अमेरिकाको 'हाइ-पेड जब' छोडेर ब्यापार हाँक्न आएका रवीन्द्रभक्त भन्छन् 'उत्साह र अवसर दुवै छ'




काठमाडौं। अमेरिकाको बसाइँ, सिटी बैंकमा फाइनान्सियल एनालिस्टको जागिर, अनि कमैले मात्र पाउने आकर्षक तलब। यति हुँदा पनि रवीन्द्रभक्त श्रेष्ठको मन रमाइरहेको थिएन। केही त 'ल्याकिङ' थियो। कफी टेबलबाट ग्रेगोरी डेभिड रोबर्ट्सको अटोबायोग्राफी 'शान्ताराम' उठाए। रवीन्द्रको प्रिय किताबमध्येको थियो एडभेन्चर थ्रिलर 'शान्ताराम'। शायद उनले सबैभन्दा धेरैपटक पढेको किताब पनि हो यो। 'लाइफ लेसन्स'ले भरिएको किताबमा मन परेर हाइलाइट गरेका पानाहरु उनले एकपटक फेरि पल्टाए। 

धेरै वास्तविकता र केही कल्पना मिसिएको 'शान्ताराम' एक दुर्ब्यसनी र बैंक लुटेराको कथा हो जसले जीवनभन्दा माथिल्लो तहको दर्शन सिकाउँछ। जस्तोसुकै कठिन घडीमा पनि मित्र र परिवारकालागि जुनसुकै हद पार गरेर सम्बन्धलाई जोगाउन सिकाउने दर्शनले भरिएको छ किताब । किताबले बोकेको फिलोसफीबाट रवीन्द्र प्रभावित छन्। जीवनको आरोह अवरोहमा शान्तिपूर्वक अघि बढ्ने दर्शन बोकेको 'शान्ताराम' त्यसबेला फेरि रवीन्द्रले पल्टाए जतिबेला उनी पनि जीवनकै सबैभन्दा ठूलो निर्णय गर्न गइरहेका थिए। जीवनकै 'प्राइम एज,' अनि उम्दा करियर दाउमा राखेर गर्नुपर्ने थियो त्यो निर्णय।

TaTa
Sanima Bank
Riddisiddi Cement

दोस्रोपटक सँधैका लागि नेपाल फर्कन मानसिक रूपमा तयार हुन रवीन्द्रलाई पूरै ६ महिना लाग्यो। 

अमेरिकाको गज्जबको लाइफस्टाइल र करियरका बीच पनि केवल एउटा नम्बर वा डट मात्र हुने की नेपाल फर्किएर फ्यामिली बिजनेसको लिडर बन्ने ? अनि नेपाल नै फर्किने हो भने २० प्लसमा नफर्किए ४० प्लसमा फर्किएर कसरी काम गर्ने ? यही प्रश्नको उत्तर खोज्दा उनले ६ महिना मन र मस्तिष्क बीच लडाई झेले।

निर्णय लिने बेला नेपाली हुनुको फिलिङ्सले अझ बढी काम गर्‍यो, किनभने नौ वर्षको उमेरदेखि पढाइका लागि देश बाहिर बसेका उनलाई सँधै घर आउँदा मात्र नसोचेको खुशी मिल्थ्यो। 'मलाई लाग्यो मेरो शिक्षामा परिवारले जुन लगानी गरेको छ त्यसको प्रतिफल पाउने हक मेरो परिवारको पनि छ, देशको पनि छ। जे सिकेको छु यहीँ लगानी गर्छु भन्ने निर्णयमा पुगें-' ६ महिनाको सकसपूर्ण समय लगाएर उनले गरेको निर्णय सुनाउन घरमा फोन गरे।

अलि अप्ठेरोगरी नेपाली बोल्ने उनले सजिलैसँग बुवा रवीभक्त श्रेष्ठलाई सुनाए- 'म अब सँधैका लागि घर फर्कँदैछु।' परिवारका लागि यो यस्तो खुशी थियो जसको प्रतीक्षा उनका बुवा भन्दापनि हजुरबुवालाई सबैभन्दा बढी थियो। 

