फर्निचरबाट उदाएका रोहिणी थपलिया आर्थिक समस्यामा, २२ करोड नतिरेपछि बैंकले निकाल्यो सूचना

बिजमाण्डू
२०७६ माघ २९ गते १३:०० | Feb 12, 2020
फर्निचरबाट उदाएका रोहिणी थपलिया आर्थिक समस्यामा, २२ करोड नतिरेपछि बैंकले निकाल्यो सूचना


काठमाडौं। राजदरबार शक्तिशाली भएका बेला उदाएका व्यापारी रोहिणी थपलिया आर्थिक संकटमा परेका छन्। राजदरबारमा निकटता राखेर पद्म श्री फर्निचर उद्योगबाट अम्पाएर खडा गरेका थपलियालाई बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। 

Tata
GBIME
Nepal Life

उनी जापानी गाडी माज्दाको नेपालको अधिकृत बिक्रेता हुन्। माज्दा गाडी आयातका लागि लिएको ऋण नतिरेपछि प्रभु बैंकले अहिले ३५ दिने सूचना जारी गरेको हो। 

तात्कालिन ग्राण्ड बैंक नेपाल (प्रभुसँग गाभिइसक्यो) बाट थपलियाले एलसी खोलेर गाडी मगाएका थिए। उनले मगाएको सबै गाडी बिक्री पनि भयो। तर उनले बैंकलाई गाडी बिक्रीबाट उठेको पैसा भुक्तानी गरेनन्, शक्तिको बलमा आफैंले पैसा चलाए। 

थपलिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्धी हुन्। उनले त्यो बेलामा गाडी किन्न एलसी खोल्न केही ग्राहकसँग पैसासमेत लिएका थिए। लामो समयसम्म पनि गाडी नआएपछि ती ग्राहकले पैसा नै माया मारेका थिए।

लोकमानले छोरी अख्तियार परिसरबाटै अन्माएका थिए। 

बैंकले पनि गाडी भन्सारमा आएपछि आफ्नो नाममा गरेन। पछि बैंकले त्यो ऋणलाई खराब कर्जामा परिणत गर्‍यो। यो ऋणमा ग्रान्ड बैंक ब्यवस्थापनको पनि मिलेमतो रहेको थियो। त्यही बीचमा ग्रान्ड प्रभु बैंकमा गाभियो। लोकमान प्रमुख आयुक्त भएका बेला प्रभुले थपलियालाई छुन सक्ने अवस्था थिएन।

लोकमान बर्खास्त भएपछि बैंकले थपलियासँग धेरैपटक ऋण भुक्तानीका लगि कुराकानी गरेको थियो। उनले नयाँ नयाँ प्रपोजल ल्याएर ऋण तिर्ने आशा मात्र देखाउँथे। तर कहिले तिरेनन्। प्रभुसँग धितो पनि थिएन। 

प्रभु बैंकले पत्ता लगायो, रोहिणीको ऋण धितोसहित सिभिल बैंकमा पनि छ। सिभिलले समेत ऋण नतिरेको भन्दै २०७४ वैशाखमा ३५ दिने सूचना निकालेको थियो। पाँच करोडको ऋणको धितो ज्ञानेश्वरको दुई रोपनी जग्गा र त्यसमा बनेको घर थियो। प्रभुले सिभिलमा रहेको घरजग्गालाई धितो कायम गर्न लगायो। यसबाहेक वीरगञ्जका केही सम्पत्ति पनि धितोमा लिएको छ। थपलियाले दुईवटा कम्पनीका नाममा ऋण लिएका छन्। ऋण रकम करिब २२ करोड रुपैयाँ पुगेको छ। 

शक्तिबाटै आर्थिक समृद्धि
झापाका थपलिया पद्म स-मिल स्थापना गरेर काठको व्यापारमा थिए। उनले स-मिलको व्यापार हुँदै फर्निचर उद्योगमा हात हाले। पद्म श्री फर्निचर उद्योगमा हात हालेपछि राजदरबारसँग निकटता बढाउँदै गए। राजदरबारको निकटताकै कारण ‘रोयल ब्राण्ड’ राखेर फर्निचर बेच्न थाले। फर्निचर किन्ने उच्च घरानिया त्यही ज्ञानेश्वर नै पुग्थे।

त्यतिबेला थपलियाको बेग्लै शान थियो। दरबारसँग निकटताकै कारण थपलियाले अरु व्यापार समेत पाए। राजाको आर्शिवादबाट पाएको व्यापारले राम्रै आर्थिक लाभ लिन सफल भएका थिए। 

उनी त्यही बेलामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत बने। तर उनको आर्थिक समृद्धि धेरै समय टिकेन। उनका छोरा शुभाशीष थपलिया अध्ययन गर्न बेलायत पुगे। उनले त्यहाँ ‘रियल स्टेट’ मा लगानी गरे। उनले रियल स्टेटमा गरेको लगानी सफल भएन। रोहिणी निकट एक व्यवसायीका अनुसार, छोराले त्यहाँ राम्रै पैसा डुबाए, जसका कारण उनी संकटमा परेका हुन्।

संकटबाट पार पाउन सम्धीको फेरो
आर्थिक संकटमा जकडिएका थपलियाले लोकमानलाई सम्धी बनाएर उकास्ने प्रयास समेत गरे। कार्कीको शक्तिको रापका बेलामा उनले केही व्यापारलाई अघि बढाउने प्रयास समेत गरे। 

उनका छोरा टेलिकमको बिजनेसका लागि भन्दै नेपाल दूरसंचार प्राधिकरणसम्म दैनिक रूपमा धाउँथे। प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई भेट्न दैनिक गएपनि काम भने सफल हुन सकेन। पछि लोकमानकै सहयोगमा राष्ट्रपतिका लागि खरिद भएको हेलिकोप्टरको नेपालको एजेन्ट बने।

राष्ट्रपतिका लागि भनेर किनिएको इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर नेपाल प्रतिनिधि रोहिणी थपलिया बनेका थिए। 

ग्लोबल टेण्डरबिनै सरकारले मन्त्रिपरिषद्बाट कार्यविधि बनाएर स्थानीय एजेण्टमार्फत इटालीको उत्पादक कम्पनीसँग हेलिकप्टर खरिदको डिल गरेको थियो।