसित चरणमा पुर्‍याउन संशोधित नियमावली एवं नयाँ व्यवस्थाले सहयोग पुर्याएको छ।