
वीरगंज। बाराको सदरमुकाम कलैयामा सुविधायुक्त स्तरीय होटल सञ्चालनमा आएको छ । प्रदेश २ का सभामुख सरोज यादवले शुक्रबार बरेवा दरबार होटल एण्ड बेङ्केटको उद्घाटन गरे।
‘बाराको पर्यटन प्रवर्द्धनमा होटलले अहम भूमिका निर्वाह गर्नेछ,’ उनले उद्घाटनपछि भने, ‘यसले कलैयामा आउने आन्तरिक तथा भारतीय पर्यटकलाई पनि सेवा दिनेछ ।’ संचालक किरणविक्रम शाहले होटल स्थापनामा ११ करोड लगानी भएको बताए।
किरण ऐतिहासिक बरेवा दरबारमा राणाकालमा राज्य चलाएका रामराजा मोहन विक्रम शाहका नाति हुन्। सेनाको लेफ्टिनेन्ट कर्णेल पदबाट अवकाश पाउनेवित्तिकै उनले पुरानो धरोहरलाई नयाँ स्वरूपमा होटल बनाउन सुरु गरेका थिए। गढिमाई मेलाको समयमा होटल सञ्चालनमा ल्याउन सक्दा शुभ साइत भन्दै उनी खुसी छन् ।
होटलमा २४ वटा कोठा, स्वीमिङ्गपुल, रेष्टुरेन्ट,बार, पुल हाउस, ब्याङ्केट हल छ। कलैयामा स्वीमिङ पुल सहितको यो पहिलो होटल हो । होटल परिसरभित्र ३ सय ५० जना अटाउने ब्याङ्केट हल पनि छ। कोठा बुकिङको लागि ओयो सहकार्य गरेको उनले बताए । मसिर १५ देखि ६ वटा वैवाहिक कार्यक्रम बुकिङ भइसकेको उनले बताए।
निजगढ–काठमाडौं द्रूत मार्गको प्रस्थान बिन्दुबाट छोटो दूरीमा अवस्थित भएकाले यहाँ भारतीय र स्वदेशी पाहुनाको आगमन बाक्लिने छ । कलैयादेखि पूर्व पश्चिम राजमार्गसँग जोडिने गरी निर्माणाधीन द्रूत मार्गको प्रस्थान बिदु ‘पिलुवासम्मको दूरी १६ किलोमिटर छ । विस १९४० मा निर्मित बरेवा दरबारको दक्षिणी हिस्सालाई भत्काएर होटल बनाइएको छ भने उतरी साढे ६ कठ्ठाको दरबारलाई संरक्षण गरेर निजी आवासका रूपमा प्रयोग गरिएको छ।