अर्थतन्त्रमा देखिएको समस्या बारे सीएनआइले सचिवहरूसँग छलफल गर्‍यो, के भन्छन् सचिवहरू?

बिजमाण्डू
२०७६ पुष २८ गते १४:३५ | Jan 13, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नेपाल उद्योग परिसंघले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ। छलफलमा समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

परिसंघका अध्यक्ष सतीशकुमार मोरले निर्यात व्यापारमा देखिएको समस्या र आन्तरिक बजारको माग संकुचनले अर्थतन्त्रमा नकारात्मक असर परेको बताए। उनले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्नुपर्ने बताउँदै उद्योगहरुलाई थप लगानीका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए।

अध्यक्ष मोरले उद्योग विभागमा रहेको एकलविन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउनुपर्ने बताए। अध्यक्ष मोरले वातावरणीय मापदण्ड सम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजलाई मूल्य अभिवृद्धिका आधारमा विस्तार तथा विदेशमा लगानी गर्न दिने कानुनी व्यवस्था र सम्पत्ति अभिलेखिकरणको विषयलाई गम्भिरताका साथ लिन आग्रह गरे।

अर्थ सचिव राजन खनालले पुँजीगत खर्च बढाएर बजारमा माग सृजना गर्ने, कानुनको सुधार मार्फत लगानीको वातावरण बनाउने काम सरकारले गरिरहेको बताए। उनले आत्मनिर्भरतातर्फ उन्मुख उद्योगको संकट रोक्न स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए। राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले समग्र आर्थिक सुधारको प्याकेज र शासकीय सुधारको प्याकेज लागू गर्न सकिएमा अर्थतन्त्रको दिगो सुधार हुन सक्ने बताए।

सो अवसरमा वाणिज्य सचिव बैकुण्ठ अर्यालले भर्खरै भारततर्फ पाम आयलको निर्यातमा अवरोध देखिएपछि तत्कालै सरकारले अग्रसरता लिएको बताए। उनले निर्यातजन्य वस्तुको उत्पादन बढाउन निकासी गृह निर्माणलाई गति दिएको बताउँदै बल्क कार्गोका लागि विराटनगर र भैरहवा पनि खुला गरिएको जानकारी दिए।

परराष्ट्र सचिव शंकरदास वैरागीले निर्यात व्यापार र पर्यटन अभिवृद्धिका लागि कुटनीतिक निकायहरूलाई परिचालन गरिएको बताए। श्रम सचिव विनोद केसीले सामाजिक सुरक्षा कोषमा देखिएका समस्या समाधानका लागि प्रयास भइरहेको बताए। पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन वर्ष २०२० सफल बनाउन निजी क्षेत्रसँग थप सहकार्य गर्ने बताए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले वातावरणीय मापदण्डका नाममा निजी क्षेत्र मात्र नभएर सकारका विकास निर्माण पनि प्रभावित भएको बताउँदै नीतिगत सुधारका लागि मिलेर काम गर्नुपर्ने बताए। उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले एकलविन्दु सेवाको प्रभावकारिता बढाउने र वातावरणीय मापदण्डमा सुधारको तयारी अन्तिम चरणमा पुगेको बताए।

परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्र र सार्वजनिक क्षेत्रले मिलेर काम गर्ने समय आएको बताउँदै उद्योग क्षेत्रले अघि सारेका समस्या तत्काल सम्बोधन गर्नुपर्ने बताए। सो अवसरमा परिसंघका उपाध्यक्षहरु विष्णु अग्रवाल, सुलभ अग्रवाल, निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे र कृष्णप्रसाद अधिकारीले औद्योगिक वातावरण बनाउन तात्कालिक तथा दीर्घकालीन रणनीति बनाउनुपर्ने बताएका थिए।