हिमालयन डिस्टिलरीको ८ दिनमा ६५ करोडको सेयर किनबेच, कसले बेचिरहेको छ सेयर?

बिजमाण्डू
२०७६ माघ ७ गते १६:१९ | Jan 21, 2020
हिमालयन डिस्टिलरीको ८ दिनमा ६५ करोडको सेयर किनबेच, कसले बेचिरहेको छ सेयर?


काठमाडौं। हिमालयन डिस्टिलरीको पछिल्लो ८ कारोबार दिनमा ६४ करोड ७० लाख ६० हजार ९१७ रूपैयाँको सेयर कारोबार भइसकेको छ। 

Tata
GBIME

स्रोतका अनुसार, कम्पनीका संस्थापक सेयरधनीहरुले अहिले धमाधम सेयर बिक्री गरेका हुन्। ८ कारोबार दिनमा २५ सय ५२ पटक सेयर किनबेच भएको छ। 

५ लाख ८ हजार ३३२ कित्ता सेयर किनबेच भएको हो। सबैभन्दा महँगो १३४० रूपैयाँसम्ममा किनबेच भएको छ। बीचमा घटेर १२ सय १३ रूपैयाँसम्म पनि किनबेच भएको छ। अहिले कम्पनीको सेयर मूल्य १२७४ रूपैयाँ कायम भएको छ।

कम्पनीले गत वर्षको नाफाबाट १०२.६३ प्रतिशत लाभांश दिएको छ। ५० प्रतिशत बोनस सेयर र बाँकी ५२.६३ प्रतशित नगद लाभांश दिएको हो। कम्पनीको सेयर पुँजी ३८ करोड ५६ लाख रूपैयाँ छ। यसबाहेक जगेडा कोषमा ७० करोड २५ लाख रूपैयाँ छ। कम्पनीले असोजमा ९ करोड ५५ लाख नाफा गरेको थियो। गत वर्षको नाफा साढे ५१ करोड रूपैयाँ थियो।

कम्पनीले निरन्तर सेयर बेच्न थालेपछि केही ठूला लगानीकर्ताले उठाउन सुरू गरेका छन्। पछिल्लो कारोबार प्रवृत्ति अनुसार शिवम् सिमेन्ट बेचेर हिमालयन डिस्टिलरी किन्नेहरू बढेका छन्। 

गोल्डेन ओकजस्ता सर्वाधिक बिक्री हुने मदिरा बिक्री गर्दै आएको कम्पनी निरन्तर नाफामा रहेको र सेयरधनीलाई दिने प्रतिफल पनि १०० प्रतिशतमाथि रहेकाले ठूला लगानीकर्ता यतातिर आकर्षित भएका हुन्। जनवरी १ तारिखदेखि कम्पनीको सेयर कारोबार १५ दिन भएको छ। यस बीचमा ७३ करोड ५० लाख रूपैयाँको सेयर किनबेच भएको छ।