अवसरले भरिएको समय
सन् २०१० मा नेपाल फर्किएर तीन वर्ष बिताएपछि रवीन्द्रकै शब्दमा भन्दा 'एक किसिमको निराश वातावरणबाट फुत्किन' फेरि उनी अमेरिका हान्निएका थिए। पहिलो पटक फर्किँदा उनमा धेरै उत्साह थियो। काम नगरेका पनि होइनन्। सफल नभएका पनि होइनन् । तरपनि सोचेजस्तो केही भइरहे जस्तो उनलाई लागेन। साथीभाई परिवार जोसँग पनि कुरा गर्‍यो, सबै निराशाकै कुरा गर्थे। १६ घण्टाभन्दा बढीको लोडसेडिङ, बन्द हडताल, यहाँको त्यसबेलाको परिस्थिति नै मानिसलाई 'डिप्रेसिभ' बनाउने किसिमको थियो। निकै उत्साह बोकेर फर्किएका रवीन्द्रलाई पनि यहाँको अस्थिर माहौलले बिचलित बनाएको थियो रे। 

अनि दोस्रो पटक फर्कदाको अनुभव चैं कस्तो रह्यो त ? 

नेपाल फर्किएर फ्यामिली बिजनेसलाई लिड गर्दै तीन वर्ष बिताइसकेपछि एनई ग्रुपको कर्पोरेट अफिसमा एक्जुकेटिभ डाइरेक्टर रवीन्द्रले उत्साहित हुँदै सुनाए - 'नेपालमा अहिले काम गर्न सक्ने उमेरका युवाहरुको संख्या सबैभन्दा धेरै भएको समय हो। आय र खर्च गर्ने क्षमता दुवै बढिरहेको अवस्था छ। अहिले नेपालमा 'वान्स इन अ लाइफटाइम अपर्चुयुनिटी' आएको छ। मानिसहरुमा यति धेरै उत्साह मैले अहिलेसम्म पनि पाएको थिइन। ढुक्कसँग भन्न सकिन्छ अब हाम्रो टर्न हो !'

अर्थशास्त्रमा स्नातक र बिजनेस एडमिनिस्ट्रेसनमा डिग्री लिएर अमेरिकाबाट नेपाल फर्किएका रवीन्द्र डेटामा विश्वास गर्छन्। रिसर्चमा आधारित कुरा गर्छन्। अहिलेको माहोलबारे उनी भन्छन् - 'स-सानो सफलताले पनि हामीलाई कति धेरै फरक पार्छ हेर्नुस् त ! अहिले हामीले लोडसेडिङ पूरै बिर्सन थालिसक्यौं। बिजुली निरन्तर आउनु नै उत्साहित बनाउने सबैभन्दा सुखद खबर थियो। फेरि अहिले इन्टरनेट र कनेक्टिभिटी नै कति फास्ट भइसक्यो । अब हामी कुनै आइसोलेटेड कन्ट्री जस्तो छैनौं ग्लोबल भिलेजमा पसिसकेका छौं।' 

फर्केर आएपछिका तीन वर्षमा उनले नेपालमा जति पनि मानिसहरु भेटे, उनीहरुबाट पाएको सकारात्मक प्रतिक्रिया नै अहिले उनको सबैभन्दा ठूलो उत्साहको कारण हो भन्छन् रवीन्द्र । -'अहिलेजस्तो कमर्सियल्ली ओपन इन्भायरमेन्ट यसअघि कहिले पनि थिएन। यहाँ हरेक बिजनेस हाउसहरुको स्ट्याण्डर्ड थपिँदो छ प्रोजेक्ट थपिँदो छ। विदेशी कम्पनीहरु पनि नेपालमा लगानी गर्नको लागि उत्साहित छन्। बिजनेस सेक्टरमा थपिएका अवसरहरु हेर्दा लाग्छ अब चाहीँ सब ठीक छ। यो अवसरको वेभ मैले मिस गर्नु हुन्न।' 

