वाणिज्य सचिव अर्यालद्वारा नेपाल तर्फको आइसिपीको अवलोकन, भने-‘सञ्चालनका लागि तयार छ’

बिजमाण्डू
२०७६ मंसिर १३ गते १६:१२ | Nov 29, 2019
वाणिज्य सचिव अर्यालद्वारा नेपाल तर्फको आइसिपीको अवलोकन, भने-‘सञ्चालनका लागि तयार छ’

Tata
GBIME
Nepal Life

विराटनगर। वाणिज्य सचिव वैकुण्ठ अर्यालले विराटनगरको बुधनगर भेडियारीमा भारतीय सहयोगमा निर्मित एकीकृत जाँचविन्दु (आइसिपी) सञ्चालनका लागि तयार रहेको जानकारी दिएका छन् ।

आइसिपीको अवलोकन र निरीक्षण गर्न शुक्रबार विराटनगर आइपुगेका सचिव अर्यालले आइसिपीको निर्माण पूरा भएकाले सञ्चालनका लागि तयार भएको जानकारी दिएका हुन् ।‘आवश्यक सरसफाइ गरेर आइसिपीलाई कुनै पनि बेला सञ्चालनमा ल्याउन सकिन्छ’, उनले बिजमाण्डूसँग भने, ‘त्यहाँ भन्सार कार्यालय, क्वारेन्टाइन र बैङ्क लगायतका कार्यालय सार्न बढीमा २ दिन समय लाग्ने मात्र हो। म पनि कस्तो तयारी रहेछ भनेर हेर्न आएको हुँ।’

उनले कुन मोडलमा आइसिपीको उद्घाटन गर्ने भनेर भारतीय पक्षसित सल्लाह गर्न बाँकी रहेको बताए । तर जतिसक्दो चाँडो उद्घाटन गरेर सञ्चालनमा ल्याउने उल्लेख गरे। गत हप्ता विराटनगरमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले आइसिपीको उद्घाटनमा नेपाल र भारतका प्रधानमन्त्रीलाई ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल तर्फको आइसिपी १ सय २९ बिघा क्षेत्रफलमा निर्माण गरिएको छ । भारतीय ठेकेदारद्वारा भारु १ सय करोडको लगानीमा कुल २ वर्ष ६ महिनाको समयमा यसको निर्माण गरिएको हो । भारततर्फको आइसिपी तीन वर्ष अगाडि नै सञ्चालनमा आइसकेको छ । नेपालमा जमिनको मुआब्जा विवादमा समय धेरै लागेकाले जमिन बेलामा हस्तान्तरण हुन नसकेर आइसिपीको निर्माण लम्बिएको हो।

आइसिपीभित्र मुख्य भवन, डिस्पेन्सरी, इलेक्ट्रिकल सब स्टेसन, कस्टम्स बिल्डिङ, सशस्त्र प्रहरीको सुरक्षा ब्यारेक, मालवाहक सवारीका चालक र सहचालकका लागि डोरमेटरी र क्वारेन्टाइनका छुट्टाछुट्टै ८ वटा भवन छन्। यसबाहेक ४ वटा वाच टावर, २ वटा वेयर हाउस, २ वटा इम्पोर्ट एक्स्पोर्ट प्रोसेसिङ सेड र ८० टन क्षमताका २ वटा धर्मकाँटा छन्।

आइसिपीको क्षेत्रभित्र कालोपत्रे सडकमात्र ९ किलोमिटर बनाइएको छ । आइसिपी र धरान–विराटनगर सडक जोड्न साढे ४ किलोमिटरको छुट्टै सडक (लिङ्क रोड) पनि भारतीय सहयोगमा निर्माण गरिएको छ । नेपाल सरकारले यसका लागि ४० बिघा जमिन अधिग्रहण गरेको थियो।