हजुरबुवाको बिरासत थाम्दै
एनई ग्रुपमा तेस्रो पुस्ता हुन् रवीन्द्रभक्त श्रेष्ठ। ३३ वर्षका उनलाई अझै याद छ हजुरबुवाको हात समाउँदै उनी तीन वर्षकै उमेरदेखि अफिस आउजाउ गर्न थालिसकेका थिए। हजुरबुवाका स्टाफहरुले माया गरेर फुच्चे भन्थे उनलाई। सेड्युलमा चल्नुपर्छ भन्ने स्वभावका थिए हजुरबुवा इन्द्रभक्त। हरेक दिन अफिस आएर आफ्नो छुट्टै हिसाब राखेको खातापाता पल्टाउने गर्थे । हजुरबुवा काममा तल्लिन तर 'फुच्चे' रवीन्द्रका लागि अफिस भनेकै यता कुद्यो उता कुद्यो खायो खेल्यो। उनलाई अफिस आउनु रमाइलो लाग्थ्यो । 

५/ ६ वर्षको उमेरदेखि हजुरबुवाले 'हिसाब भनेको सँधै राख्नुपर्छ' भनेको मात्रै रवीन्द्रले बुझ्न थालेछन्। ब्यापार भनेको त हिसाब राख्ने काम रहेछ भन्ने उनलाई लाग्यो।  नौ वर्षको उमेरमा जब रवीन्द्रले ब्यापारलाई किनबेच गर्ने र हिसाब राख्ने भन्ने बुझ्दै थिए उनलाई पढाउनका लागि परिवारले भारत पठायो। 

पढाइका लागि भारतबाट अमेरिका हुँदै २० वर्ष विदेशमा बिताएर फर्किएपछि मात्र उनले बुझे, ब्यापार भनेको किनबेच मात्र होइन रहेछ । यो त भिजन रहेछ। दीर्घकालमा कहाँसम्म पुग्ने भनेर लक्ष्य राखेर अघि बढ्नु रहेछ। लक्ष्य प्राप्तिका लागि के गर्ने मात्र होइन के नगर्ने भन्ने रणनीति पनि बनाउनु रहेछ। 

बिदाको समयमा घर फर्कँदा पनि रवीन्द्र हजुरबुवासँगै सँधै अफिस नै आए। हजुरबुवाको सपना पनि उनीमाथि जोडिँदै गयो। नजानिँदो रूपमा उनी नातिमाथि ठूलो भएपछि हजुरबुवाको बिरासत सम्हाल्नुपर्छ भन्ने प्रेसर हाल्थे रे। सिधै त उनले कहिल्यै भनेनन्, तर घुमाउरो ढंगले प्रेसर हाल्ने भइसकेका थिए रे हजुरबुवा। त्यो अदृश्य प्रेसरले यस्तो काम गरिरहेको थियो कि १७/१८ वर्षको उमेरमा रवीन्द्र ठूलो भएर कसरी बुवा र हजुरबुवाको कामलाई अघि बढाउने होला भन्ने सोच्न थाल्नुपर्ने अवस्थामा पुगिसकेका थिए।  हजुरबुवाको भित्री मनमा सँधै थियो 'नाति नेपाल फर्कियोस्।' 

तर जब उनले अमेरिकाको सिटी बैंकमा फिनान्सियल एनालिस्टको जागिर पाए, अनि हजुरबुवालाई सबैले भन्न थालेछन् 'अब तपाईंको नाति पक्का फर्कँदैन ।' पार्टीमा जाँदा होस् वा पारिवारिक भेटघाटमा सबैले नाति नफर्कने अनुमान लगाउँदा हजुरबुवा निन्याउरो हुन्थे। अहिले हाँस्दै रवीन्द्र भन्छन् - 'तर म फर्कनु सबैका लागि प्लेजेन्ट सरप्राइज भयो।' 

'फुच्चे आयो' भन्ने कतिपय कर्मचारीहरु अझै पनि कम्पनीमै छन्। 'फुच्चे' रवीन्द्र अब इडीका हैसियतमा कम्पनी हाँकिरहेका छन्। -'यो भवन यो संस्था र यो टिमसँगै म हुर्किँए। फ्यामिली बिजनेसमा अर्कै किसिमको आन्ट्रप्रेन्यूर भिजन हुन्छ। एनई ग्रुप कुनै बिजनेस ग्रुप मात्र होइन परिवारकै पाटो हो भन्ने कुरा पनि मलाई हजुरबुवाले नै सिकाउनुभएको हो।' 

अज्जबको सुरुवात
सन् २०१० मा अर्थशास्त्रमा स्नातक गरेर अमेरिकाबाट पहिलोपटक फर्किँदा नै रवीन्द्रले बुझिसकेका थिए - 'अब मेरो भिजन, एक्सपोजर र स्टाइल 'रवी सर' को भन्दा फरक हुन्छ। बुवाको गफ सुनेर मात्र त सिकिँदैन! अनि मैले आफैँ काम थालेर सिक्ने निर्णय गरें।' त्यसबेलैदेखि उनले पुरानो पुस्ताको भिजनलाई इन्ट्याक्ट राख्दै आफ्नो काम फरक ढंगले अघि बढाउने योजना बनाए। 

उनले दुईवटा प्रोजेक्ट आफ्नै योजनामा अघि बढाए। अज्जबको आइसक्रिम र एसआरएल ल्याब। श्याम कक्षपतिसँग मिलेर उनले आइसक्रिम कम्पनी सुरु गरे। 'सिक्नकै लागि भएकाले हायरिङदेखि प्रोडक्सन, सेल्स, मार्केटिङ, लिगालिटी सबै काममा म आफैं भिडेर लागें। राम्रो टिम बनेको थियो त्यो बेला। फर्स्ट बिजनेसले मलाई धेरै अनुभव दियो।' नाम राख्नकै लागि ६ महिना होमवर्क गरेको उनी सम्झन्छन्।  अजबको आइसक्रिम अहिले बजारमा स्थापित ब्राण्ड भइसकेको छ । त्यसैले उनलाई यो ब्राण्ड सुरु गर्ने बेलादेखि यो सँग जोडिएर आउने सबै कथाहरुसँग उत्तिकै लगाव छ।  

उनले पहिलोपटक फर्किँदा दुईवटा प्रोजेक्ट सुरु गरे। अज्जबको आइसक्रिम र एसआरएल ल्याब सफल रुपमै चलिरहेको थियो। तर पनि किन किन उनलाई लागिरहेको थियो 'मेरो ग्रोथ भइरहेको छैन।' बन्द, हडताल, लोडसेडिङले सबैको मुड डाउन थियो। अरुको जस्तै उनको पनि मुड डाउन थियो।  सन् २०१० देखि २०१३ सम्म उनले यहाँ काम गरे। बिजुली १५/१६ घण्टा नहुने। 'यो सबै कुराले मलाई प्रोडक्टिभिटी कम भइरहेको अनुभव भयो। मैले फेरि बुवालाई भनें अब म लर्निङ ग्रोथकै लागि अघि बढ्छु।' 

जतिबेला तीन वर्ष नेपालमा बिताएर उनी दोस्रोपटक अमेरिका गएका थिए त्यतिबेला उनको मोटिभेसन निकै कम भइसकेको थियो। उनकै शब्दमा नेपालको त्यसबेलाको अवस्थाप्रति निकै निराश थिए उनी।  

दोस्रोपटक नेपाल फर्किने निर्णय लिन उनलाई अझ बढी दुविधा थियो- 'जीवननै दाउमा लगाए जस्तो।' तर उनले धेरै समय लिएर यो निर्णय गरे।  उनी भन्छन् -'अमेरिकामा करियर पाथ, लाइफस्टाइल, पढाइ सबै थियो, तर नेपाल फर्केर केही गरेन भने ५० वर्षको उमेर पार गरेपछि मलाई रिग्रेट हुन्थ्यो भन्ने लागिरह्यो। अहिले तीन वर्ष बिताइसकेपछि भने म ढुक्क भएर भन्न सक्छु मेरो निर्णय सही थियो।' 

लिडर ब्यक्ति होइन संस्था हुनुपर्छ 
पुस्तापिच्छे बिचार र अवधारणाहरु फरक हुँदै जान्छ भन्नेमा रवीन्द्र विश्वास गर्छन्। हजुरबुवाले जे गरे उनका बुवाले त्यो भन्दा केही फरक गरे। अब उनको पालो। 

'पहिलोपटक फर्किदा मैले बुवाको जुनियर पार्टनर भएर काम गरें। दोस्रो पटक म फर्किँदा मैले एक्सनमा आउनुपर्छ भनेरै बुवालाई भनें 'मेरो यस्तो यस्तो किसिमको भिजन छ बुवा अब मलाई गर्न दिनुस्।' बुवा रवीभक्तको जवाफ एक लाइनको थियो -'तिमीलाई जे मन छ गर !'

रवीन्द्रले सोचेका रहेछन् बुवाले केही कन्ट्रोल गर्लान्। पावर रिलिज गर्न गाह्रो मान्लान्। दुई बीच केही फ्रिक्सन होला। तर खुशीसाथ बुवाले ग्रुपको जिम्मा लगाएकोमा रवीन्द्र सरप्राइज्ड भए।  अनि उनले थाले फ्यामिली ग्रुपलाई अझ बढी प्रोफेसनल बनाउने काम।

भइसकेको कामलाई प्रोफेसनलाइज गर्नु उनको पहिलो चरण थियो। त्यसैको परिणाम थियो 'स्टाफ अपब्रिंग्रिङ' जसमा उनले लामो समय खर्च गरे।

अमेरिकामा कर्मचारी भएर काम गर्दा उनले बिर्सेका थिए 'नेपाल फर्केर फेरि बोस बन्नु छ।' तर अमेरिकाको वर्किङ लाइफको अनुभव आज बोस बन्दा पनि उनलाई धेरै काम लागेको छ। फर्केर अफिस ज्वाइन गरेकै दिनदेखि उनले स्टाफहरुको लागि ग्रुमिङ कोर्स थाले। एक हप्ता होइन एक महिना होइन पुरै नौ महिनासम्मको। 

उनले नेपालमा ह्युमन रिसोर्सको समस्या नै के देखेका छन् भने - 'हामी आजको भोलि नै रिजल्ट खोज्छौं। तर स्टाफ इम्पावर नगरी रिजल्ट मात्र खोजेर हुन्न। पहिले स्टाफलाई इम्पावर गर्नै पर्छ।' उनी स्पष्ट के मा छन् भने आफू र आफ्नो स्टाफको एउटै भिजन हुने हो भने मात्र  ग्रुपको भिजन पूरा हुने हो। 

उनी नेपाल मात्र नभई एनईलाई विदेशमा पनि ब्राण्डिङ गर्न चाहन्छन्। कसरी त ? गम्भीर हुँदै उनले भने, 'इथिकल र गुड अफ द कन्ट्रीका लागि काम गर्ने ग्रुपका रुपमा !' 

हाल युनिलिभर नेपाल, नेशनल आइसक्रिम इन्डस्ट्रीज तथा एसआरएल नेपालका पनि निर्देशक हुन् रवीन्द्र।  टुरिजम् र हस्पिटालिटी क्षेत्रमा होटल सोल्टी, समिट र भिभान्ता होटलमा एनई ग्रुप संलग्न छ। 

पारिवारिक बिजनेस बाहेक उनी प्राइभेट इक्विटीको अवधारणमा पनि नयाँ प्रोजेक्ट अघि बढाइरहेका छन्।  उनी नेपालको लागि प्राइभेट इक्विटी फण्डमा अनौपचारिक रुपमा काम भइरहेको बताउँछन्। त्यसबाहेक शिक्षा र स्वास्थ्यका दुई तीनवटा नयाँ प्रोजेक्ट पनि पाइपलाइनमा रहेको उनले सुनाए। आइटी र भोकेसनल ट्रेनिङको काम पनि प्लानिङ फेजमा छन्। रवीन्द्र भन्छन् -'न हामी चीनजस्तो म्यानुफ्याक्चरल जायन्ट हुन सक्छौं न भारतजस्तो । तर हामीकहाँ जलविद्युत र कृषिमा प्रचुर सम्भावना छ।' त्यसैले उनी विद्युत उत्पादनका साथै कनेक्टिभिटी र निर्यात सम्झौतामा बढी लक्षित हुनुपर्ने देख्छन्। 

मौसम र भौगोलिक अवस्थाका कारण कृषि उत्पादनहरुको पनि राम्रो सम्भावना उनले देखेका छन्। आइटीको क्षेत्रमा पनि उनले राम्रो टेक्निकल ह्युमन रिसोर्स उत्पादन गर्न सकिने सम्भावना देखेका छन्। एनई ग्रुपले पनि कृषि र आइटीको क्षेत्रमा काम गर्ने योजना बनाएको उनले बताए। 

यसबाहेक व्यक्तिगत रूपमा उनी उद्यमशीलता प्रवर्द्धनकालागि मेन्टरशिप दिने काम पनि रवीन्द्रले गरिरहेका छन्। कुनै राम्रो उद्यमी हरेक अवरोधबाट मनोबल गिर्छ भन्ने उनले बुझेका छन् त्यसैले उनी लगानी बाहेक पनि उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर मेन्टोरिङ गर्ने गर्छन्। 

बाबु छोरा कि वर्किङ पार्टनर ! 
रविभक्त श्रेष्ठ नेपाली बिजनेस कम्युनिटीमा चर्चित नाम हो। जब रवीन्द्र बिदेशबाट यतै काम गर्ने मनस्थिति बनाएर घर फर्किए त्यसबेला उनलाई बुवासँग वर्किङ रिलेसन बनाउनु सबैभन्दा चुनौतीपूर्ण लाग्यो। 

काम गर्दा सुरु सुरुमा रवीन्द्रलाई बुवा सिनियर, मेन्टर, पार्टनर हुन् वा मेरा बुवा हुन् भन्ने लागिरह्यो।  उनी एक मिनेट पर्सनल कुरा अर्को मिनेट बिजनेसको कुरा गर्न सक्दैनथे। त्यस्तो कुराले बुवा-छोराको सम्बन्धमा असर पर्ने उनले  महसुस गर्न थाले। त्यसैले उनी र बुवाको बीचमा पारिवारिक रुपमा बढी रहने र बिजनेसका कुरा अफिसभित्रै सकेर घर निस्कने अब्यक्त सहमति जस्तो भएको छ। 

'अहिले हाम्रो कम्युनिकेसन इफिसियन्ट छ हामी राम्रो टिम बनेको छौं,' उनले भने। 

रवीन्द्रलाई थाहा छ एनई ग्रुप 'रविभक्त श्रेष्ठ' का नामले बढी चिनिन्छ। तर अब उनी एनई ग्रुपलाई नै ब्राण्डका रूपमा चिनाउन चाहन्छन्। 

भन्छन् -'म एनईको आफ्नै ब्राण्ड परिचय दिलाउँ भन्ने चाहन्छु। हजुरबुवा, बुवा र मेरो नामले मात्र होइन अब लिडर अफ एन् इन्डस्टीका रुपमा एनई ग्रुपलाई स्टाबलिस गरौं भन्ने ड्रिम छ मेरो।'

जब जब उनी कुनै नयाँ प्रोजेक्टको कुरा गर्न बुवाकहाँ प्रपोजल लिएर जान्थे उनी सुरुमै बुवालाई भन्थे बुवा यसमा रिस्क यस्तो छ है ! बुवाले उनलाई प्रश्न गर्थे 'रिस्क लिने गट्स नभए किन काम गर्ने ?' 

'छोराका रुपमा रवीन्द्रले बुवाबाट सिके 'रिस्क लिन नडराउ।' 

बुवाले उनलाई यो पनि सिकाएका छन् रे 'लेफ्ट राइट गर्दै अघि बढ्दा कन्फिडेन्स लुज गर्‍यो भने गोडाको चाल बिग्रन्छ ।'  

अब उनी पनि आफ्नो ड्रिम पूरा गर्न त्यो सबै रिस्क लिन चाहन्छन्, जुन रिस्क लिएर रविभक्तले कम्पनीलाई रवीन्द्रको काँधमा सुम्पिएका छन्।


Share this Story

   

अमेरिकाको 'हाइ-पेड जब' छोडेर ब्यापार हाँक्न आएका रवीन्द्रभक्त भन्छन् 'उत्साह र अवसर दुवै छ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell